सोमबार , अषोज २६, २०८३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास र विस्तार एवं संरक्षण गर्नुपर्ने बताएका छन् ।

नातिकाजी स्मृति समाजले शीतलनिवासमा आज आयोजना गरेको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सङ्गीतमा विभिन्न जातजातिका बाजा, भाका, गीत, सङ्गीतका आफ्नै परिवेश, मौलिक धुन, विशिष्ट शैली र महत्त्व रहेको र त्यसको जगमा नै नेपाली राष्ट्रिय सङ्गीतको विकास हुँदै आएको धारणा व्यक्त गरे ।

“सृजना राष्ट्रका सम्पदा, संस्कृति राष्ट्रका पहिचान र कलाकार राष्ट्रका अमूल्य निधि हुन्”, उनले भने, “कलाकार सिर्जना र संस्कृतिका संवाहक हुन्, कलाकारका साधनाबाट सिर्जित सृजनाले राष्ट्रको पहिचान स्थापित गर्नेगर्छ ।”

उनले नेपालको भौगोलिक विविधता र सांस्कृतिक विशिष्टता नै विश्वमा पृथक पहिचानका रुपमा रहेको र यहाँको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता विश्वमै नमुना रहेको उल्लेख गर्दै नेपाली समाजको विविधतालाई यिनै लोकसंस्कृति, गीत र सङ्गीतले एकढिक्का बनाउन सघाएको बताए ।

राष्ट्रपति पौडेलले नेपाली लोक भाका पछ्याउँदै नेपाली आधुनिक गीत सङ्गीतको सृजनामा नातिकाजीले पुर्‍याएको योगदान अतुलनीय रहेको स्मरण गरे । नेपाली गीत–सङ्गीतको क्षेत्रमा जीवनभर लाग्नुहुने स्रष्टालाई राज्यको तहबाटसमेत उचित महत्त्व दिँदै जानु नेपाली राष्ट्रिय हितकै विषयसमेत भएको उनले बताए ।

सो समारोहमा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बास्कोटाले यो सम्मानबाट कला क्षेत्रलाई थप उत्प्रेरणा मिलेको बताए । उनले स्रष्टाहरुका नाममा राज्यले पनि पुरस्कार स्थापना गरेर नवप्रतिभा तथा राष्ट्रका समग्र प्रतिभालाई प्रेरणा प्रदान गर्नुपर्ने सुझाव दिए ।

अध्यक्ष बास्कोटाले स्रष्टाहरुका सृजनाको सुरक्षा हुन नसकेको तथा मुलुकका स्रष्टाहरुले राम्रोसँग रोयल्टी पनि पाउन नसकेकाले यस विषयमा राम्रो कानुनको आवश्यकता रहेकामा पनि जोड दिए ।

सो समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान वरिष्ठ गीतकार आनन्द अधिकारी, वरिष्ठ वाद्यवादक केशव सुनाम, वरिष्ठ गीतकार भुषण खरेल, वरिष्ठ गीतकार सुनिल थापा, वरिष्ठ परम्परागत वाद्यवादक धर्म मुनिकार, वरिष्ठ गायक सुदेश शर्मा, वरिष्ठ वाद्यवादक कुमार सिंह र सुवर्ण लिम्बू, वरिष्ठ गीतकार राम भट्टराई र वसन्त वित्यासी थापालाई प्रदान गरिएको थियो ।

त्यस्तै, नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार गीतकार विजय शिवाकोटी, सङ्गीतकार राजनराज शिवाकोटी, गायक शिशिर योगी र बानिका प्रधानलाई प्रदान गरिएको थियो ।

त्यसैगरी, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार गायक सञ्जय टुम्रोक, गायिका रचना रिमाल, सङ्गीतकार शशिविक्रम थापा, गीत रेकर्डिष्ट प्रकाश मिश्रलाई तथा नातिकाजी राष्ट्रिय लोकसङ्गीत पुरस्कार लोकगायक अमृत खाती र नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार शान्ति प्रिया र कृष्ण भट्टराईलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP