मंगलबार , बैसाख २९, २०८३

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरू पहिलोपटक सामूहिक रूपमा भेटघाट तथा अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन्। मंगलबार ग्वार्कोस्थित एक होटलमा आयोजित कार्यक्रममा धेरै सांसदहरू पहिलोपटक प्रत्यक्ष रूपमा एकअर्कासँग चिनापर्ची गरेका हुन्।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत मात्र एकअर्कालाई चिनेका सांसदहरूले कार्यक्रममा प्रत्यक्ष भेटघाट गर्दै अनुभव आदान–प्रदान गरेका थिए। रास्वपाले आफ्ना सांसदलाई संसदीय अभ्यास, आचरण र भूमिकाबारे जानकारी दिन अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।

हालै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जित्दै १८२ सिटसहित ठूलो दल बनेको रास्वपाले सांसदहरूलाई संसद् प्रवेशअघि आवश्यक तयारी गराउन यस्तो कार्यक्रम गरेको जनाएको छ।

मोरङ–६ बाट निर्वाचित सांसद रुबिना आचार्यले अभिमुखीकरणले एकअर्कालाई चिन्ने र बुझ्ने अवसर दिएको बताइन्। उनले भनिन्, “हामीले एकअर्कालाई सामाजिक सञ्जाल र समाचारबाट मात्रै देखेका थियौं, प्रत्यक्ष चिन्ने अवसर थिएन। यहाँ सबैको संघर्षको कथा सुन्न पाइयो र चिनजान गर्ने मौका मिल्यो।”

त्यस्तै, सर्लाही–१ बाट निर्वाचित सांसद नितिमा कार्कीका अनुसार अभिमुखीकरणले सांसदको भूमिका, बोल्ने तरिका र जिम्मेवारीबारे स्पष्टता दिएको छ। धादिङ–१ बाट निर्वाचित आसिका तामाङले पनि संसद्मा कसरी प्रभावकारी रूपमा आवाज उठाउने भन्नेबारे सिक्न पाएको बताइन्।

नवनिर्वाचित सांसदहरूले सुशासन र भ्रष्टाचार अन्त्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गोरखा–१ का सांसद सुधन गुरुङले आफूहरूलाई अनुभव कम भएको भनिए पनि प्रणाली परिवर्तन गर्ने दृढता रहेको बताए।

कञ्चनपुर–३ का सांसद ज्ञानेन्द्रसिंह महताले मतदाताको आशा र विश्वासलाई आत्मसात् गर्दै जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए। उनले संसद्मा प्रवेशअघि आचरण र प्रस्तुतिको पाठ सिक्न अभिमुखीकरण उपयोगी भएको बताए।

कार्यक्रममा पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सांसदहरूलाई पदको गरिमा कायम राख्दै थप मेहनत गर्न निर्देशन दिएका छन्। उनले संविधान, कानुन र पार्टीको घोषणापत्र अध्ययन गर्न आग्रह गर्दै व्यक्तिगत समस्या होइन, प्रणाली सुधारमा केन्द्रित हुनुपर्ने बताएका छन्।

त्यसैगरी, उपसभापति डोलप्रसाद अर्यालले जनताको अपेक्षा पूरा गर्नेगरी काम गर्न सांसदहरूलाई निर्देशन दिएका छन्। उनले सुशासन स्थापना, भ्रष्टाचार अन्त्य र देश बाहिर रहेका नेपालीलाई स्वदेश फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रमको उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह भने स्वास्थ्यका कारण अनुपस्थित रहे। अभिमुखीकरण कार्यक्रम बुधबारसम्म सञ्चालन हुने जनाइएको छ।

कार्यक्रममा विज्ञहरूले संसदीय प्रक्रिया, विधायन, नीति निर्माण, बजेट प्रणाली तथा जनतासँग प्रभावकारी सम्बन्ध कायम गर्ने विषयमा प्रशिक्षण दिनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP