
काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान चार अंक भएपनि नेपाल नेटरनरेटका कारण शीर्षस्थानमा छ ।
मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा भेटाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे ।
मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाए । यस्तै आसिफ शेखले ३२ रनको योगदान गरे भने कप्तान रोहित पौडेल २ रनमा आउट भए । १ सय ६६ रनको लक्ष्य पछ्याउने क्रममा आक्रामक व्याटिङ गर्दै कुशल मल्लले २५ बलमा अर्धशतक पुरा गरे । उनले ६ छक्का र एक चौका हाने । कुशलको यो तेस्रो टी ट्वेन्टी अर्धशतक हो ।
सिंगापुर र मलेसिया भने बाहिरिएका छन् । ओमानले आजै बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो । बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।