
वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई नेपाली कामदारहरुलाई वैदेशिक रोजगारमा पठाउने सन्दर्भमा श्रम स्वीकृतिका लागि पेश गरिने कागजात, प्रमाणहरु सत्य र तथ्यमा आधारित नभएको अवस्थामा वैदेशिक रोजगारमा जाने कामदारहरु करार बमोजिम काम, सुविधा नपाई मर्कामा पर्ने, विदेशी भूमिमा पीडित बन्नुपर्ने, स्वदेश फर्कन कठिनाई हुने, कतिपय अवस्थामा जेल सजायसमेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनुपर्ने हुन सक्छ।
वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले निम्न विषयहरुमा विशेष ध्यान पुर्याई यकिन गरी श्रम स्वीकृति लिएर वैधानिक रुपमा मात्र वैदेशिक रोजगार जानुपर्ने हुन्छ। तसर्थ, गलत सूचनाका आधारमा प्रलोभनमा परेर होइन, सत्यतथ्य राम्रोसँग बुझी सरकारले तोकेको कानूनी प्रक्रिया पुर्याएर वैदेशिक रोजगारीमा गए मात्र जीवन र रोजगारी दुवै सुरक्षित हुन सक्छ।
वैदेशिक रोजगारीमा जाँदा निम्न कुराहरुमा ध्यान दिनुपर्ने हुन्छः
१. वैदेशिक रोजगारमा जानका लागि कानूनी प्रक्रिया पुर्याई व्यक्तिगत र संस्थागत गरी २ किसिमले वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचलस्थित कार्यालयबाट श्रम स्वीकृति प्राप्त गर्न सकिन्छ। संस्थागत रुपमा वैदेशिक रोजगारमा कामदार पठाउने कार्य वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र लिई नियमित रुपमा नवीकरण भएका इजाजतपत्रवाला संस्थाहरु (मेनपावर कम्पनी) ले गर्दछन्। तपाईले सम्पर्क गरेको संस्था वैदेशिक रोजगार विभागबाट इजाजत लिएको मेनपावर कम्पनी हो कि होइन ? उक्त मेनपावरको काम कारवाही रोक्का भएको छ, छैन ? तथा खारेजीमा परेको छ, छैन ? राम्रोसँग बुझ्नुपर्छ। व्यक्तिगत प्रयासबाट भिसा प्राप्त गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपाली दूतावासबाट प्रमाणित सक्कल कागजातसहित स्वयं उपस्थित भई श्रम स्वीकृति लिन सकिन्छ।
२. वैदेशिक रोजगारमा जाँदा कुन काममा जाने, सोको लागि कति खर्च लाग्छ, काम गरेवापत तलब, खाना र बस्ने व्यवस्था, काम गर्नुपर्ने घण्टा, ओभरटाइम काम भत्ता, करार अवधि आदिबारेमा राम्ररी जानकारी लिनुपर्छ। देश, कम्पनी, काम गर्ने पद र पेसा, तलबभत्ता, अन्य सुविधा र सेवा शर्तहरुबारे चित्त बुझेमा मात्र सम्झौतापत्रमा सही गर्नुपर्छ सोको एक प्रति प्रतिलिपि आफूसँग राख्नुपर्छ। विमानस्थलमा फरक फरक सम्झौता गरेका कागज साथमा राखेको पाइएकोले एउटै कम्पनीसँग मात्र सम्झौता गर्नुपर्छ, दोहोरो सम्झौतापत्रमा हस्ताक्षर गर्नु हुँदैन। यसो गर्दा ठगिने जोखिम बढी हुन्छ।
३. वैदेशिक रोजगारमा जाँदा कुन संस्थाबाट वा कोमार्फत जाने हो, त्यसको बारेमा यथेष्ठ जानकारी राख्नुपर्छ। दलालमार्फत् वा त्यस्तै व्यक्तिबाट जाने प्रयत्न गर्नु हुँदैन। यसरी जाँदा ठगिने र विदेशमा अलपत्र पर्ने प्रबल सम्भावना रहन्छ। कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी, मनी ट्रान्सफर/चेन्जर, दलाल, एजेन्ट, कुनै पनि संस्थालाई वैदेशिक रोजगारमा पठाउने अधिकार प्राप्त छैन। यी कसैलाई पनि रकम दिँदा ठगिने बढी सम्भावना हुन्छ। वैदेशिक रोजगारबारे थप कुरा बुझ्नुपरेमा वैदेशिक रोजगार विभाग वा नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिन्छ।
४. आफ्नो नाममा भिसा प्राप्त भई वैदेशिक रोजगारमा जाने निश्चित भएपछि मेनपावर कम्पनीको बैङ्क खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउनुपर्दछ। साथै, बुझाएको रकमको भर्पाई अनिवार्य रुपमा लिनुपर्दछ। यसरी रकम दिँदा पूर्व स्वीकृतिअनुसारको विज्ञापनमा उल्लेख भएकोभन्दा बढी रकम कसैलाई पनि दिनु हुँदैन।
५. इजाजत प्राप्त मेनपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कुन देशमा, कुन कामका लागि, कति अवधि भित्र पठाउने र कति लागतमा पठाउने हो? यकिन गरी भर्पाई लिएर मात्र सक्कल पासपोर्ट बुझाउने गर्नुपर्छ।
६. जान चाहेको देशको बारेमा राम्रो जानकारी राख्नुपर्दछ। त्यो देशको भाषा, संस्कृति, रहनसहन, चालचलन, रीतिरिवाज र कानूनको बारेमा आवश्यक जानकारी राख्नुपर्दछ। सम्बन्धित देशको भाषा, संस्कृति, कानूनका बारेमा जानकारी नराखी विदेश जाँदा कैयौं नेपालीहरु ठगिएका, कैयौं अलपत्र परेका तथा कैयौंले अनावश्यक कानूनी झमेला झेल्नुपरेका प्रशस्तै उदाहरणहरु छन्।
७. आफू काम गर्न जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र फ्याक्स नम्वर डायरीमा टिप्ने गर्नुपर्दछ। कुनै प्रकारको समस्या आइपरेमा सम्बन्धित माध्यमबाट सम्पर्क गरी समाधान खोज्ने गर्नुपर्दछ।
८. सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराई तोकिएको होलोग्राम भएको स्वास्थ्य परीक्षण प्रमाणपत्र लिने गर्नुपर्दछ। अनधिकृत संस्थाबाट स्वास्थ्य परीक्षण गराउँदा पछि अनेकौं समस्याहरु झेल्नुपर्ने हुन सक्छ।
९. सरकारले तोकेको बिमा कम्पनीमा गई करार अवधिअनुसार कम्तीमा रु. ५ लाखको जीवन बिमा गराउनु राम्रो हुन्छ। जीवन बिमा नगराई विदेश जाँदा भविष्यमा कुनै दुर्घटनामा भएमा समस्या हुन्छ।
१०. कल्याणकारी कोषमा रु. १,५००।– बुझाई रसिद लिनुपर्दछ। सो रकम नतिरी श्रम स्वीकृति पाइँदैन।
११. विदेश जानुअघि स्वीकृत अभिमुखीकरण संस्थामा गई अनिवार्य रुपमा २ दिनको अभिमुखीकरण तालिम तथा जाने मुलुकको श्रम कानून सम्बन्धी जानकारी लिने गर्नुपर्दछ। सो अभिमुखीकरण तालिमबाट आफू जाने देशको भौगोलिक अवस्था, हावापानी, ट्राफिक नियम, श्रमसम्वन्धी सामान्य कानूनी प्रावधान लगायतका विषयमा पर्याप्त जानकारी प्राप्त हुनेछ।
१२. वैदेशिक रोजगारमा जान लागेका नेपाली नागरिकहरुले विदेश प्रस्थान गर्नुअगाडि आफूले प्राप्त गरेका रोजगार सम्बद्ध कागजातहरुको प्रतिलिपिहरु एक÷एक थान आफ्नो घरमा सुरक्षित साथ राख्ने र आफ्नो साथमा लिएर जानुपर्ने कागजातहरु रुजु गरी लिई जाने गर्नुपर्दछ, ताकि अध्यागमनको प्रस्थान कक्षमा वा विदेशमा पुगेर समस्या झेल्नु नपरोस्।
१३. कामका लागि विदेश जाँदा नेपालकै एयरपोर्ट प्रयोग गर्नुपर्दछ, अन्यथा ठगिने सम्भावना हुन्छ। श्रम स्वीकृतिको निस्सा प्राप्त नहुँदै हवाई टिकट खरिद गर्नु हुँदैन। अन्य देशको विभिन्न बाटो प्रयोग गरी रोजगारीका लागि विदेश जानु हुँदैन। यदि कसैले तपाईलाई ललाइफकाई लैजादै छ भने स्थानीय प्रहरीलाई खबर गर्नुपर्दछ।
१४. लुकीछिपी जाँदा कानूनी कारबाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौताबमोजिम काम नपाउने, उद्धार गर्न कठिन हुने र कल्याणकारी कोष, बिमा कम्पनीबाट प्राप्त हुने सेवा सुविधा प्राप्त नहुने हुँदा विशेष होस पुर्याउनुपर्दछ।
१५. वैदेशिक रोजगारमा हुने ठगी र अन्य सूचना लिन र दिन टोल फ्रि नं. १६६००१०९९९९ को व्यवस्था गरिएकोले कुनै गुनासो वा जानकारी भए फोन गर्नुहोस्। साथै वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको टोल फ्रि नं. १६६००१५०००५ मा पनि आफ्नो समस्या राख्न सकिन्छ।
१६. पहिलेको श्रम स्वीकृति म्याद नाघेको वा नयाँ देश वा कम्पनीमा वैदेशिक रोजगारमा पुनः जाँदा अनिवार्य रुपले पुनः श्रम स्वीकृति (नवीकरण) लिनुपर्दछ। करार अवधि सकिएपछि पनि स्वीकृतिवेगर, गैरकानूनी तरिकाबाट भिसाको म्यादभन्दा बढी समय बस्नु हुँदैन। अन्यथा सम्बन्धित देशको कानूनअनुसार कारबाही हुन सक्छ। आफ्नो राहदानीको म्याद समयमा नै नवीकरण गर्नुपर्दछ।
१७. वैदेशिक रोजगारका लागि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुने सूचनाको आधिकारिकता बुझ्नु परेमा वैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा सम्पर्क गरी बुझ्न सकिन्छ।
१८. वैदेशिक रोजगारमा विदेशमा रहँदा अनावश्यक रुपमा हड्ताल र अशान्ति गर्ने कार्य भुलेर पनि गर्नु हुँदैन। प्रायः देशमा आफ्ना नागरिक र विदेशी नागरिकका लागि फरकफरक कानून हुने हुनाले विदेशमा गरिने सानो गल्तीले पनि ठूलो सजायको भागीदार बन्नुपर्ने खतरा रहन्छ।
१९. जसले सबै प्रक्रिया बुझेको छ, वैदेशिक रोजगारीमा जाँदा त्यस्तो व्यक्ति ठगिँदैन। तसर्थ, हतार, आवेशमा होइन, पूर्ण सचेत भएर मात्र वैदेशिक रोगजारीमा जानुपर्छ।