मंगलबार , असार १६, २०८३

अष्ट्रेलियाको नेपाली समुदायमा पछिल्ला दिनमा विविध किसिमका गैरकानुनी गतिविधि र घरेलु हिंसाका घटनाहरू बढेकोमा सिड्नीमा आयोजित एक विशेष कार्यक्रममा सरोकारवाला निकायहरूले गम्भीर चासो व्यक्त गरेका छन् । कार्यक्रममा सहभागीहरूबीच यस्ता घटनाहरू न्यूनीकरण गर्न सम्पूर्ण समुदाय तथा सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिइएको छ ।IMG_9394-1748552040.jpeg

न्यु साउथ वेल्सस्थित नेपाली वाणिज्य दूतावासको आयोजना तथा अष्ट्रेलियन नेप्लिज जर्नलिस्ट एशोसिएसन (एन्जा) को सहकार्यमा सम्पन्न कार्यक्रम ‘Safe Steps’ मा न्यु साउथ वेल्स पुलिस फोर्सका डिटेक्टिभ सर्जन्ट सुदीप स्वारले अष्ट्रेलियामा हुने विभिन्न आपराधिक क्रियाकलापमा नेपाली मूलका व्यक्तिहरूको संलग्नता सम्बन्धी तथ्यहरू प्रस्तुत गरे । । उनका अनुसार न्यु साउथ वेल्स राज्यमा मात्र प्रत्येक महिना १० देखि १५ जना नेपाली मूलका व्यक्ति गम्भीर आपराधिक अभियोगमा जेल चलान हुने गरेको देखिएको छ । ती अपराधमा बलात्कार, यौनजन्य हिंसा, घरेलु हिंसा र लागुऔषध दुर्व्यसनजस्ता गम्भीर विषयहरू समावेश छन् ।

कार्यक्रममा स्वारले यस्ता घटनाहरू समयमै नियन्त्रण गर्न नसके भविष्यमा समुदायले गम्भीर असर व्यहोर्नुपर्ने हुन सक्ने भन्दै सतर्कता अपनाउन सबैको ध्यानाकर्षण गराएका छन् । उनले कुनै पनि गैरकानुनी गतिविधि देखिए वा थाहा भएमा तुरुन्त स्थानीय प्रहरीलाई जानकारी दिनसमेत आग्रह गरे ।

वाणिज्यदूत सञ्जीव शर्माले समुदायभित्र आपराधिक गतिविधिमा नेपालीको संलग्नता बढ्दै जाँदा नेपाली समुदायकै छविमा प्रश्न उठ्न सक्ने भन्दै चिन्ता व्यक्त गरे । समाजलाई अझ बलियो र समुन्नत बनाउन सबै नेपालीहरू एकजुट हुन आवश्यक रहेकोमा जोड दिदैं शर्माले यस्तो कार्यक्रममार्फत समुदायमा चेतना फैलाउने प्रयास गरिएको बताए ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले जन चेतनामुलक कार्यक्रम आयोजना गरेकोमा आयोजक वाणिज्यदूतको कार्यालय र एन्जाप्रति धन्यवाद ज्ञापन गर्दै आफू र आफ्नो संस्थाले यस्ता सचेतनामूलक कार्यक्रममा सधैं साथ दिने प्रतिबद्धता जनाए । पोखरेलले स्वयंसेवकका रूपमा काम गर्ने क्रममा विभिन्न समस्याहरू सामना गर्नुपरेको उल्लेख गर्दै उहाँले सधैं अग्रपंक्तिमा रहेर नेपाली समुदायको सेवामा लागि पर्ने बताए ।

एन्जाका अध्यक्ष कृष्ण तिवारीले नेपाली समुदायमा आपराधिक गतिविधिहरू न्यूनीकरण गर्न यस्ता कार्यक्रम आवश्यक भएको धारणा राखे । एन्जाका संस्थापक/पत्रकार हेमन्त काफ्लेले अष्ट्रेलियामा रहेका नेपालीहरूलाई पर्न सक्ने कानुनी समस्या, घरेलु हिंसा, लागुऔषध सम्बन्धी चुनौती, इभेन्टसका नाममा हुने गरेको भनिएको मानव तस्करी, हुण्डी लगायतबारे धारणा राखेका थिए ।

कार्यक्रमका सहभागीहरूले घरेलु हिंसा र लागुऔषध दुर्व्यसन सम्बन्धी अष्ट्रेलियाली कानुन तथा नेपालीहरूले जान्नैपर्ने विविध विषयमा प्रश्न राखेका थिए भने प्रहरी अधिकारी स्वार ले यसबारेमा जवाफ दिएका थिए ।

कार्यक्रममा एन्जा का सल्लाहकार डा. राजु मानन्धर, नवाजका अध्यक्ष चिरन तिवारी, कर्णाली समाज अष्ट्रेलियाका अध्यक्ष सुमन कार्की, पत्रकारहरू प्रकाश हुमागाईं र केदार रायमाझी लगायत करिब तीन दर्जन पेशाकर्मी, व्यवसायी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयोजन तथा सहजिकरण एन्जाका महासचिव तथा वाणिज्यदूतावासका सूचना अधिकारी गणेश भट्टले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP