
काठमाडौं । एकदिवसीय विश्वकप २०२३ को उपाधिका लागि आज आयोजक भारत र पाँच पटकको विश्व च्याम्पियन अष्ट्रेलियाबीच खेल हुँदैछ ।खेल विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदान अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।
दुवै टोली दोस्रो पटक प्रतियोगिताको फाइनलमा भिड्दैछन् । २००३ मा भीड्दा अस्ट्रेलियाले १२५ रनले जित निकाल्दै उपाधि जितेको थियो ।
भारत चौथो पटक र अष्ट्रेलियाले आठौं पटक विश्वकपको फाइनल खेल्दैछ ।
यसअघि भारत सन् १९८३, २००३ र २०११ मा यस प्रतियोगिताको फाइनलमा पुगेको थियो । भारत एक दशक देखि उपाधिको खडेरी तोड्न चाहन्छ । भारतले पछिल्लोपटक २०१३ मा च्याम्पिन्स ट्रफीको उपाधी जितेको थियो । त्यसपछिका कुनैपपनि आइसिसीको उपाधि जितेको छैन ।अर्कोतर्फ अष्ट्रेलियाको टोली आठौं पटक विश्वकपको फाइनलमा पुगेको छ । टोलीले ७ मध्ये ५ फाइनल जितेको छ ।
अस्ट्रेलिया विगत २७ वर्षदेखि विश्वकपको फाइनलमा हारेको छैन। उसले पछिल्लो २४ वर्षमा सबै ४ वटा फाइनल जितेको छ । फाइनलमा अस्ट्रेलिया अन्तिम पटक सन् १९९६ मा श्रीलंकासँग पराजित भएको थियो ।
भारत र अस्ट्रेलिया जारी विश्वकपको पाँचौं लिग खेलमा पछिल्लो पटक आमनेसामने भएका थिए । भारतले ६ विकेटले जितेको थियो ।
भारत र अष्ट्रेलियाबीच हालसम्म कूल १५० ओडीआई खेलिएको छ । भारतले ५७ खेल जितेको छ भने अष्ट्रेलियाले ८३ खेल जितेको छ । १० खेल अनिर्णित रहेका छन् ।
भारतीय टोली विश्वकप २०२३ मा एउटा पनि खेल नहार्ने एकमात्र टोली हो। टोलीले लिग चरणका सबै नौ खेल जितेको थियो। भारतले अष्ट्रेलियालाई ६ विकेट, अफगानिस्तानलाई ८ विकेट, पाकिस्तानलाई ७ विकेट, बंगलादेशलाई ७ विकेट, न्यूजिल्याण्डलाई ४ विकेट, इङ्ल्यान्डलाई १०० रन, श्रीलंकालाई ३०२ रन, दक्षिण अफ्रिकालाई २४३ रन र नेदरल्याण्डलाई १६० रनले हराएको थियो ।
लगातार ९ जितपछि १८ अंकसहित शीर्ष स्थानमा रहेको टोली सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा पछिल्लो दुई उपविजेता न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै उपाधि जितेको हो ।
विश्वकपमा अस्ट्रेलियाको सुरुवात खराब रह्यो । टोली पहिलो खेलमा आयोजक भारतसँग ६ विकेटले पराजित भएको थियो । अर्को खेलमा टोली दक्षिण अफ्रिकासँग १३४ रनले पराजित भएको थियो ।
लगातार २ हारपछि कंगारु टोलीले पुनरागमन गर्दै त्यसपछिका ७ खेल जितेको छ । टोलीले श्रीलंकालाई ५ विकेटले, पाकिस्तानलाई ६२ रनले, नेदरल्याण्डलाई ३०९ रनले, न्यूजिल्याण्डलाई ५ रनले, इङ्ल्यान्डलाई ३३ रनले, अफगानिस्तानलाई ३ विकेटले र बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो । लगातार ७ जितपछि १४ अंकसहित टोली सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै टोली फाइनलमा प्रवेश गरेको थियो ।
अहमदाबादको पिच ब्याट्सम्यानका लागि उपयोगी छ, तर बलरलाई पनि मद्दत गर्छ। यहाँ स्पिनरहरूले साथ पाउँछन्। हालसम्म यो पिचमा भएका ५ मध्ये ४ खेलमा पछ्याउने टोलीले ३ र पहिले ब्याटिङ गर्ने टोलीले १ खेल जितेको छ ।हालसम्म खेलिएका ३० ओडिआईमध्ये १५ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ । पछ्याउने टोलीले १५ खेलमा जित हासिल गरेको छ ।
भारतले अहमदाबादमा १९ ओडिआई खेल्दा ११ मा जित निकालेको छ भने ८ मा हारेको छ । यहाँ पहिले ब्याटिङ गरेको टोलीले नौ खेलमध्ये पाँचमा जित र चार हार बेहोरेको छ। पछ्याउने क्रममा, १० खेल मध्ये, ६ जीत र ४ खेलमा हार ब्यहोरेको छ ।अष्ट्रेलियाले अहमदाबादमा अहिलेसम्म ६ ओडिआई खेलेको छ भने ४ जित र २ हारेको छ ।
पहिलो इनिङ्सको औसत कुल २४३ रन हो । यहाँ टिमको उच्चतम स्कोर ३६५ रन हो, जुन सन् २०१० मा भारत विरुद्ध दक्षिण अफ्रिकाले बनाएको थियो। सबैभन्दा कम स्कोर ८५ हो, जुन २००६ मा जिम्बाब्वेले वेस्ट इन्डिजविरुद्ध बनाएको थियो।