शुक्रबार , बैसाख ५, २०८२

लगातार तीन खेलमा लगातार तीन जित अनि ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा । दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा एकपछि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो उडान भर्दैछ ।

सुदूरपश्चिम रोएल्सले मैदानमा तुफान चलाइरहेको छ । अहिलेसम्म खेलेको तीन खेलमा आरामदायी जित हात पारेको छ । मैदानमा तुफान सुदूरको सान भन्ने नारा जस्तै सुदूरपश्चिम रोएल्सले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

सुदूरपश्चिमले शनिवार भएको खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ । जनकपुर बोल्ट्स समान अपराजित रहँदै ६ अंक जोडेको सुदूरपश्चिम नेटरनरेटमा पनि अगाडि छ र शीर्ष स्थानमा उक्लेको छ । ब्याटिङ र बलिङ दुवैमा सुदूरपश्चिम टिम उत्कृष्ट देखिएको छ ।

इंग्लिस खेलाडी सैफ अली जैबको ९० रन मद्दतमा सुदूरपश्चिमले लुम्बिनीविरुद्ध ४ विकेट गुमाएर १८७ रन बनाएको थियो । बलिङमा पनि जैबसहित ब्राण्डन म्याकमुलेनले समान ३ तथा स्कट कुगेलेइनले २ विकेट लिएपछि सुदूरशले लुम्बिनीलाई १४२/९ रनमै रोकेर जित हात पारेको हो ।

मुख्य प्रशिक्षक जगत टमाटाले सबैले आफ्नो भूमिका अनुसार खेलेकोले नै जित सम्भव भएको बताए । ‘सबैलाई आफ्नो रोल दिएको छ । राम्रो गर्‍यो । विनोद र सैफ जैबले सुरुमा राम्रो पार्टनरसिफ गरे । जैबले खेल कन्ट्रोल गर्‍यो’ खेलपछि पोष्ट म्याच प्रेस कन्फ्रेन्समा टमाटाले भने, ‘बलिङमा स्कटले पावर प्लेमा छिटो भन्दा छिटो विकेट निकाल्यो र दबाबमा आयो । जितको पछाडि सबै टिम मेम्बर र सपोर्टिङ स्टाफको रोल छ ।’

ब्याटिङ बलिङ जे आएपनि खेल्नुपर्छ भन्ने योजना अनुसार नै तयार रहेको टमाटाले बताए । ‘सुरुमा जे परेपनि खेल्ने भन्ने थियो । ब्याटिङ पायो राम्रो भयो । सुरुवात राम्रो गर्‍यौँ र मोमेन्टम पायौँ । सुरुको दुई पर्टनरसिप राम्रो भयो । सैफ जैबले ब्रिटियन्ट खेल्यो,’ उनले भने, ‘विनोदको कन्फिडेन्स हाई छ जसरी खेलिराछ । उसलाई जुन रोल देको छ त्यसमा राम्रो गरिराछ’ उनले भने ।

टमाटाले यो विकेटमा १६०-१७० सम्म सोचेको र राम्रो खेल्दा १० रन जति बोनस पाएको बताए ।

उनले टिमको नारा अनुसार नै खेल भएको र खेलेरै जितेको बताए । ‘सुदूरको सान, मैदानमा तुफान’ यो हाम्रो स्लोगन नै भइहाल्यो । हामीलाई मैदानमा आएर समर्थन गर्नुहुने जति पनि हाम्रो फ्यान छ उहाँहरुलाई टिम र मेरोतर्फबाट धन्यवाद । सुदूरले राम्रो खेलेर जितेको हो ।’

सैफ जैबको अलराउण्ड प्रदर्शन
लुम्बिनी विरुद्ध जितमा सुदूरपश्चिमका सैफ जैबले अलराउण्ड प्रदर्शन गरे । ब्याट र बल दुवैमा छाएका उनी प्लेअर अफ दि म्याच पनि बने ।

