मंगलबार , अषोज २७, २०८३

सिड्नी । शब्दमाला नेपाली भाषा विद्यालयको १६औँ वार्षिक साधारण सभा २०२५ डिसेम्बर ६ मा ग्रानभिलस्थित रातो घरमा सम्पन्न भएको छ। सभा सम्पन्नसँगै विद्यालयका लागि आगामी २०२६–२०२७ कार्यकालका लागि दीपक लामिछानेको अध्यक्षतामा नयाँ समिति पनि चयन गरिएको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा विजय राज रेग्मी, सचिवमा रामजी कोइराला, कोषाध्यक्षमा टीका रेग्मी, जनसम्पर्क अधिकृतमा दिपेन्द्र बानिया, शैक्षिक संयोजकमा अन्नु मिश्र घिमिरे र शैक्षिक सह–संयोजकमा सुष्मिता दाहाललाई चयन गर्यो। त्यसैगरी शाखा संयोजक/संयोजिकाहरूमा क्याम्प्सीबाट ईश्वर गौतम र सुदिप गौतम, ग्रानभिलबाट निशा पन्थ र प्रकाश सेढाईं, म्याक्वेरी फिल्डबाट डा. अर्जिना श्रेष्ठ र दुर्गा पाण्डे, द पोन्ड्सबाट हरि पौडेल र नवीन घले, वाइटाराबाट पदम राना मगर, न्युकासलबाट राजेश खड्का र चक्र घिमिरे तथा पेनरिथबाट सुरज श्रेष्ठ चयन भएका छन्।

विद्यालयको साधारण सभामा शिक्षक–शिक्षिका, अभिभावक, स्वयंसेवक, सल्लाहकार तथा विभिन्न शाखाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। अध्यक्ष विष्णु घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष विजय राज रेग्मीले गरे भने कार्यक्रमको सञ्चालन सचिव दीपक लामिछानेले गरे। प्रमुख अतिथिका रूपमा न्यू साउथ वेल्स फेडेरेसन अफ कम्युनिटी ल्याङ्ग्वेज स्कुल्सकी कार्यकारी सदस्य तथा विद्यालयकी संस्थापक सदस्य बिन्ध्या सुब्बा सहभागी थिइन्। साथै पूर्व अध्यक्ष तथा सल्लाहकार विक्रम शर्मा खरेल, अर्चना घले गुरुङ, पूर्व सचिव मुकेश बुढाथोकी, पूर्व अध्यक्ष समिन्द्र श्रेष्ठ तथा संविधान संशोधन समितिका संयोजक डा. नन्द राम आर्याल विशेष अतिथिको रूपमा उपस्थित थिए।

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विष्णु घिमिरेले विद्यालयले पछिल्ला दुई वर्षमा हासिल गरेको प्रगतिबारे जानकारी दिए। उनका अनुसार विद्यालयले दोस्रो पुस्ताका बालबालिकालाई मातृभाषासँग जोडिराख्ने लक्ष्यअनुसार प्रभावकारी काम गरिरहेको छ। उनले आठ स्थानमा कक्षा सञ्चालन र ४३० भन्दा बढी विद्यार्थीको सहभागिता विद्यालयको उपलब्धिका रूपमा औँल्याए। आर्थिक व्यवस्थापन पारदर्शी र सन्तुलित रहेको उनले बताए।

सचिव दीपक लामिछानेले सचिवीय प्रतिवेदन प्रस्तुत गर्दै पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरे। जनसम्पर्क प्रतिवेदन बिजेन्द्र थपलियाले तथा शैक्षिक प्रतिवेदन शैक्षिक सह–संयोजिका अन्नु मिश्र घिमिरेले प्रस्तुत गरे। उनले विद्यालयमा ६० मध्ये ३० जना तालिमप्राप्त शिक्षक–शिक्षिकाले अध्यापन गराइरहेको जानकारी गराइन्। क्याम्प्सी, ग्रानभिल, म्याक्वेरी फिल्ड, द पोन्ड्स, वाइटारा, न्युकासल र पेनरिथ शाखाका संयोजक–संयोजिकाले शाखागत प्रतिवेदनहरू पनि प्रस्तुत गरे। निर्वाचन प्रक्रिया पूर्व अध्यक्ष विक्रम शर्मा खरेल, अर्चना घले गुरुङ र बिन्ध्या सुब्बाको संयोजनमा सम्पन्न भयो।

उक्त सभामा विभिन्न शाखाका संयोजक–संयोजिकाहरूले आफ्ना शाखाको वार्षिक प्रतिवेदन प्रस्तुत गरे। क्याम्प्सीबाट ईश्वर गौतम, ग्रानभिलबाट मल्लिका शर्मा, म्याक्वेरी फिल्डबाट डा. अर्जिना श्रेष्ठ, द पोन्ड्सबाट हरि पौडेल, वाइटाराबाट रामजी कोइराला, न्युकासलबाट चक्र घिमिरे तथा पेनरिथबाट दिपेन्द्र बानिया सहभागी थिए ।

कार्यक्रमको अन्त्यमा विद्यालयका लागि निरन्तर योगदान पुर्‍याउने स्वयंसेवक तथा सांस्कृतिक प्रशिक्षक–प्रशिक्षिकालाई प्रशंसा–पत्र प्रदान गरियो। साथै विद्यार्थी आकृति घिमिरे, श्रेया पोखरेल, अलिसा के.सी. र रियाना पौडेलले आकर्षक सांस्कृतिक प्रस्तुति दिए। नेपाली भाषा, कला र सांस्कृतिक पहिचान संरक्षणका लागि कार्यरत शब्दमाला नेपाली भाषा विद्यालय आज समुदायमै महत्त्वपूर्ण संस्थाका रूपमा स्थापित हुँदै गएको अध्यक्ष घिमिरेले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरे।
गोरखा नेपाली समुदाय (GNC) तथा गुठी अष्ट्रेलियाको पहलमा सन २०१० मा स्थापना भएको विद्यालयले हाल न्यू साउथ वेल्सका आठ स्थानबाट ४३० भन्दा बढी विद्यार्थीलाई नेपाली भाषा, कला र संस्कृति शिक्षण–अध्ययन गराइरहेको छ।

समाचार स्रोत:कृष्ण तिवारी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP