मंगलबार , अषोज २७, २०८३

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार दिउँसो भएको भेटघाटले संसदमा केही समययता देखिएको गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । यद्यपि सत्तापक्ष र विपक्षका प्रमुख सचेतकहरु यति भेटवार्ताबाट गतिरोध अन्त्य भइहाल्ने कुरामा अझै विश्वस्त हुन सकेका छैनन् ।

तीन सातायता भएका प्रतिनिधिसभाले ‘बिजनेस’ अगाडि बढाउन नसक्ने र नयाँ ‘बिजनसश’ पनि नपाउने अवस्था सामना गरिरहेको बेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म भएको ‘वान टु वान’ भेटमा यही विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

‘संसदमा बिजनेस नभएको होइन, सरकारले बिजनेस नदिएको पनि होइन । तथापि संसदलाई गति दिने विषयमा समस्या थिए । ती विषयमै उहाँहरुबीच कुरा भएको छ’ थापाले भने ।

सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले पनि प्रधानमन्त्री र सभामुखबीच संसदमा विचाराधीन विधेयकहरुलाई अघि बढाउने र संसद सञ्चालनको समग्र विषयमा छलफल भएको बताए ।

‘उहाँहरुबीच संसदलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, जरुरी र महत्वपूर्ण विधेयकहरु अगाडि बढाउने विषयमा छलफल भएको छ’ न्यौपानेले भने ।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा हाल ३६ वटा विधेयक विचाराधीन छन् । केही जरुरी सार्वजनिक महत्वका प्रस्ताव पनि छन् । तर, प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु भएको एक महिना हुनलाग्दा समेत कानुन निर्माण प्रक्रियामा संसद प्रवेश गर्न सकेको छैन ।

सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्री ओली र सापकोटाबीच गएको भदौ दोस्रो साता यता औपचारिक भेट भएको थिएन ।

पुस ५ मा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि ओली र सापकोटाबीच पछिल्लो पटक देखिने गरी दुरी बढेको थियो । सापकोटाले विज्ञप्ति निकालेर संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए । सर्वोच्च अदालतमा पनि सभामुखका कानुन व्यवसायीले ओलीको कदमको विपक्षमा बहस गरेका थिए ।

११ फागुनमा सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना भयो । २३ फागुनदेखि प्रतिनिधिसभाको हिउँदो अधिवेशन शुरु भयो । तर, यो बीचमा बसेका पाँच वटा बैठक प्रभावकारी हुन सकेनन् ।

पहिलो बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसको नाराबाजीका बीच संवैधानिक परिषदसम्बन्धी अध्यादेश टेबल भयो । दोस्रो र तेस्रो बैठक सांसदहरुको निधनमा शोक प्रस्ताव पारितमै सीमित भयो । चौथो बैठकमा दलीय प्रतिनिधित्वको आधारमा संसदमा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका नेताहरुले सम्बोधन गरे ।

पाँचौं बैठकमा शून्य समय राखिएको थियो । शून्य समयमा सांसदहरुले समसामयिक राजनीतिक विषयमा र आफ्ना निर्वाचन क्षेत्रका समस्याहरु राखे । छैठौं बैठक १८ गते बस्दैछ ।

छैठौं बैठकको कार्यसूची तय हुनुअघि प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच यो भेट भएको हो ।

एक महिनाबीचमा जम्मा ५÷६ वटा बैठक बस्ने, संसदमा विचाराधीन विभिन्न विधेयकहरु अगाडि नबढ्ने, सरकारले संसदलाई नयाँ बिजनेशस पनि नदिने भइरहेको बेलामा भएको यो भेटलाई महत्वपूर्ण रुपमा लिएको संघीय संसद सचिवालयका अधिकारीहरु बताउँछन् ।

संसद सचिवालयका सूचना अधिकारी दशरथ धमला भन्छन्, ‘कार्यकापालिका प्रमुख र व्यवस्थपिकाका प्रमुखबीच भेट हुँदा सदन सञ्चालनमा मद्धत पुग्छ । यस्ता भेटले सकारात्मक भूमिका खेल्छ ।’

सभामुखले प्रधानमन्त्रीसंग भेटका लागि समय मागेको भन्ने समाचार सार्वजनिक भएको एक सातापछि उनीहरुबीच भेट भएको हो ।

प्रधानमन्त्री र सभामुख भेटले संसदमा देखिएको समन्वय अभाव र गतिहीन बनेको संसद गतिशील होला ? यो भेटलगत्तै संसद गतिशील भइहाल्छ भन्नेमा चाहिँ प्रमुख दलहरु नै आशंका व्यक्त गर्छन् ।

‘यो भेट पहिले नै हुनुपर्दथ्यो, ढिलो भयो र पनि भेट भयो’ सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, ‘हिउँदे अधिवेशनको पहिलो बैठकबाटै समन्वयको अभाव थियो । सभामुखले प्रधानमन्त्रीसंग समन्वयका लागि पहल गर्नुपर्दथ्यो । आज भेट भयो अब अब सौहार्दपूर्ण तरिकाले संसद चलोस् भन्ने हाम्रो चाहना हो ।’

तर, प्रधानमन्त्री र सभामुखको भेट हुनुले संसद गतिशिल भइहाल्छ भनेर विश्वास गर्न नसकिने बताउँछन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँड । प्रधानमन्त्री र सभामुखबीचको भेट सदनलाई गतिशील बनाउनमै केन्द्रित छ छैन अहिले भन्न नसकिने उनले बताए ।

‘आज प्रधानमन्त्रीसंगको भेटमा सभामुखले सदन सञ्चालनकै विषयमा कुरा गर्नुभयो होला । तर, त्यो भेट सदनलाई गतिशील बनाउनमै केन्द्रित छ छैन अहिले भन्न सकिन्न । के कुरा भएको छ सभामुखमार्फत जानकारीमा आउनेनैछ’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP