शुक्रबार , भाद्र १२, २०८३

आफ्नो मातृभूमि छाडेर जनजीविकाका लागि अन्य देशहरुमा कर्म गर्न गए पनि हिन्दु धर्मावलम्बीहरुले आफ्नो चाड पर्वहरु धुमधामसँग मनाउने गर्दे आएका छन् । विशेषतः अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरु यस मामिलामा अझ अगाडि देखिन्छन् ।

दशैं होस या तिहार, होली होस या तीज, चाडबाड मनाउने, सँस्कृतिको जगेर्ना र प्रवर्धन गर्ने कुरामा नेपालीहरु अरुभन्दा अगाडि नै छन् । यसैको उदाहरण बनेको छ, यही वर्ष अष्ट्रेलियाभरीका नेपाली समुदायले मनाएको होलीको खुशीयाली साटासाट कार्यक्रम ।

गत वर्ष कोरोना महामारीका कारण सामूहिक भेलामा प्रतिबन्ध लगाइएपछि साथीभाइहरुसँग खुलेर होली मनाउन नपाएका अष्ट्रेलियाका नेपालीहरु यस वर्ष भने धुमधाम र हर्षोल्लासका साथ हिन्दुहरुको महान चाड होली मनाएका छन् ।

होलीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आफ्नो मातृभूमिसँगको सास्कृतिक सम्बन्ध मजबुत बनाउन अष्ट्रेलियाका विभिन्न सहरहरुमा बसोबास गर्दै आएका नेपालीहरुले सद्भावका साथ यो वर्ष होली मनाए ।

नेपाली युवायुवतीहरु तथा बालबालिकाहरु सेतो रंगको टिसर्ट लगाएर अनुहारमा रातो, निलो, पहेँलोलगायतका रंग एक अर्कालाई लगाइदिएर होली पर्वको खुशीयाली साटासाट गरेको फोटोहरु सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्ती देख्न पाइयो ।

होलि पर्व रंग छर्किने र मनोरञ्जनका लागि मात्र मनाइने चाड नभइ मातृभूमिबाट टाढा रहेर पनि जन्मभूमिसँगको साँस्कृतिक सम्बन्ध कायम राख्ने एउटा गतिलो माध्यम पनि हो भन्ने सन्देश अष्ट्रेलियाका नेपालीहरुले दिए ।

अस्टेलियाका मुख्य सहरहरु सिड्नी, मेलबर्न, तास्मानियालगायतका अन्य सहरहरुमा नेपालीहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी यस वर्ष होली मनाएका थिए ।

अष्ट्रेलियाको रिजनल क्षेत्रमा होलीको रौनकता

भिसा प्रकृयाका कारण पछिल्लो समयमा अष्ट्रेलियाको ग्रामीण क्षेत्रहरुमा नेपालीहरुको उपस्थिति बाक्लिदै गएको छ ।

अष्ट्रेलियाका ग्रामीण क्षेत्रहरु मध्येको नेपालीहरुको मुख्य रोजाइ बनेको तास्मानियामा पनि यस वर्ष नेपालीहरु ठूलै संख्यामा सहभागी भएर साँस्कृतिक एकताको सन्देश दिए ।

विगतका वर्षहरुमा ५०/६० जना भेला भएर मनाइने होली यस वर्ष तास्मानियाको दोश्रो ठूलो सहर लन्चेस्टनमा करिब ३०० जना नेपालीहरु सहभागी भएर होलीको रंग साटासाट गरे ।

नेपाली सोसाइटी अफ नर्दन तास्मानियाले आयोजना गरेको होली कार्यक्रममा उपस्थित संख्या देखेर सोसाइटीका अध्यक्ष नवराज मुडवरी दंग परेका थिए ।

त्यहीमाथि, साना साना नेपाली बालबालिकाहरुको तथा हिमालयन रकफिल्ड व्याण्ड र स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुतिले रंग खेल्न आएका नेपालीहरुलाई अझै ऊर्जा थपेको थियो ।

नेपाली युवायुवतीहरु हातमा रंग लिएर एक अर्कालाई छ्यापाछ्याप गरिरहेको दृश्य देख्दा उपस्थित धेरैले आफू नेपालमै होली खेलेको जस्तो महसुस भएको बताइरहेका थिए ।

लन्चेस्टन मात्र होइन, अन्य ग्रामीण सहरहरुमा पनि नेपालीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी होली मनाएका थिए ।

स्कट मरिसनको होली शुभकामना

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले एक भिडियो सन्देशमार्फत अष्ट्रेलियामा बसोबास गर्ने हिन्दु धर्माबलम्बीहरुलाई होलीको शुभकामना दिएका थिए ।

कोरोना महामारीका कारण गत वर्ष होलीको उत्साहमा छाँया परेको भन्दै मरिसनले यो वर्ष त्यस्तो नभएको र अष्ट्रेलिया एक सुरक्षित स्थान भएको स्मरण गराएका थिए।

@onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP