मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानमाथि घात हुने को कि भन्ने खतरा बाँकी नै रहेको बताएका छन् । (बुधबार) पार्टीनिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को ७औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानमाथिको खतरा नटरेको र अस्थिरता, अराजकता, बेथिति, भ्रष्टाचार संस्थागत भइरहेको बताएका हुन् । ‘अहिले हामीकहाँ समस्या छ । संविधानमाथि पनि घात हुने हो कि भन्ने खतरा टरेको छैन । अस्थिरता, अराजकता, बेथिति, भ्रष्टाचार संस्थागत भएकै छ,’– उनले भने ।

साथै, मन्त्री हुनका लागि सांसद हुनुपर्ने व्यवस्थाबाट भ्रष्टाचार जन्मिएको उनले बताए । आफूहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र विज्ञहरुबाट मन्त्री चुन्ने व्यवस्था हुनुपर्ने कुरा संविधानसभामै उठाएको उनले बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भयो भनेमात्रै देशमा स्थिरता हुने उनले बताए । ‘यो देशमा जबसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुँदैन, सम्पूर्ण जनताले चुनेको र त्यो कार्यकारी प्रमुखले विभिन्न विषयमा विज्ञहरु, विद्वानहरुलाई मन्त्री बनाउने, सांसद हुन नपर्ने । मन्त्री हुन सांसद हुनुपर्ने भएपछि भ्रष्टाचार त्यहीँबाट जन्मिएको छ । त्यसकारण एक पटक प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भइसकेपछि राष्ट्रपतिले आफ्नो कार्यकाल सफल पार्न र जनतासँग गरेको प्रतिवद्धता पूरा गर्न सबैभन्दा योग्य व्यक्ति कसलाई ठान्छ, त्यसलाई मन्त्री बनाउन पाउनुपर्छ,’– उनले भने ।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको निम्ति अपिल गर्नुपर्ने र आन्दोलित हुनुपर्ने आवश्यकता रहेको बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा नगएसम्म देशमा स्थिरता नहुने र भ्रष्टाचारको अन्त्य पनि नहुने उनको भनाइ छ । साथै, अहिलेको निर्वाचन प्रणालीले पनि उत्पीडित वर्ग, समुदायलाई न्याय दिन नसकेको उनको भनाइ छ । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भनेमात्रै जनताको पक्षमा काम गर्ने वातावरण बन्ने बताए । ‘हामीले जो निर्वाचन प्रणाली अपनाएका छौं, त्यो निर्वाचन प्रणालीले पनि सबै उत्पीडित वर्ग, समुदायलाई न्याय दिन सक्दैन । धनीहरुले मात्रै लड्न सक्ने चुनाव प्रणाली हो त्यो । गरिबहरु, श्रमिकहरु या किसानहरुले लड्न सक्ने चुनावी प्रणाली नै होइन त्यो । त्यसकारण पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भनेमात्रै सम्पूर्ण जनताले निर्वाचनमा सहभागी हुने, निर्वाचन जित्ने र त्यसबाट जनताको पक्षमा काम गर्ने वातावरण बन्न सक्छ भनेर हामीले त्यो पनि त्यतिबेला नै भनेका थियौं,’– उनले भने ।

अध्यक्ष प्रचण्डले सामन्तवाद राजनीतिक रुपले परास्त भए पनि दलाल पुँजीवाद र नोकरशाही पुँजीवाद परास्त हुन नसकेको बताए । अहिले राज्य दल र दलको विचारले भन्दा पनि पुँजीपतिहरुको पैसाको बलले चलिरहेको प्रचण्डको भनाइ छ । ‘अहिले राज्य कसको हातमा छ भन्दा, यसो हेर्दा त पार्टीका नेताहरु, पार्टीहरुले राज्य चलाएका छन् भनेको जस्तो देखिन्छ । रूप हेर्दा कहिले माओवादी र कांग्रेस, कहिले माओवादी र एमाले, कहिले कांग्रेस र एमाले भनेको जस्तो देखिन्छ । तर, यथार्थमा राज्य पार्टी र पार्टीको विचारले भन्दा दलाल पुँजीपतिहरुको पैसाको बलले, विचौलियाहरुले करोडौं र अर्बौं खर्च गरेर पार्टीका नेता र कार्यकर्ता खरिद गरेर चलाएको व्यवस्था हो यो,’– उनले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार दलाल र विचौलियाहरुको इच्छाअनुसार बनेको दाबी गरे । वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराजकताको विरुद्धमा केही पनि गर्न नसक्ने प्रचण्डको जिकिर छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले जनजातिहरुलाई छानीछानी कारबाही गरेको उनले बताए । कुलमान घिसिङ, पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई जनजाति भएकै कारण राम्रो काम गर्दागर्दै पनि सरकारले हटाएको र अहिले उपसभामुख इन्दिरा राना हटाउन लागिपरेको बताए ।

‘राम्रो गर्न खोज्यो कुलमान हटाउ, राम्रो गर्न खोज्यो कान्छाराम हटाउ, अलि राम्रो गर्न खोज्यो इन्दिरा राना हटाउ । छानीछानी जनजाति हटाउ । छानीछानी राम्रो काम गर्ने मान्छे हटाउ । अनि आफूलाई फाइदा हुनेगरी दलाल र विचौलियाले भनेकोजस्तो मान्छे भर्ती गर । यही त अहिले भइराखेको छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP