मंगलबार , बैसाख २९, २०८३

प्रा. घनश्याम भण्डारी
वाल्मीकि क्याम्पस, काठमाडौं.
यस वर्ष पुस-माघको जाडो बिदालाई सगुपयोग गर्दै पृथिवीको दक्षिणपूर्वी भागमा अवस्थित विशाल भूभाग समेटे अष्ट्रेलिया बसाइँ वा भनौं एउटा महादेशकै रूपमा रहेको अस्ट्रेलिया देशको भिक्टोरिया प्रान्तको मेलवर्न बालाराट्मा रहनुभएका छोरी-ज्वाइँकोमा आएका छौं । यस वर्षको पुसमाघको चिसोमा यो वासन्ती मौसम रहेको अस्ट्रेलियाको भिक्टोरिया र साउथ प्रान्तमा ज्यान रमाइरहेको छ ।

हामी यो प्रान्तका विविध स्थानहरूको अवलोकन पश्चात् आजभोलि साउथ अस्ट्रेलियाको राजधानी एडिलेडको चारदिनको भ्रमणमा छौं । एडिलेड सिटीमा बैठक, किचन, बाथरुम र दुइटा बेडरुम सहितको फ्लाट बुक गर्नुभएको छ ज्वाइँले । यसैमा हामी दुइजना, छोरी-ज्वाइँ र दुइवर्षको नाती सहित सम्पूर्ण घरको सुविधा सहित बसेका छौं । यस फ्याटमा घरमा चाहिने सबै सामानहरू, भाँडाबर्तन, यहाँसम्म कि वासिंगमेसिन, ड्रायरदेखि सानाभन्दा साना सबै घराससी सामानहरूको उपलब्धता रहेको छ ।यो हाम्रो मुकाम हो र दिनभरि विविध स्थलहरूको भ्रमण-अवलोकन पछि यहीँ आउँछौं र बस्छौं ।

एडिलेडदेखि ७० किलोमिटर टाढा सपनाको संसारजस्तै लाग्ने बरोसा भ्याली रहेछ । चारैतिर पहाड र बिचमा सम्मो परेको मैदानी भुभागनै भ्याली हो । भ्याली दुनियाँमा धेरै छन् नेपालमा पनि भित्रीमधेसका नामले चिनिएका भुखण्डहरू छन् ।उपत्यका वा अधित्यकाहरूका सबैका आआफ्नै विशेषता हुन्छन् नै । भ्याली शब्दले धेरै ठुलो उपत्यकालाई जनाउँछ । मान्छेलाई समयक्रमले कहिले कहाँ पुर्याउँछ कहिले कहाँ, नेपालको एउटा सुन्दर ग्रामीण परिवेशमा जन्मेर यात्रा गर्दैगर्दा आज अस्ट्रेलियाको साउथ स्टेटको राजधानी एडिलेडबाट घुम्दै जाने क्रममा यो भ्यालीको अवलोकन गर्ने अवसर मिल्यो । यहाँ ठुलाठुला अंगुरका बगानको अवलोकन गरियो । खेति गराइको यो तरिका र यति ठुलो परिमाणको खेती गराइ हामीले विरलै देख्न पाइन्छ । नेपालको इलाम र भारतको दार्जिलिंगमा देखिने चिया बगानहरूलाई मात गर्ने खालका विविध रूपरंगका अंगुरका बगान, तलमाथि गर्दै दगुरेका सुन्दर चिल्ला बाटाहरू, आजभोलि गर्मी मौसम समर सिजन तर पानी नबर्सने नेपालकोभन्दा उल्टो प्रकारको मौसम, घर र मान्छे त छन् तर ती घरहरूमा हाम्रोतिरजस्तो गाई भैंसी छैनन् घर बाहिर मान्छेभन्दा धेरै मसिनहरू छन् । यहाँको भूमि उर्वर होलाजस्तो रसिलोभरिलो र सबैतिर हरियोभने नदेखिने, यसको कारण गर्मी मौसममा पानी नपर्ने भएकोले होला । यहाँ जाडोमा चाहीँ पानी पर्छ रे । यत्रा ठुला सबै अंगुर बगानमा पाइप सिंचाइ प्रविधि अपनाएर खेति गरिएको रहेछ । अंगुरका बगानमा झोप्पाझोप्पा परेर यहाँको पौरख फलेको देख्दा वर्णनातीत आश्चर्य लाग्यो । यहाँको अंगुरको प्रयोग गरेर बनाइएको वाइन संसार प्रसिद्ध रहेछ ।

यसको मार्केटको बारेमा हामीलाई के थाहा ?! ‘वाइन टेस्ट’ यहाँ भ्रमण गर्नुको एउटा पक्ष रहेछ । बाहुनले च्याउ खाओस् न स्वाद पाओस् भनेजस्तै हामीले यसको स्वाद जोख्ने ल्याकत नै राखिएन । अर्को यहाँको टुरको पक्ष हेलिकप्टर चढेर यो भ्यालीको सौन्दर्य अवलोकन गर्ने रहेछ । हामीले यो उपत्यकाको विविध पक्षको जानकारी लिनुपर्दछ भन्ने लाग्यो र सबै पक्षको जानकारीको लागि गुगल सर्च गर्दा यसको पहाडी इलाकाको गार्ढेन, पुरानो र ठुलो ड्याम, औद्योगिक फामहरू, वाइन प्लान्टहरूको अवलोकन गर्न थप २५ किलोमिटर यात्रा तय गरियो र ती स्थलहरूको अवलोकन गरी भरपुर आनन्द लिइयो । यो देशको शहरमा भारतीय रेस्टुरेन्टहरूको कमी छैन र त्यहाँ फाट्टफुट्ट नेपाली बाबु-नानीहरू पनि भेटिनेरहेछन् तर अलि पर दूरदराजमा नेपाली जिउरोमा बानी परेका नास्तापानीको आनन्द लिन चाहीँ नपाइनेरहेछ । विदेशी भेज प्रकारका खानाका स्वाद मन परेको भनौं कि के भनौजस्तो लाग्यो । हामी ५ बजेतिर पुनः एडिलेट फर्क्यौं र सिटीको नजिकै रहेको अर्को दर्शनीयस्थल बोटानिकल पार्कको अवलोकन गरियो ।
साँझ पर्दैथियो पूर्व निर्धारित कार्यक्रमानुसार मन्जुकोमा जान गाडी चढ्यौं त्यहाँ ज्ञानेश्वर दाइ र गीता दिदी पनि हुनुहुन्छ । उहाँहरूले बाबुनानूहरूको अस्ट्रेलियाको बसाइलाई सुखद र पारिवारिक बनाइदिनुभएको छ र आफ्ना सन्तानको प्रगतिमा आनन्दित हुनुहुन्छ । यहाँ आउने सबै मातापिता र हामीजस्तै । गीता दिदीको हातले बनाएको मिठो स्वादिलो रात्रिकालीन भोजन पश्चात् रितुको घर पनि पुग्यौं । रितुको मिठो सत्कारले मन प्रफुल्ल भयो ।यिनको सुन्दर र सुखी परिवार, घर बाहिर सानो पार्क, तुलसीको मठ र भित्र पस्नासाथ सुन्दर सानो मन्दिर देखेर नमो नमः भन्दै हात जोडें । मन प्रसन्न भयो । केही बेरको सुखद गफ गरेर हाम्रो मुकाम रहेको फ्लिन्डर्स पार्क नजिकै रहेको Air BNB मा फर्क्यौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP