मंगलबार , बैसाख २९, २०८३

केही दिनअघि गायिका शान्तिश्री परियारले एक पडकास्टमा पुगेर आफ्नो संघर्षदेखि सफलतासम्मका कुरा सुनाइन्। त्यस क्रममा कार्यक्रम प्रस्तोता राधिका कँडेलले गायक तथा सर्जक खेम सेन्चुरीसँग शान्तिको बोलचाल नभएको हल्लाबारे कुरा कोट्याइन्।

शान्तिश्री र खेमले थुप्रै गीतमा सहकार्य गरेका छन्। जसमा ‘खोली तारिदेऊ न माझी दाइ’, ‘मोहिनी’, ‘तल्लो बाटो’, ‘अरेली काँडैले’ आदि गीतहरू निकै चर्चित छन्। केही गीत त दुवैले सँगै गाएका पनि छन्। केही गीतमा खेमको संगीतमा शान्तिश्रीले स्वर दिएकी छन्।

तर, केही समययता लोकदोहोरीका चर्चित यी दुई सर्जकले एकसाथ काम गरेका छैनन्। सम्बन्ध हार्दिक नरहेको हल्लाबीच केहीअघि खेमले ‘अरेली काँडैले’ गीत चलेर आफू खुसी नभएको प्रतिक्रिया दिएका थिए। जबकि यस गीतका संगीतकार उनै हुन्।

यो त्यही गीत हो, जसले लोकदोहोरी विधाका कलाकारमा सबभन्दा छिटो १० करोड भ्युज पाउने गीतको रेकर्ड बनाएको छ। शान्तिकै युट्युब च्यानलमार्फत सार्वजनिक यस गीतले अहिलेसम्म १० करोड २७ लाख भ्युज पाइसकेको छ। गीत चलेकोमा शान्तिले सामाजिक सञ्जालमा खुसी पनि साटेकी थिइन्।

यही गीतको सन्दर्भ उल्लेख गर्दै सोधिएको प्रश्नमा शान्ति केही समय चुप बस्छिन्। अनि त्यस्तो समस्या केही नभएको दाबी पनि गर्छिन्। तर, त्यो विषयमा चुप भने लाग्न सकिनन्। बरू आफूले खेमलाई अभिभावक मानेको र सन्तानको गीत चलेकोमा खुसी छैन भन्दा निकै दुःखी भएको कुरा खोलिन्।

‘त्यस्तो समस्या त केही छैन। तर, उहाँले त्यस्तो भन्दा मुटुसम्मै दुखेको थियो। म सर्जकहरूको पूजा नै गर्छु। के कारणले हो भनेर बुझ्न नि खोजेँ। उहाँले मसँग क्लियर गर्न चाहनुभएन। मैले उहाँलाई म्यासेज नै गरेको थिएँ। तर, रेस्पोन्स गर्नुभएन,’ शान्तिले भनिन्।

शान्ति यत्तिकैमा रोकिइनन्। बरू खेमलाई पठाएको उक्त म्यासेज पडकास्टमै पढ्न थालिन्। त्यसका भिडियो क्लिपहरू यतिखेर छ्यापछ्याप्ती छाएका छन्, जसमा केहीले शान्तिको पक्ष लिँदै प्रतिक्रिया दिइरहेका छन् भने केहीले खेमको।

शान्तिसँगको दुस्मनी भएजस्तै गरी यो विषय फैलिएपछि खेमले पनि केही अन्तर्वार्तामा शान्तिसँगको मनमुटावबारे मुख खोलेका छन्। आफूलाई इग्नोर गर्ने व्यक्तिलाई इग्नोर गरेको उनको दाबी छ।

‘त्यस्तो केही पनि होइन। कतिपय कुराहरू मनमै छन्। मैले यी कुरालाई क्लोज (बन्द) नै गर्या छु। उहाँले यति लामो म्यासेज पठाइसकेपछि यो टपिकलाई नै क्लोज गरेको हो। अस्ति कता गएर बोल्नुभएको रहेछ,’ उनले भनेका छन् ‘यस विषयमा धेरै नबोलौं। इग्नोर गर्ने मान्छेलाई इग्नोर गरेको हुँ। एउटा उखानजस्तै मान दिनेलाई मान दिन्छु, सान दिनेलाई सान दिन्छु। त्यो कहिलेकाँही गर्नुपर्दोरहेछ।’

एउटा सर्जकलाई पैसाभन्दा पनि आत्मसम्मान ठूलो हुने उनको भनाइ छ।

‘मलाई लोभ लालच होइन, नत्र सिर्जनाहरू किन दिन्थेँ र? थुप्रै कलाकारले सिर्जना लगेका छन्। कहिलेकाहीँ हामी सर्जकले आत्मसम्मान खोज्छौं, पैसा होइन। यस्ता घटना आइरहन्छन्। अरू कुराको घमण्ड छैन। म संगीतमा चाहिँ इमान्दार भएर अघि बढेको मान्छे हो। म अनुशासन चाहन्छु, रेस्पोन्स चाहन्छु। त्योचाहिँ खोजेको हो मैले। इग्नोर गर्नेलाई मैले पनि इग्नोर गरेकै हो।’

उनले घुमाउरो शैलीमा उचाइमा पुगेसँगै शान्तिमा घमण्ड बढेको भनी कटाक्ष गरे। ‘जति उचाइ भए पनि खुट्टाचाहिँ भुईँमै हुनुपर्छ। हरेक कलाकारलाई भगवानले एउटा उचाइ दिन्छन्। एउटा सफलताको चरम बिन्दुमा पुर्‍याउँछन्। त्यसबेला सम्हालिन सक्यो भने मान्छे बन्यो। नत्र अहंकारी र घमन्डी बन्यो। त्यही चिज हो। मलाई त्यो हुनु छैन। धेरै कलाकारसँग काम गर्नु छ। नयाँनयाँ कलाकार जन्माउनु छ।’

आफू ९९ प्रतिशत झुक्ने मान्छे भए पनि एक प्रतिशतले यो चिजचाहिँ गलत भइरहेको महसुस हुनेबित्तिकै भड्किन पुग्ने उनले सुनाए।

शान्तिश्री र खेम दुवैले मिडियामा बोलेसँगै उनीहरूबीचको मनमुटावको खबर केही दिनयता धेरैका लागि चर्चाको विषय बनिरहेको छ। युट्युबमा पनि उनीहरूको सम्बन्ध चिसिएकोबारे बनेका भिडिओ कन्टेन्ट छ्यापछयाप्ती भएका छन्।

भएको के थियो?
शान्ति र खेमसँग नजिक रहेर काम गरेका कलाकारहरूका अनुसार, उनीहरूबीच सहकार्य नभएको एक वर्ष बढी भइसकेको छ।

‘अरेली काँडैले’ को सफलतापछि उनीहरूको सम्बन्धमा दरार आएको हो। गत वर्षको तीजमा रिलिज भएको ‘अरेली काँडैले’ व्यापक चलेर करोड क्लबमा पुगिसकेपछि सेलिब्रेसन गर्ने (उत्सव मनाउने) खेमको प्रस्ताव थियो। त्यसबेला केही कारण देखाउँदै शान्तिले सेलिब्रेसन गरिनन्।

शान्तिले आफ्नो आग्रह नमानेपछि खेमले अपमानित भएको ठानेको उनका प्रतिक्रियाहरूबाट बुझ्न सकिन्छ। त्यहाँदेखि उनीहरू टाढिँदै गएको देखिन्छ।

कतिसम्म भने त्यस घटनापछि खेमले आफूलाई संगीतका लागि अफर आउँदा गीतहरूमा ‘गायिका को छन्?’ भनेर समेत सोध्ने गरेका छन्। गायिका शान्ति भएका गीत खेम अस्वीकार गरिरहेका छन्।

केही कलाकारका अनुसार, कतिपय शान्तिसँगको स्वरमा रेकर्ड भइसकेका गीतबाट पनि आफ्नो स्वर हटाउन लगाएका छन्।

केही संगीतकर्मीले यी दुवैलाई सँगै राखेर एकअर्काको चित्त दुखाइबारे छलफल गराउन नखोजेका पनि होइनन्। तर, दुवैले एकअर्कासँग झुक्न नखोज्दा सम्बन्ध सुल्झिन सकेको छैन। सुरूवातीमा शान्तिले नमानेको र पछि खेमले नमानेको ती संगीतकर्मीको भनाइ छ।

अघिल्लो वर्ष तीजमा शान्तिश्रीसँग सहकार्य गरेका खेमले उनीसँग सम्बन्ध चिसिएपछि गत तीजमा अर्की गायिका शान्तारानी परियारसँग सहकार्य गरेका थिए। गायिकाकै युट्युबमा सार्वजनिक ‘म त ढलेँढलेँ’ गीतले छोटो समयमा निकै चर्चा पनि पाएको छ। गीतले युट्युबमा ५ करोड भ्युज पाएपछि शान्तारानीले सेलिब्रेसन कार्यक्रम आयोजना गरेर खुसी साट्दै गीतकार नेत्र अर्याल र संगीतकार खेमलाई ५०/५० हजार रूपैयाँ इनामसमेत दिएकी थिइन्। यो सेलिब्रेसन पनि खेमको योजनामा शान्तिश्रीलाई देखाउनका लागि गरिएको उनका सहकर्मीहरू बताउँछन्।

‘क्यूआर लिएर हराइन् शान्ति’
खेम निकटस्थ कलाकारका भनाइमा, अरेली काँडैले गीत राम्रो चलेपछि एक दिन शान्तिले खेमलाई अर्को गीत बनाउन प्रस्ताव गरिन्।

खेमले भने, ‘अहिले अरेली काँडैले राम्रो भएको छ। यो करोड क्लबमा जान्छ। यसैलाई सबैले मनपराइरहनु भएको छ। हामी यो वर्ष अरु नगरौँ। अर्को गीतको तयारीचाहिँ गरौँ।’

शान्तिले खेमको कुरा मानिनन् र अर्जुन सापकोटासँग ‘लौन नि भैया’ भन्ने गीतमा सहकार्य गरिन्। यसमा खेमले असन्तोष व्यक्त गरे।

अरेली काँडैले गीतले राम्रो भ्युज पाएसँगै शान्तिले नै खेमलाई सर्जकको हिसाबले केही पैसा नै दिने वचन दिएकी रहिछन्।

खेमनिकट अर्का सर्जक भन्छन्, ‘अरेली काँडैले गीत चलेपछि शान्तिले नै खेमलाई केही पैसा नै दिने भन्नुभएको थियो। क्यूआर पनि लैजानुभएको थियो। त्यो पैसा अहिलेसम्म नआएको कुरा पनि छ।’

यसैलाई खेमले आत्मसम्मान नभएको र चोट पुगेको भनिरहेका छन्।

तर, शान्ति पक्षधरहरू भने कुनै पनि विवादमा एउटा पक्षको मात्र दोष नहुने भएकाले दुवै पक्ष बसेर सुलह गर्नुपर्ने बताइरहेका छन्।

@NepalKhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP