शनिबार , भाद्र १३, २०८३

नयाँ सरकार गठन वा मध्यावधि निर्वाचन कुन कोर्समा राजनीति जान्छ भन्ने एकाध दिनमा टुंगो लाग्ने नेताहरुले बताएका छन् । उनीहरुकाअनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन सरकारको नेतृत्व लिन अग्रसर भए प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेछ । नभए माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ ।

देउवाको जवाफ कुर्दै प्रचण्ड

गठबन्धन सरकार गठनको प्रस्ताव राखेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति देउवामाथि दबाब बढाउँदै लगेका छन् । मंगलबार बूढानीलकण्ठ पुगेका उनले सरकारबारे निर्णय दिन देउवालाई आग्रह गरेका थिए । देउवाले जसपा नेताहरुसँग कुरा गरेर बुधबार रातिसम्म जानकारी गराउने बताएका छन् । प्रचण्ड देउवाको जवाफ पर्खिरहेका छन् । उनी निकट एक नेता भन्छन्, ‘हामी धेरै समय यसमा अल्झिरहन चाहँदैनौं ।’

कांग्रेस सांसद गगनकुमार थापा अधिकतम एक साताभित्र सरकारको विषय टुंग्याउनुपर्ने बताउँछन् । पर्सि २० गते बोलाइएको पार्टी केन्द्रीय कार्य समितिको बैठकबाट प्रधानमन्त्री ओलीको विकल्प खोज्ने निर्णय गर्नुपर्ने बताउँछन् । उनले भने, ‘सरकार बन्छ, बैकल्पिक सरकार दिऊँ । बन्दैन, बन्दैन भनौं ।’

माओवादी केन्द्रका एक नेताका अनुसार देउवा सरकार गठनका लागि सहमत भएमा समर्थन फिर्ता केही दिन रोकिनेछ । कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहमति जुटाएर समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैदिन गर्ने योजना छ ।

तर कांग्रेस सभापति देउवा कुनै कारण नयाँ सरकारको नेतृत्व लिन अग्रसर नभएमा माओवादीले भोलि नै बैठक राखेर सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ । त्यसो भएमा संविधानको धारा १०० को उपधारा (२) अनुसार प्रधानमन्त्री ओलीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ ।

सजिलो छैन जसपाको समर्थन जुटाउन

संसदमा एमालेको १२१ सांसद छन् । बहुमत जुटाउन एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई कांग्रेस, माओवादी केन्द्र वा जसपा मध्ये कुनैको साथ चाहिन्छ । अहिलेसम्मको अवस्थामा कांग्रेस र माओवादी केन्द्रले विश्वासको मत दिने सम्भावना छैन । त्यसैले प्रधानमन्त्री ओली ३२ सांसद भएको जसपाको समर्थन जुटाउन प्रयासरत छन् ।

तर जसपा स्वयंम कोसँग गठबन्धन गर्ने भन्नेमा विभाजित छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवसहित तत्कालीन समाजवादी पार्टीका सांसदहरु कुनै हालतमा प्रधानमन्त्री ओलीलाई साथ नदिने अडानमा छन् । यो मत राख्ने सांसदको संख्या २२ रहेको उनीहरुको दाबी छ ।

अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो भने प्रधानमन्त्री ओलीसँग सम्वादमा छन् ।यद्यपि, उनीहरुले पनि यही सरकारमा जाने प्रस्ताव पार्टीमा राखेका छैनन् । प्रधानमन्त्रीले सरकारमा आउन प्रस्ताव गरेको, तर आफूहरुले रेशम चौधरी लगायतका बन्दीहरुको रिहाई, मुद्दा फिर्ता र संविधान संशोधनबारे सहमति भए विचार गर्ने बताएको उनीहरुको भनाइ छ ।

अल्पमतको सरकार, त्यसपछि मध्यावधि चुनाव

नेताहरुका अनुसार कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन पनि नबन्ने र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत पनि नपाउने अवस्था बन्यो भने भने मुलुक फेरि मध्यावधि चुनावतिर जानेछ । किनकी संविधानको धारा १०० उपधारा (२) अनुसार विश्वासको मत लिन संसदमा जाँदा बहुमत प्राप्त गर्न सकेनन् भने प्रधानमन्त्री पदमुक्त हुनेछन् ।

त्यसपछि संविधानको धारा ७६ (३) अनुसार संसदको सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता ओलीकै नेतृत्वमा नयाँ सरकार बन्नेछ । यसरी बनेको सरकारले पनि ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

कांग्रेस, माओवादी केन्द्र वा जसपामध्ये कुनै एकले समर्थन नगर्दा विश्वासको मत पाउन सम्भव हुन्‍न । त्यसपछि सरकार गठनको प्रक्रिया संविधानको ७६(५) मा जान्छ, जसमा कुनै सांसदले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले प्राधनमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

पटकपटक संसदमा बहुमत नपुगिसकेको अवस्थामा कुनै एउटा व्यक्तिले बहुमत जुटाउन सम्भावना हुन्न र, प्रधानमन्त्री नियुक्त हुन नसकेका कारण संविधानका धारा ७६ (७) अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा हुन्छ । प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र अर्को निर्वाचन गरिसक्नुपर्ने भएकाले मंसिरमा मध्यावधि हुनसक्ने नेताहरुको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP