मंगलबार , बैसाख २९, २०८३

नेपाल र भारतको सम्बन्ध छिमेकी देशले मात्र जोडिदैन । बहुसंख्यक हिन्दूधर्म भएका यी दुबै मुलुक सांस्कृतिक र धार्मिकरुपले पनि जोडिएका छन् ।

भगवान कृष्णका ग्वालाहरुको काठमाडौं उपत्यकामा शासन रहेको प्रसंगदेखि राम र सीताको जोडिले पनि नेपाल र भारतको सम्बन्धलाई जोडेको छ ।

केदारनाथ र पशुपतिनाथ मात्र होइन, धार्मिक र संस्कृतिले दुईदेशको फरक सम्बन्ध स्थापित गर्छ । यो सम्बन्धलाई विगार्न भारतीय सञ्चारमाध्यामहरु लालायित हुने गरेको तथ्य उनीहरुले सम्प्रेषण गर्ने केही विवादास्पद भनाइहरुले पुष्टि गर्छ ।

हिन्दू धर्ममा विष्णुको दशौं अवतार मानिएका सिद्धार्थ गौतमबुद्धको प्रसंग होस् वा योग साधनामा भारतले गर्ने दाबीहरुले पनि इतिहासलाई बंग्याइदिन खोज्छ ।

कहिले विवाद नभएको जानकी अर्थात सीताको जन्म भूमिबारे भारतीय सञ्चारमाध्याम पुनः भ्रम छर्न खोजेको छ । एउटा यस्तै प्रसंग भारतीय समाचार च्यानल ‘जी न्यूज’ले प्रसारण गरेर धार्मिक मान्यता र ऐतिहासिक आधारलाई बंग्याउने प्रयास भएको छ ।

नेपाल र भारत दुईदेशका लागि सांस्कृतिक र धार्मिक दुबैरुपमा सम्बन्ध जोगाइराखेको राम–जानकीको प्रसंगलाई भारतको एउटा समाचार च्यानल ‘जी न्यूज’ले तोडमोड गरेको छ ।

जानकी अर्थात सीताको जन्मस्थान हाल नेपालको जनकपुरमा पर्ने तथ्यलाई तोडमोड पार्ने प्रयास आत्मरतिमा रमाउनु बाहेक केही होइन ।

हरेक विवाह–पञ्चमीमा राम जन्मभूमि मानिएको अयोध्याबाट नेपालको जनकपुरमा जन्ती आउने संस्कृतिमाथिकै प्रहार गर्नु हरेक हिन्दूका लागि ठेस पु¥याउँने बाहेक केही होइन । नेपाल तपोभूमि हो, अर्थात योग/ध्यान र हिन्दू आस्थाका केन्द्रहरुको महत्वपूर्ण स्थल पनि हो ।

सीताको जन्मभूमिबारे भारतीय च्यानलको अफवाहः

भारतको समाचार च्यानल ‘जी न्यूज’मा सीताको जन्म विहार राज्यको सीतामणिमा भएको दाबी गरिएको छ । बिहार राज्यको स्थापना दिवसको अवसरमा जी न्यूजको डीएनए कार्यक्रममा सीता जन्मभूमिलाई लिएर गलत व्याख्या गरिएको छ । बुद्धको जन्मभएको स्थान पनि भारतमै रहेको दाबी गर्ने भारतीयहरुले बल्ल हिजो आज वोध गयामा ज्ञान प्राप्त गरेको बुझ्न थालेका छन् ।

तर, कहिले विवाद नभएको सीताको जन्मभूमिलाई लिएर भारतीयहरुले सांस्कृतिक र धार्मिक मान्यतामाथि नै हस्तक्षेप पुनः दोहो¥याएका छन् । भारतको विहार राज्यमा पर्ने सीतामणिमा सीताको जन्म भएको गलत व्याख्या गर्न थालिएको छ ।

उनीहरुको तर्क सीताको मन्दिर रहेको भन्ने मात्र छ । सीताको मन्दिर विश्वका धेरै मुलुकहरुमा छ । के अब ति सबैस्थानमा सीताको जन्म भएको दाबी गर्ने ? ! जुन आम भारतीय नागरिक र धर्म गुरुहरुकै मान्यताको खिलाप यो दाबीलाई लिन सकिन्छ ।

सीताको जन्म नेपालमा रहेको जनकपुरमा भएको भन्ने तथ्यलाई तोडमोड गर्ने प्रयास गरिंदैछ । आधारहिन तथ्य सार्वजनिक गर्ने भारतीय सञ्चारमाध्यामको यो चरित्र पुनः उदांगो भएको छ ।

सीताको जन्मस्थान नेपालको जनकपुरः

त्रेता युगमा सीता–राम यो भेगकै आदर्श मानिन्थे । अहिले पनि हिन्दू धर्मावलम्बीसँगै धेरैले सीता–रामलाई आदर्श मान्दछन् । सीताको जन्मस्थानको चर्चा अघि मिथिला राज्यको सन्दर्भ बुझ्न जरुरी हुन्छ ।

मिथिला जसलाई तिरहुत वा तिरभुक्तिको नामले समेत चिन्ने गरिन्छ । नेपालको दक्षिणपूर्वी तथा मध्य र भारतको विहारका केही भाग मिथिला क्षेत्र मानिन्छ । त्रेता युगमै मिथिला राज्यको राजधानी जनकपुर रहेको विभिन्न ग्रन्थहरुमा उल्लेख छ ।

राजा जनक बस्ने जनकपुरमा नै सीताको जन्म भएको मानिन्छ । शिरध्वज नामका राजा जनक, सीता र मिथिला राज्यको जनकपुरको जिकिर पद्य पुराण, वायु पुराण, ब्रम्हाण्ड पुराण लगायतका ग्रन्थहरुमा गरिएको छ ।

भगवान रामको वर्णन गरिएको रामायणमा महर्षी बाल्मिकीले पनि सीताको जन्म जनकपुरमै भएको उल्लेख गरेका छन् । उनको मात्र होइन, वशिष्ठ, अगस्त्य, कालिदासले पनि सीताको जन्म जनकपुरमै भएको उल्लेख गरेका छन् ।

हिन्दू ग्रन्थहरुमा उल्लेख भएको यो, प्रसंगलाई गलत सावित गर्न सकिदैन । जनकपुरमा रहेको जानकारी मन्दिर निर्माण सन् १८९५ मा सुरु गरिएको थियो । त्यसको १६ वर्षमा पूरा भएको थियो । यो मन्दिर निर्माणमा टीकमगढ़की महारानी कुमारी वृषभानुको प्रसंग उल्लेख छ ।

वृषभानुका सन्तान थिएनन्, उनले जनकपुर पुगेर राम–सीताको पूजा गर्दै सन्तान प्राप्त भए मन्दिर बनाउँने भाकल गरेकी थिइन । सन्तान भएपछि त्यसबेलाको कूल नौ लाख रुपैयाँ खर्च गरेर मन्दिर बनाएकी थिइन, त्यसैले जानकी मन्दिरलाई नौलखा पनि भनिन्छ ।

उनलाई सपनामा सीता माताको जन्मस्थानमा मन्दिर बनाउन सुझाएको किंवदन्ती रहेको छ ।

भारतीय प्रधानमन्त्री मोदीको आस्थाः

भारतमा अयोध्याको प्रसंग लामो समय विवादमा रह्यो । त्यहाँको सर्वोच्च अदालतले रामको जन्मस्थान अयोध्या भएको फैसला सुनाउँदै मन्दिर बनाउँन आदेश दियो । त्यही अयोध्याबाट हरेक विवाह पञ्चमीमा जनकपुरमा जन्ती आउँने प्रचलन छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर दर्शनका लागि आए । २०७५ साल बैशाख २८ गते उनी जनकपुरमा उत्रिएका थिए । उनले त्यसबेला पनि सीताको जन्मभूमि जनकपुर आइपुग्दा आफूलाई गर्व लागेको बताएका थिए । उनको यो भनाइले पनि सीताको जन्मभूमि जनकपुरप्रतिको आस्था बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP