
काठमाडौं । फिफा विश्वकपको एसिया क्षेत्रको छनोट खेलको दोस्रो चरणको खेलतालिका सार्वजनिक भएको छ ।
समूह एचमा रहेको नेपालले पहिलो खेल कात्तिक ३० गते संयुक्त अरब इमिरेट्स (युएई) सँग दुबईमा खेल्नेछ ।त्यस्तै दोस्रो खेल यमनसँग मंसिर ५ गते दशरथ रंगशालामा हुनेछ । समूह एचमै रहेका यमन र बहराइनबीच ३० कात्तिकमा साउदी अरेबियामा प्रतिस्पर्धा हुनेछ । त्यस्तै ५ मंसिरमा बहराइन र युएईले बहराइनमा प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो चरणको छनोटमा लाओसलाई समग्रमा २–१ ले हराएर नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।लाओससँगको पहिलो लेग नेपालले २५ असोजमा दशरथ रंगशालामा १–१ को बराबरी खेलेको थियो । ३० असोजमा लाओसमा भएको दोस्रो लेगमा नेपाल १–० ले विजयी भएको थियो ।