शनिबार , बैसाख ६, २०८२

नेपाल र भारतको सम्बन्ध छिमेकी देशले मात्र जोडिदैन । बहुसंख्यक हिन्दूधर्म भएका यी दुबै मुलुक सांस्कृतिक र धार्मिकरुपले पनि जोडिएका छन् ।

भगवान कृष्णका ग्वालाहरुको काठमाडौं उपत्यकामा शासन रहेको प्रसंगदेखि राम र सीताको जोडिले पनि नेपाल र भारतको सम्बन्धलाई जोडेको छ ।

केदारनाथ र पशुपतिनाथ मात्र होइन, धार्मिक र संस्कृतिले दुईदेशको फरक सम्बन्ध स्थापित गर्छ । यो सम्बन्धलाई विगार्न भारतीय सञ्चारमाध्यामहरु लालायित हुने गरेको तथ्य उनीहरुले सम्प्रेषण गर्ने केही विवादास्पद भनाइहरुले पुष्टि गर्छ ।

हिन्दू धर्ममा विष्णुको दशौं अवतार मानिएका सिद्धार्थ गौतमबुद्धको प्रसंग होस् वा योग साधनामा भारतले गर्ने दाबीहरुले पनि इतिहासलाई बंग्याइदिन खोज्छ ।

कहिले विवाद नभएको जानकी अर्थात सीताको जन्म भूमिबारे भारतीय सञ्चारमाध्याम पुनः भ्रम छर्न खोजेको छ । एउटा यस्तै प्रसंग भारतीय समाचार च्यानल ‘जी न्यूज’ले प्रसारण गरेर धार्मिक मान्यता र ऐतिहासिक आधारलाई बंग्याउने प्रयास भएको छ ।

नेपाल र भारत दुईदेशका लागि सांस्कृतिक र धार्मिक दुबैरुपमा सम्बन्ध जोगाइराखेको राम–जानकीको प्रसंगलाई भारतको एउटा समाचार च्यानल ‘जी न्यूज’ले तोडमोड गरेको छ ।

जानकी अर्थात सीताको जन्मस्थान हाल नेपालको जनकपुरमा पर्ने तथ्यलाई तोडमोड पार्ने प्रयास आत्मरतिमा रमाउनु बाहेक केही होइन ।

हरेक विवाह–पञ्चमीमा राम जन्मभूमि मानिएको अयोध्याबाट नेपालको जनकपुरमा जन्ती आउने संस्कृतिमाथिकै प्रहार गर्नु हरेक हिन्दूका लागि ठेस पु¥याउँने बाहेक केही होइन । नेपाल तपोभूमि हो, अर्थात योग/ध्यान र हिन्दू आस्थाका केन्द्रहरुको महत्वपूर्ण स्थल पनि हो ।

सीताको जन्मभूमिबारे भारतीय च्यानलको अफवाहः

भारतको समाचार च्यानल ‘जी न्यूज’मा सीताको जन्म विहार राज्यको सीतामणिमा भएको दाबी गरिएको छ । बिहार राज्यको स्थापना दिवसको अवसरमा जी न्यूजको डीएनए कार्यक्रममा सीता जन्मभूमिलाई लिएर गलत व्याख्या गरिएको छ । बुद्धको जन्मभएको स्थान पनि भारतमै रहेको दाबी गर्ने भारतीयहरुले बल्ल हिजो आज वोध गयामा ज्ञान प्राप्त गरेको बुझ्न थालेका छन् ।

तर, कहिले विवाद नभएको सीताको जन्मभूमिलाई लिएर भारतीयहरुले सांस्कृतिक र धार्मिक मान्यतामाथि नै हस्तक्षेप पुनः दोहो¥याएका छन् । भारतको विहार राज्यमा पर्ने सीतामणिमा सीताको जन्म भएको गलत व्याख्या गर्न थालिएको छ ।

उनीहरुको तर्क सीताको मन्दिर रहेको भन्ने मात्र छ । सीताको मन्दिर विश्वका धेरै मुलुकहरुमा छ । के अब ति सबैस्थानमा सीताको जन्म भएको दाबी गर्ने ? ! जुन आम भारतीय नागरिक र धर्म गुरुहरुकै मान्यताको खिलाप यो दाबीलाई लिन सकिन्छ ।

सीताको जन्म नेपालमा रहेको जनकपुरमा भएको भन्ने तथ्यलाई तोडमोड गर्ने प्रयास गरिंदैछ । आधारहिन तथ्य सार्वजनिक गर्ने भारतीय सञ्चारमाध्यामको यो चरित्र पुनः उदांगो भएको छ ।

सीताको जन्मस्थान नेपालको जनकपुरः

त्रेता युगमा सीता–राम यो भेगकै आदर्श मानिन्थे । अहिले पनि हिन्दू धर्मावलम्बीसँगै धेरैले सीता–रामलाई आदर्श मान्दछन् । सीताको जन्मस्थानको चर्चा अघि मिथिला राज्यको सन्दर्भ बुझ्न जरुरी हुन्छ ।

मिथिला जसलाई तिरहुत वा तिरभुक्तिको नामले समेत चिन्ने गरिन्छ । नेपालको दक्षिणपूर्वी तथा मध्य र भारतको विहारका केही भाग मिथिला क्षेत्र मानिन्छ । त्रेता युगमै मिथिला राज्यको राजधानी जनकपुर रहेको विभिन्न ग्रन्थहरुमा उल्लेख छ ।

राजा जनक बस्ने जनकपुरमा नै सीताको जन्म भएको मानिन्छ । शिरध्वज नामका राजा जनक, सीता र मिथिला राज्यको जनकपुरको जिकिर पद्य पुराण, वायु पुराण, ब्रम्हाण्ड पुराण लगायतका ग्रन्थहरुमा गरिएको छ ।

भगवान रामको वर्णन गरिएको रामायणमा महर्षी बाल्मिकीले पनि सीताको जन्म जनकपुरमै भएको उल्लेख गरेका छन् । उनको मात्र होइन, वशिष्ठ, अगस्त्य, कालिदासले पनि सीताको जन्म जनकपुरमै भएको उल्लेख गरेका छन् ।

हिन्दू ग्रन्थहरुमा उल्लेख भएको यो, प्रसंगलाई गलत सावित गर्न सकिदैन । जनकपुरमा रहेको जानकारी मन्दिर निर्माण सन् १८९५ मा सुरु गरिएको थियो । त्यसको १६ वर्षमा पूरा भएको थियो । यो मन्दिर निर्माणमा टीकमगढ़की महारानी कुमारी वृषभानुको प्रसंग उल्लेख छ ।

वृषभानुका सन्तान थिएनन्, उनले जनकपुर पुगेर राम–सीताको पूजा गर्दै सन्तान प्राप्त भए मन्दिर बनाउँने भाकल गरेकी थिइन । सन्तान भएपछि त्यसबेलाको कूल नौ लाख रुपैयाँ खर्च गरेर मन्दिर बनाएकी थिइन, त्यसैले जानकी मन्दिरलाई नौलखा पनि भनिन्छ ।

उनलाई सपनामा सीता माताको जन्मस्थानमा मन्दिर बनाउन सुझाएको किंवदन्ती रहेको छ ।

भारतीय प्रधानमन्त्री मोदीको आस्थाः

भारतमा अयोध्याको प्रसंग लामो समय विवादमा रह्यो । त्यहाँको सर्वोच्च अदालतले रामको जन्मस्थान अयोध्या भएको फैसला सुनाउँदै मन्दिर बनाउँन आदेश दियो । त्यही अयोध्याबाट हरेक विवाह पञ्चमीमा जनकपुरमा जन्ती आउँने प्रचलन छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर दर्शनका लागि आए । २०७५ साल बैशाख २८ गते उनी जनकपुरमा उत्रिएका थिए । उनले त्यसबेला पनि सीताको जन्मभूमि जनकपुर आइपुग्दा आफूलाई गर्व लागेको बताएका थिए । उनको यो भनाइले पनि सीताको जन्मभूमि जनकपुरप्रतिको आस्था बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP