
६ माघ, काठमाडौं । मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै तेस्रो जित हात पारेको छ । योसँगै मधेश अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।
२३२ रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा १ सय ७० रनमा अलआउट भयो । कर्णालीका युवा विकेटकिपर अर्जुन घर्तीले १ सय ५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए । दिनेश अधिकारीले ३३ बलमा २ चौका र ३ छक्कासहित ३३ रनको इनिङ खेले ।
एक समय कर्णाली २८.२ ओभरमा १०४–७ को अवस्थामा पुगेको थियो । आठौं विकेटका लागि दिनेश अधिकारी र अर्जुन घर्तीले ६१ रनको साझेदारी गर्दै कर्णालीको जितको आशा कायमै राखेका थिए । तर तीव्र गतिका बलर राजेश यादवको ४० औं ओभरको चौथो बलमा दिनेश आउट भएपछि कर्णालीको जितको सम्भावना लगभग सकिएको थियो । सट बलमा छक्का हान्न खोज्दा टप एज लागेर उनी मिडअफमा मयन यादवबाट क्याच हुन पुगेका थिए ।
अर्जुन अन्तिम विकेटको रुपमा लङअनमा पवन सरार्फबाट क्याच आउट भए । कर्णालीले कप्तान तथा प्रमुख ब्याटर रवीन्द्रजंग शाहीलाई एक रनमै गुमाएको थियो । तीव्र गतिका बलर राजेश यादवको बलमा रवीन्द्र एज लागेर फस्टस्लिपमा रञ्जित कुमारबाट क्याच आउट भएका थिए ।