
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपाल आज यमनसँग भीड्दैछ ।
समूह एच अन्तर्गतको यो खेल काठमाडौंको दशरथ रंगशालामा बेलुकी ७ बजे हुनेछ ।फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान अघि छ । तर घरेलु मैदान र दर्शकका सामुन्ने यमनलाई पहिलो पटक हराउने नेपालको लक्ष्य छ ।
नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेको छ । तर नेपालले कुनै खेल जित्न सकेको छैन । सन् २०१७ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोकेको थियो, जुन नेपालको उत्कृष्ट प्रदर्शन हो ।
सोमबार प्रि–म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यमन विरुद्धको खेलका लागि तयार रहेको र जितका लागि खेल्ने बताएका थिए ।
यसैबीच नेपाल र यमनको खेल हेरिसकेपछि घरसम्म पुग्न दर्शकलाई निःशुल्क बसको व्यवस्था गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभिन्न रुटमा १५ वटा बसको व्यवस्था गरिएको जनाएको छ । बस चढ्न दर्शकहरुले टिकटको अर्धकट्टी देखाउनुपर्ने छ ।
सामान्यतया नेपालमा साँझको खेल ५ वा ५:३० बजे हुने गर्दछ । तर टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको आग्रहमा एन्फाले खेललाई साँझ ७ बजेका लागि सारेको हो । कार्यालय समय सकेर खेल हेर्न दर्शक आउन भनेर यसो गरिएको बताइएको छ ।