यी इंग्लिस अलराउण्डर धेरैका लागि नयाँ नाम हुन सक्छ । तर उनले इंग्ल्याण्डको काउन्टी क्रिकेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । त्यस्तै प्रदर्शन एनपीएलमा पनि देखाइरहेका छन् । मिडल अर्डरमा खेल्ने भएपनि जैब अहिले एनपीएलमा ओपनिङ गरिरहेका छन् र उनी फिनिसिङको भूमिका समेत निभाउन सक्छन् ।

शनिबार लुम्बिनीविरुद्ध पनि उनले विनोद भण्डारीसँग ओपनिङ गरे । टिमका लागि सर्वाधिक ९० रन बनाए । ६१ बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गरे ।

त्यतिमात्र होइन उनले तीन खेलाडीसँग महत्वपूर्ण साझेदारी गरे । जसले गर्दा सुदूरपश्चिमले राम्रो स्कोर बनाएको थियो ।

जैबले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । विनोद आउट भएपछि उनले ब्राण्डन म्याकमुलेनसँग ५७ रनको अर्धशतकिय साझेदारी गरे । म्याकमुलेन पनि आउट भएपछि जैबले कप्तान दीपेन्द्र सिंह ऐरीसँग ५३ रनको अर्को अर्धशतकिय साझेदारी गरे ।

शतकतर्फ लम्बिरहेका जैब १८औं ओभरमा रामोन सिमोण्ड्सको बलमा उन्मुक्त चन्दबाट क्याच आउट भए । कप्तान दीपेन्द्रले पनि उत्कृष्ट ब्याटिङ गर्दै १९ बलमै नटआउट ३९ रन बनाउ । जसमा ४ चौका र २ छक्का समावेश थियो ।

म्याकुमलेनले २३ र विनोदले १७ रन बनाए । अर्का विदेशी खेलाडी स्कट कुगेलेइनले ६ बलमा १ छक्का प्रहार गर्दै अविजित ११ रन जोडे । जैब यतिमै रोकिएनन् । बलिङमा पनि चार ओभर कोटा फालेका उनले ३ विकेट लिए । त्यसका लागि ३३ रन खर्चिए ।

बलिङमा प्रभावशाली विदेशी खेलाडी

ब्याटिङमा मात्र होइन बलिङमा पनि आज सुदूरपश्चिमका लागि विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । तीन विदेशी खेलाडी मिलेर कूल ८ विकेट लिए ।

स्कट कुगेलेइन र ब्राण्डन म्याकुलेनले नयाँ बलमा लुम्बिनीको टप अर्डर ध्वस्त पारेका थिए । यी दुईले ३.३ ओभरमै लुम्बिनीको ५ विकेट लिएका थिए ।

न्युजिल्याण्डका स्कटले पहिलो ओभरको पहिलो बलमै अर्जुन साउद र अन्तिम बलमा उन्मुक्तलाई आउट गरे ।

त्यसपछि म्याकमुलेनले दोस्रो ओभरमा कप्तान रोहित पौडेलललाई आउट गरे । उनै म्याकमुलेनले चौथो ओभरमा टम मुर्स र साद विन जफरको विकेट लिए ।

त्यसपछि भने लुम्बिनी पछि परेको थियो । त्यसपछि सन्दिप जोरा र विवेक यादवले केही सम्हाल्ने प्रयास गरेपनि सुदूरका अविनाश बोहराले ११औं ओभरमा साझेदारी ब्रेक गर्दै सन्दिप जोरालाई आउट गरे ।

त्यसपछि बाँकी काम ब्याटिङका स्टार जैबले गरे । जोरा आउट भएपछि विवेकले दिनेश अधिकारीसँग मिलेर इनिङ्स उकासेका थिए । तर ३६ रनको साझेदारी उनै जैबले १६औं ओभरमा तोडे । तेस्रो बलमा दिनेशलाई आउट गरेका जैबेले त्यही ओभरको अन्तिम बलमा सिमोण्ड्सलाई बोल्ड गरे । त्यसपछि उनले १८औं ओभरको अन्तिम बलमा सूर्य तामाङलाई नरेश बुढाएरबाट उत्कृष्ट क्याच आउट गराए ।

बलिङमा म्याकमुलनेले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । ३ विकेट लिएका जैबेले ४ ओभरमा ३३ रन खर्चे । यस्तै स्कट कुगेलेइनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । १ विकेट अविनाशको नाममा रह्यो ।

सुदूरपश्चिमका लागि हरेक खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । आवश्यक परेका बेला रन हान्ने र विकेट लिन सबै खेलाडी तयार देखिन्छन् । अघिल्लो खेलमा नेपाली युवा स्पीनर नरेन साउदले ५ विकेट लिएका थिए ।

कप्तान दीपेन्द्र आफैँ अलराउण्डर हुन् । उनी ४ ओभर स्पीन मज्जाले फाल्न सक्छन् । शनिबार लुम्बिनीविरुद्ध उनले बलिङ नै गर्नुपरेन ।

लिगअघि बलिङमा केही कमजोर हो कि भन्ने देखिएको सुदूरले अहिले बलिङमा पनि दमदार प्रदर्शन गरिरहेको छ । अलराउण्डरद्वय सैफ जैब र ब्राण्डन म्याकमुलेनल ४-४ ओभर नै बलिङ गर्दा सुदूरशलाई फाइदा भएको छ । त्यसमा स्कट कुगेलेइनले आफ्नो अनुभवको भरपुर सदुपयोग गर्दै नयाँ बलमा सानदार बलिङ गरिरहेका छन् ।

सुदूरका लागि बलिङमा तीनै विदेशी खेलाडीले समान ५ विकेट लिएका छन् । यस बाहेक नरेनले ५ विकेट लिएका छन् । अविनाश बोराहले ६ विकेट लिएका छन् । सर्वाधिक विकेट लिनेमा अविनाश तेस्रो स्थानमा छन् । चितवनका सोहेल तनविरले ८ र जनकपुर बोल्ट्सका ललित राजवंशीले ७ विकेट लिएका छन् ।

विवेकको आशालाग्दो ब्याटिङ
कप्तान रोहितसहित लुम्बिनीको ब्याटिङ लाइनअप पनि राम्रो छ । त्यसमा विदेशी खेलाडी उन्मुक्त चन्द र इंग्ल्याण्डका टम मुर्स थपिएपछि ब्याटिङमा लुम्बिनी बलियो नै थियो । तर सुदूरपश्चिमविरुद्ध भने लुम्बिनीको ब्याटिङ अर्डर धर्मरायो । लुम्बिनीका लागि विवेक यादवले सानदार ब्याटिङ गरे ।

कुनै बेला १९ रनमै टप अर्डरदेखि मिडल अर्डरसम्मको ५ विकेट गुमाएको लुम्बिनीको इनिङ्स विवेकले नै सम्हाले र पूरा २० ओभरसम्म खेललाई लगे ।

उनले नटआउट ७७ रन बनाए । एक छेउबाट लगातार विकेट जाँदा पनि विवेकले आक्रमक ब्याटिङ गरेर रन जोडिरहे । उनले ५४ बल खेल्दा ३ चौका र ७ छक्का प्रहार गरे । विवेकले छैटौं विकेटका लागि सन्दिप जोरासँग ३७ रनको साझेदारी गरे । तर त्यसपछि भने गतिलो साथ पाएनन् ।

विवेकबाहेक जोराले २० र दिनेश अधिकारीले १४ रन जोडे । बाँकी ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । खेलपछि पत्रकार सम्मेलनमा सुदूरपश्चिमका मुख्य प्रशिक्षक जगत टमाटाले पनि विवेकको प्रदर्शनको तारिफ गरे । ‘यादव (विवेक)ले राम्रो खेल्यो । खुशी लाग्छ नेपाली खेलाडीले राम्रो खेल्दा । उनीहरु नेपाली क्रिकेटका भविष्य हुन् ।’

आशुतोष घिरैयाको स्थानमा प्लेइङ ११ मा फर्केका अर्जुन साउद शुन्य, उन्मुक्त चन्द ४, कप्तान रोहित ५, टम मुर्स ७ रनमा आउट भए । साद बिन जफर र रामोन सिमोण्ड्सले पनि खाता खोल्न सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP