सोमबार , अषोज २६, २०८३

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको एक अभिव्यक्तिका कारण क्यानडा, मेक्सिको र चीनका मुद्रामा गिरावट आएको छ । न्युयोर्क टाइम्सका अनुसार, मेक्सिकोको मुद्रा पेसो अमेरिकी डलरसँगको तुलनामा एकै दिनमा १.१८ प्रतिशतले कमजोर भएको छ। यसैगरी, क्यानडाको मुद्रा क्यानाडियन डलर अमेरिकी डलरसँगको तुलनामा १ प्रतिशतले कमजोर भएको छ, जुन मे २०२० यताकै ठूलो गिरावट हो ।

चीनको मुद्रा युआनमा पनि गिरावट आएको छ, यद्यपि यो मेक्सिकोको तुलनामा कम छ। चिनियाँ मुद्रा युआन अमेरिकी डलरसँगको तुलनामा ०.३ प्रतिशतले कमजोर भएको छ ।

ट्रम्पले आफू सत्तामा आएपछि पहिलो दिनदेखि नै क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सबै सामानमा भारी शुल्क (ट्यारिफ) लगाउने अभिव्यक्ति दिएका छन् । यी देशहरूबाट लागूपदार्थ र अवैध आप्रवासीको प्रवाह बन्द नभएसम्म यही नीति जारी राख्ने उनको बताएका हुन् ।

चीनमाथि १० प्रतिशत बढी शुल्क

सोमबार ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत शुल्क लगाउने बताएका छन् । उनले क्यानडा र मेक्सिकोले सजिलै अवैध आप्रवासी र लागूपदार्थ आपूर्तिमा रोक लगाउन सक्ने तर्क गर्दै त्यसो नगरे ठूलो मूल्य चुक्ता गर्नुपर्ने चेतावनी पनि दिएका छन् ।

एक अर्को पोस्टमा उनले चीनमाथि थप १० प्रशित शुल्क अर्थात् ३५ प्रतिशत ट्यारिफ लगाउने बताएका छन् । उनका अनुसार चीनले गैरकानुनी रूपमा ठूलो मात्रामा लागूपदार्थ अमेरिका पठाइरहेको छ । ट्रम्पले यसबारे पहिले पनि चिनियाँ अधिकारीहरूसँग कुरा गरेका थिए ।

चिनियाँ पक्षले लागूपदार्थ आपूर्तिमा संलग्नलाई मृत्युदण्ड दिने कानुन ल्याउने वाचा गरेको भए पनि त्यो पूरा नगरेको उनले बताएका छन् ।

व्यापार युद्धले महँगी बढाउने

अमेरिकाको क्यानडा, मेक्सिको र चीनसँग व्यापार सम्झौता छ। ट्रम्पले सत्तामा आएपछि यी देशहरूमा शुल्क लगाउने निर्णय गरे भने त्यो सम्झौताको उल्लंघन हुनेछ । यस्ता कदमले कानुनी चुनौतीसमेत सामना गर्नुपर्ने सम्भावना छ ।

तीनै देशले सन् २०२३ मा अमेरिकाबाट १ ट्रिलियन डलरभन्दा बढी सामान खरिद गरेका थिए भने १.५ ट्रिलियन डलरभन्दा बढीको सामान बिक्री गरेका थिए । रिपोर्टका अनुसार ट्रम्पको ट्यारिफ युद्धले सबैभन्दा ठूलो असर अटो सेक्टर, कृषि, प्रविधि र पार्टपुर्जाहरूमा पर्नेछ ।

चीनको प्रतिक्रिया

वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच लागूपदार्थ तस्करी नियन्त्रणका लागि कदम चाल्ने सहमति भएको स्मरण गराएका छन् । उनले ट्रम्पको आरोपको खण्डन गर्दै भनेका छन्, ‘तर, चीनले जानाजानी फेन्टानिलजस्ता लागूपदार्थ अमेरिका पठाइरहेको दाबी सही होइन ।’

चीन-अमेरिका व्यापार दुवै पक्षका लागि फाइदाजनक रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘यसमा हस्तक्षेप हुनु हुँदैन । व्यापार युद्धमा कसैले पनि जीत हासिल गर्न सक्दैन ।’

क्यानडाले के भन्यो ?

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको कार्यालयले एक वक्तव्य जारी गर्दै ट्रम्पको अभिव्यक्ति बारे प्रतिक्रिया दिएको छ । ‘अमेरिकाको ऊर्जा आवश्यकताहरू पूरा गर्न क्यानडा महत्वपूर्ण भूमिका छ। अमेरिकाले गत वर्ष उपभोग गरेको ६० प्रतिशत तेल क्यानडाबाट आयात गरिएको थियो,’ कार्यालयले भनेको छ, ‘ट्रम्पको टोलीसँग यी विषयमा छलफल गर्नेछौं ।’

क्यानडाका अटोमोटिभ पार्ट्स म्यानुफ्याक्चरर्स एसोसिएसनका अध्यक्ष फ्लाभियो वोल्पेले न्युयोर्क टाइम्ससँग भनेका छन्, ‘ट्रम्पले सायद यी पोस्टहरूमार्फत तीनै देशलाई वार्ताको टेबलमा ल्याउन खोजिरहेका छन् ।’ वोल्पेले क्यानडाले अमेरिकालाई आलुमुनियम, कार, युरेनियम र तेल आपूर्ति गर्ने बताएका छन् । यदि यी वस्तुहरूको मूल्य बढेमा चीनसँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने सवाल उठेको उनको तर्क छ ।

उता, मेक्सिकोले ट्रम्पको अभिव्यक्तिमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर, ट्रम्पले मेक्सिकोविरुद्ध पहिले पनि शुल्क लगाउने धम्की दिएका थिए । चुनाव प्रचारको अन्तिम दिनमा उनले मेक्सिकोबाट आयात हुने सबै सामानमा शतप्रतिशत शुल्क लगाउने धम्की दिएका थिए । मेक्सिकन अधिकारीहरूले पनि त्यसको प्रत्युत्तरमा शुल्क लगाउने तयारी गरेको बताएका थिए ।

रिपोर्टका अनुसार ट्रम्पको ‘ट्यारिफ युद्ध’ ले मेक्सिकोमा सर्वाधिक असर पार्न सक्छ । मेक्सिकोको झन्डै ८० प्रतिशत व्यापार अमेरिकामाथि निर्भर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP