मंगलबार , बैसाख २९, २०८३

पछिल्ला तीन खेलमा जित निकाल्दै लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को ‘प्लेअफ’मा पुग्न सफल भएको छ। शुक्रबार भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी चौथो स्थानमा रहँदै ‘प्लेअफ’मा पुगेको हो।

लुम्बिनीले ‘प्लेअफ’मा स्थान बनाएसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर एक खेल अगावै ‘प्लेअफ’ दौडबाट बाहिरिएका छन्। अब हुने लिग चरणका बाँकी खेलले पहिलो ‘क्वालिफायर’ र ‘एलिमिनेटर’ खेल्ने टोलीको टुङ्गो लाग्नेछ।

अघिल्लो सिजनमा अंक तालिकाको पुछारमा रहँदै एनपीएल यात्रा सकाएको लुम्बिनीले यो सिजन लिग चरणको आफ्नो अन्तिम खेलमा आएर ‘प्लेअफ’मा स्थान पक्का गरेको हो। सुरुवाती चारमध्ये तीन खेलमा हार भोगेपछि लुम्बिनीले एनपीएलमा उत्कृष्ट पूनरागमन गर्दै पछिल्ला तीन खेलमा आफु अनुकुल नतिजा निकालेको हो।

शुक्रबार जनकपुरलाई हराएपछि लुम्बिनीका कप्तान रोहित पौडेलले आफ्नो टोली प्लेअफमा पुग्नेमा विश्वास रहेको सुनाए। रोहितले भने, ‘यो हाम्रो लागि इमोसनल मोमेन्ट थियो, यो पटक प्रमाणित गर्नुपर्ने थियो, यो पटक प्रतियोगितामा अप एन्ड डाउन थियो। यो मोमेन्टनलाई नै लिएर अघि जानेछौँ।’

अबको खेलमा प्रेसर हुने भएकाले आफुहरू सम्हालिएर खेल्ने उनले बताए। अघिल्लो सिजनमा खराब नजिता ल्याएको लुम्बिनीले दोस्रो संस्करणमा ति गल्तीलाई सुधार गर्दै नतिजामुखी प्रदर्शनमा जोड दिएको थियो। यद्यपी सुखद सुरुवात गरेको लुम्बिनीले बीचमा लय गुमाए पनि फेरि आफुलाई सम्हाल्दै उत्कृष्ट पुनरागमन गर्न सफल भएको छ।

ब्याटिङमा सोचे जस्तो गर्न नसकेको र बलिङ तथा फिल्डिङमा राम्रो गरिरहेकाले अब प्लेअफका खेलमा ब्याटिङ राम्रो गर्नेमा कप्तान रोहित विश्वस्त छन्। कप्तान रोहितसँगै शेर मल्ल लगायतका खेलाडीले एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका छन्।

लिग चरणको पहिलो खेलमा चितवनलाई ६ विकेटले पराजित गर्दै सिजनको सुखद सुरुवात गरेको लुम्बिनीले त्यसपछिका तीन खेलमा लागातार हार व्यहोरेपछि प्लेअफ सम्भावना कठिन बनेको थियो। तर पछिल्ला तीन खेलमा जित निकाल्दै लुम्बिनीले प्लेअफमा स्थान बनाएको हो।

लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग नौ विकेटले र तेस्रो खेलमा काठमाडौँ गोर्खाजसँग २२ रनले पराजित भएको थियो। चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग सात विकेटले पराजित भएपछि पाचौँ खेलमा पोखरालाई तीन विकेटले हराएको थियो।

छैटौँ खेलमा विराटनगर किंग्सलाई पाँच विकेटले हराउँदै प्लेअफ दौड बलियो बनाएको थियो। शुक्रबार अन्तिम खेलमा जनकपुरलाई हराउँदै लुम्बिनी पहिलो पटक प्लेअफमा पुग्न सफल भएको हो।

राष्ट्रिय टोलीका कप्तान रोहितको नेतृत्वमा रहेको लुम्बिनीमा विदेशी र घरेलु खेलाडीले सन्तुलित प्रदर्शन गर्दै आइरहेका छन्। टोलीलाई आवश्यक परेको समयमा रोहितले पनि कप्तानी भूमिका निर्वाह गर्दै आएका छन्।

लुम्बिनी टिनु योहनानको मुख्य प्रशिक्षणमा रहेको छ। लुम्बिनीले टोली बलियो बनाउन शक्ती गौचनलाई प्रशिक्षकमा समेटेको छ। यस्तै अस्ट्रेलियाबाट सुवास खकुरेल टोलीमा जोडिएका छन्।

लुम्बिनीले अब अंक तालिकाको तेस्रो स्थानमा रहने टोलीसँग ‘एलिमिनेटर’ खेल्नेछ। एलिमिनेटर खेल जितेमा लुम्बिनीले दोस्रो क्वालिफायर खेल्नेछ।

सुदूरपश्चिमबाहेक तीन नयाँ टोली ‘प्लेअफ’मा

साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले शीर्ष चारमा स्थान बनाएसँगै प्लेअफ समीकरण पूरा भएको छ।

शुक्रबार भएको खेलमा जनकपुरलाई चार विकेटले पराजित गर्दै पहिलो पटक प्लेअफमा स्थान बनाएको हो। लुम्बिनीले प्लेअफमा स्थान बनाएपछि चितवन राइनोज, पोखरा एभेन्जर्स र जनकपुर बाहिरिएका हुन्।

एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सबाहेक अन्य तीन टोलीले पहिलो पटक प्लेअफमा स्थान बनाएका छन्। सुदूरपश्चिम लिग चरणका ६ खेल सकिँदा अपराजित रहने एक्लो टोली समेत हो।

एनपीएलको दोस्रो सिजनको प्लेअफ समीकरण पूरा हुँदा प्लेअफ नपुग्ने एक्लो टोली पोखरा एभेन्जर्स मात्र हो। दोस्रो सिजनमा काठमाडौँ गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले पहिलो पटक प्लेअफमा स्थान बनाएका छन्।

अघिल्लो सिजन प्लेअफ खेल्ने टोलीबाट बाहिरिने कर्णाली याक्स पहिलो टोली बनेको छ।

प्लेअफमा पुग्ने चार टोलीमध्ये दुई टोलीले सात खेल खेलिसकेका छन्। दुई टोलीले ६ खेल खेलेका छन्। काठमाडौँ र लुम्बिनीले लिग चरणका सबै खेल खेलिसकेका छन्। सुदूरपश्चिम र विराटनगरले समान ६ खेल खेलेका छन्।

शनिबार हुने खेलमा विराटनगर र सुदूरपश्चिम भिड्दै छन्। यो खेलको नतिजाले पहिलो क्वालिफायर खेल्ने टोलीको टुङ्गो लाग्नेछ। त्यसपछि बाँकी रहने लिग चरणका दुई खेलमा प्रतिष्ठाका लागि खेलिनेछ।

सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडर तालिकाको शीर्ष स्थानमा छ। सातमध्ये पाँच खेलमा जित र दुई खेलमा हार भोगेको काठमाडौँ १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

त्यस्तै, ६ मध्ये चार खेलमा जित र दुई खेलमा हार भोगेको विराटनगर आठ अंकसहित तेस्रो र चार खेलमा जित र तीन खेलमा हार भोग्दै आठ अंकसहित लुम्बिनी चौथो स्थानमा रहेको छ। पोखरा, चितवन, कर्णाली र जनकपुरले समान ६ खेल खेलेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP