मधेस प्रदेश सभाको सभामुख चयनका लागि आज मतदान हुँदैछ।
आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख चयनका लागि मतदान हुने प्रदेश सभा सचिवालयले जनाएको छ।
सभामुखका लागि सत्तारुढ सात दलीय गठबन्धनको तर्फबाट जसपा नेपालका सांसद रामअशिष यादव र एमालेका सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दिएका छन्।
मधेस प्रदेश सभामा गठबन्धन गरेर सात दलले सरकार गठन गरेकाले सभामुख पनि सात दलीय गठबन्धनबाटै निर्वाचित हुने निश्चित प्रायः छ।
जसपाका प्रमुख सचेतकसमेत रहेका यादवले शनिबार उम्मेदवारी दर्ता गर्दा कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा (माओवादी केन्द्र) का फकिरा महतो समर्थक बसेका छन्।
एमालेका त्रिलोकी प्रसादको प्रस्तावकमा एमालेकै सांसद शारदादेवी थापा र अर्का एमाले सांसद जयचन्द्रप्रसाद पटेल समर्थक बसेका छन्।
मधेस प्रदेश सभाको सबैभन्दा ठूलो दल एमाले हो। तर, ठूलो दलको हैसियतमा एमाले नेता सरोज यादव अस्वाभाविक रुपमा मधेसको मुख्यमन्त्री नियुक्त भएपछि यहाँ एमाले अहिले सबै दलबाट एक्लिएको अवस्था छ।
एमाले नेता यादव नेतृत्वको सरकारलाई ढालेर सात दलले कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठन गरेका छन्। यादवले यही पुस ४ गते मात्रै प्रदेश सभाबाट विश्वासको मत लिएका छन्।
एमालेले पनि विश्वासको मत दिँदा यादवले तीन दिनअघि मात्रै ९२ सांसदको समर्थन हासिल गरेका थिए।
एमालेलेसमेत मुख्यमन्त्रीलाई विश्वसको मत दिनुलाई अन्य दलले भने सभामुखको निर्वाचनको लागि एमालेले गरेको चलाखीको रुपमा अथ्र्याएका छन्।
१०७ सदस्य मधेश प्रदेशसभामा सभामुख निर्वाचित हुनको लागि ५४ मत आवश्यक पर्छ। प्रदेश सभामा हाल नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ सांसद छन्। यस्तै राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको एक–एक सिट रहेको छ।
तर, राप्रपा र संघीय समाजवादी कुन पक्षमा मतदान गर्छन् यकिन नभएको माओवादी केन्द्रका सांसद युवराज भट्टराई समिरले बताए। ‘यदि ती दुई सांसदले पनि एमालेकै पक्षमा मतदान गरेछन् भने पनि एमाले उम्मेदवारले पाउने मत भनेको २५/२६ मात्रै हो,’ उनले भने, ‘हाम्रो गठबन्धनका उम्मेदवारले कम्तीमा ७४ मत पाउने निश्चित जस्तै छ।’
गएको कात्तिक २४ गते ठूलो दलको हैसियतमा रातारात मधेसको मुख्यमन्त्री नियुक्त भएका एमालेका सरोज यादवको पद २४ दिनमै गएपछि एमाले मधेसमा प्रतिपक्ष कित्तामा पुगेको छ। यो प्रकरणमा एमालेले मधेसमा मुख्यमन्त्रीसँगै प्रदेश प्रमुख र सभामुख पनि गुमाएको छ। मधेसमा सबै दलले एमालेको साथ छाडेका छन्।
मुख्यमन्त्री यादवसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र सभामुख रामचन्द्र मण्डल पनि यो प्रकरणमा पदमुक्त भएका छन्।
यादवको विवादास्पद नियुक्तिपछि प्रदेश प्रमुख सुवेदीलाई सरकारले कात्तिक २४ गते नै पदमुक्त गरेर मधेसमा सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुख बनाएको छ।
यो प्रकरणमा एमालेलाई सहज हुनेगरि प्रदेश सभा बैठक सञ्चालनको आरोप लागेका सभामुख रामचन्द्र मण्डल पनि मंसिर ३ गते विपक्षी दलको महाअभियोगबाट पदमुक्त भइसकेका थिए।
सभामुख मण्डल पदमुक्त भएपछि अहिले मधेसमा उपसभामुख बबिता राउत इशर सभा सञ्चालन गर्दै आएकी छन्।








