मंगलबार , असार २३, २०८३

५ मंसिर, काठमाडौं । ट्यांकर भित्रै स्थायी फल्स च्याम्बर बनाएर पेट्रोल चोरी गर्ने गरेको पाइएको छ । भारतको बरौनीबाट काठमाडौंको थानकोट डिपोमा पेट्रोल ढुवानी गर्ने दुईवटा ट्यांकरले यसरी पेट्रोल चोरी गर्ने गरेको नयाँ तथ्य फेला परेको नेपाल आयल निगमले जनाएको छ ।

वीर बेताल आशिर्वाद कम्पनीको ना ७ ख ३९९६ र ना ७ ख २९९५ नम्बरका दुईवटा ट्यांकरमा मापदण्ड विपरीत थप अर्को च्याम्बर बनाएर चोरी गर्ने गरेको भेटिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए । ‘स्थायी रुपमै वेल्डिङ गरी ट्यांकरमा नयाँ च्याम्बर बनाएर चोरी गरेको भेटिएको छ, कारबाही अघि बढाएका छौं,’ पौडेलले भने ।

प्रारम्भिक अध्ययनमा एउटा ट्यांकरले एक पटकमा झण्डै एक लाख रुपैयाँ बराबरको एक हजार लिटर पेट्रोल चोरी गर्ने गरेको देखिएको उनको भनाइ छ । प्राविधिक बाहेकले पत्ता लगाउन नसक्ने गरी जडान भएको फल्स च्याम्बर मालिकको मिलोमतो बिना चालक मात्रैले गर्न नसक्ने निगमको अनुमान छ ।

पेट्रोल चोरी गर्ने सो ट्यांकरका मालिकहरु प्रज्ज्वलराज भट्ट, दीपेन्द्र बहादुर बम र सदेन व्यञ्जनकार हुन् । ट्यांकरका चालक तथा सहचालक फरार छन् ।

पेट्रोल चोरीमा संलग्न ट्यांकरलाई निगमले १५ लाख रूपैयाँ हर्जना तिराउने प्रारम्भिक निर्णय भएको र थप कारबाहीको लागि गुणस्तर तथा नापतौल विभागलाई पत्राचार गरिएको निगमका प्रवक्ता बिनित मणि उपाध्यायले जानकारी दिए ।

यसरी पत्ता लाग्यो चोरी

गत बुधबार बरौनीबाट २०–२० हजार पेट्रोल बोकेर दुईवटा ट्यांकर निगमको बागमती प्रदेशिक कार्यालय थानकोट आइपुगेका थिए । सधैंजस्तो गरी डिपोमा पेट्रोलको नाप लिँदा ट्यांकरमा पेट्रोल कम पाइएको थियो तर कारण फेला परेको थिएन ।

घटनाबारे डिपोले केन्द्रीय कार्यालयलाई जानकारी गराएपछि थप अनुसन्धान गर्न निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल निगमका प्राविधिक र गुणस्तर तथा नापतौल विभागका महानिर्देशकसहितको टोली लिएर बिहीबार डिपो पुगेका थिए ।

डिजिटल लकिङ र ताल्चा दुरुस्त रहनु तर ट्यांकरमा तेल कम हुनुको रहस्य पत्ता लगाउने क्रममा प्राविधिकले ट्यांकरमा भएको तेल खन्याएर च्याम्बर चेक जाँच गर्दा नयाँ फल्स च्याम्बर फेला परेको निगमले जनाएको छ ।

डिजिटल लकिङको लुप होल र पेट्रोल चोरीबारे गत भदौदेखि आक्रामक अनुसन्धान र कारबाही थालिएको निगमले जनाएको छ । चार महिना अवधिमा पेट्रोलियम पदार्थको मिसावट र चोरीका झण्डै एक दर्जन घटना फेला पारिएको र घटनामा संलग्नलाई पहिलोपटक कालोबजारी मुद्दा चलाइएको निगमले जनाएको छ । चोरी र मिसावटविरुद्धको अप्रेसनका लागि सुराकी परिचालन गरिएको निगमका कार्यकारी निर्देशक पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP