मंगलबार , बैसाख २९, २०८३

बैशाख ११ गते शनिबार बिहान ११ बजेर ११ मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसको दिन पारेर नयाँ धरहरा उद्घाटन गर्दैछन् । प्रधानमन्त्रीले हतार–हतार उद्घाटन गरे पनि सर्वसाधारणले भने अझै केही समय धरहरामा चढ्न पाउने छैनन् ।

धरहरा त ठडिएको छ, तर यसको स्वामित्व कसले लिने र धरहरामा चढ्नेहरूका लागि कसले टिकट काट्ने भन्ने अझै टुंगो लागिसकेको छैन । साथै, धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु पनि अझै सकिएको छैन । निर्माणले पूर्णता पाउन बाँकी रहेता पनि २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले ढालेको धरहराकै छेउमा अर्को नयाँ धरहरा ठडिइसकेको छ । भूकम्पले जुन संरचना भत्काएको थियो, त्यसको निर्माण सकिन लागेकाले प्रधानमन्त्रीले उद्घाटन गर्न लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए ।

प्राधिकरणका तर्फबाट शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सचिव गेलालले धरहराको फेदमा अझैसम्म थुप्रै संरचना निर्माणका क्रममा रहेको र क्रमशः तिनीहरुको निर्माण हुँदै जाने बताए ।

प्राधिकरणले बनाइरहेको धरहरा क्षेत्रमा भूमिगत पार्किङ, बगैंचा, संग्रहालय लगायतका अन्य संरचनाको निर्माण भइरहेको छ । भीमसेन थापाका पालामा बनेको धरहराकै स्वरुपमा आधुनिक निर्माण सामग्री र प्रविधि प्रयोग गरेर बनाइएको नयाँ धरहरा चढ्नका लागि तयार भएको छ ।

उद्घाटन मात्रै, चढ्न नपाइने, टिकटको कुरा पछिमात्रै

प्रधानमन्त्री ओलीले २०७५ साल पुसमा धरहरा निर्माणको शिलान्यास गरेका थिए । बैशाख १२ गते ६ वर्षअघि गएको भूकम्पको स्मृति दिवसको पूर्वसन्ध्यामा निर्माण नसक्दै हतार–हतार धरहरा उद्घाटन गरिए पनि सर्वसाधारणका लागि भने खुला नहुने भएको छ ।

शनिवार बिहान प्रधानमन्त्रीले उद्घाटन मात्रै गर्ने र सर्वसाधारणका लागि निर्माण सकिएपछि मात्रै चढ्न दिइने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले रातोपाटीलाई जानकारी दिए ।

घिमिरेले भने, ‘भोलि उद्घाटन मात्रै गरिने हो, सर्वसाधारणका लागि खुला हुँदैन । हस्तान्तरणको प्रक्रियापछि मात्रै सर्वसाधारणका लागि खुला हुन्छ ।’

आगामी असार मसान्तदेखि प्राधिकरणको समयसीमा सकिने भएकाले धरहरा सञ्चालनका लागि अन्य कुनै निकायलाई धरहरा हस्तान्तरण हुनेछ । प्राधिकरण आफैंले धरहरा सञ्चालन नगर्ने भएकाले टिकटका बारेमा पनि दोस्रो चरणमा मात्रै टुङ्गो लाग्ने घिमिरेले बताए ।

नयाँ धरहराको विशेषता

अहिलेको नयाँ धरहराको निर्माण कार्य २०७५ असोज १४ गतेदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट काम सुरु भएको थियो ।

अहिले बनेको धरहरा क्षेत्र करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो क्षेत्रमा एउटा अर्ध–भूमिगतसहित चारतल्ले भूकम्प र टक्सारसम्बन्धी संग्रहालय निर्माण भइरहेका छन् । त्यस्तै, ‘फुड कोर्ट’सहितको ‘युटिलिटी ब्लक’ पनि निर्माणकै क्रममा रहेको छ ।

धरहराले चर्चेको क्षेत्रमा विश्राम स्थलसहितको मनमोहक बगैंचा एवं संगीतमय फोहरा निर्माण हुने प्राधिकरणले जनाएको छ । यस्तै तीनतले भूमिगत पार्किङको पनि व्यवस्था गरिने छ, जहाँ ४ सय गाडी र ७ सय मोटरसाइकल पार्किङ गर्न मिल्ने छ ।

२०७२ सालको भूकम्पले भत्काएको भीमसेन स्तम्भलाई सिसाले छोपेर संरक्षण गरिनेछ । त्यससँगै रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण गरिने र जसमा २४ सै घण्टा मेलम्चीबाट ल्याइएको पानी बगाउने योजना रहेको प्राधीकरणका अधिकारीहरुले जानकारी दिएका छन् ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिन मुनि दुई तल्लाको भूमिगत संरचना रहेको छ । जमिनमाथि भुईंतलासहित २३ तला गरी समग्रमा धरहरा २५ तल्लाको छ ।

जमिन माथिबाट गजुरसहित धरहराको उचाई ८३.८५ मिटर छ, जुन भूमिगत तल्लासहित जोड्दा ९२.२५ मिटर पुग्छ ।

आधुनिक निर्माण सामग्री र प्रविधि प्रयोग भएको धरहराभित्र २ वटा लिफ्ट राखिएको छ, जसमा एकपटकमा १० जनाले यात्रा गर्न सक्ने जनाइएको छ । धरहरा चढ्न फलामको भ¥याङ पनि राखिएको छ ।

धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २० औं तल्लाबाहिर २.५ मिटर चौडाइको बार्दली राखिएको छ ।

२२ औँ तल्लामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ ।

झन्डै ३ अर्ब ४८ करोडको लागतमा पुरानो धरहराको स्वरुपमा नयाँ धरहरा बनाइएको हो ।

यस्तो छ धरहराको इतिहास

विसं. १८८१ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गराएका थिए जसको नाम भिमसेन स्तम्भ रहेको थियो । १८८२ सालमा महारानी ललिता त्रिपुरासुन्दरीको आदेशमा भीमसेन थापाले सुन्धारामा अर्को ६१.८८ मिटर अग्लो ११ तले धरहरा बनाउन लगाएका थिए । जुन धरहरा १८९० सालमा भत्किएपछि लगनटोलको धरहराको जीर्णोद्वार भएको थियो ।

वि. सं. १९१३ मा बज्र (चट्याङ) परी भत्केपछि १९२३ सालमा पुनः जीर्णोद्वार गरिएको थियो । त्यसपछि बि.सं. १९९० माघ २ को महाभूकम्पमा धरहरा भत्किएपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणाले पुनर्निर्माण गराएका थिए । सो पुनर्निर्माणका क्रममा धरहरा ११ तल्लाबाट ९ तल्लामा सीमित भएको थियो ।

यस्तै ६ बर्षअघि २०७२ बैशाख १२ गतेको महाभूकम्पबाट धरहरा पूर्णरुपमा क्षति भएको थियो । जुन भत्किएको धरहराको फेदलाई अहिले जस्ता पाता ओढाएर संरक्षण गरेर राखिएको छ ।

२०७२ सालको भूकम्पमा धरहरा चढेका र धरहराको छेउबाट यात्रा गरिरहेका ६० जनाले अकालमा मृत्युवरण गर्नुपरेको थियो । धरहरा भत्कँदा अन्य कैयौँ ब्यक्ति घाइते तथा अंगभंग भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP