मंगलबार , बैसाख २९, २०८३

विक्रम गिरी-
हाङझाउ (चीन), ९ असोज :  १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन ।

सोमबारसम्मको खेल प्रदर्शनका आधारमा हालसम्म चीनले ३९ स्वर्ण २१ रजत र नौ कास्यसहित ६९ पदक प्राप्त गर्दै शीर्ष स्थान ओगटेको छ । यस्तै दक्षिण कोरिया १० स्वर्ण, १० रजत, १३ कास्यसहित ३३ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ । जापान पाँच स्वर्ण, १४ रजत र १२ कास्यका साथ ३१ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान चार स्वर्ण, ६ रजत र ६ कास्यसहित १४ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै हङकङ चाइना तीन स्वर्ण, चार रजत र सात कास्य सहित कुल १४ पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको छ ।

नेपालको निराशाजनक प्रदर्शन

चीनको हाङझाउमा जारी१९औँ एसियाली खेलकुदअन्तर्गत सोमबारसम्मको खेलमा नेपाली खेलाडीले निराशाजनक खेल प्रदर्शन गरेका छन् । टेनिसमा सोमबार नेपालका सबै खेलाडी पराजित भएका छन् । नेपाल चारवटै स्पर्धामा पराजित भएको हो । पुरुष एकलतर्फ पहिलो चरणको खेल जितेका नेपालका प्रदीप खड्का सोमबार जापानी खेलाडीसित सोझो सेटमा पराजित भए ।

पुरुष एकलतर्फ नै नेपालका अभिषेक बाँस्तोला हङकङसित पराजित भए । यसैगरी महिला डबल्समा नेपालकी अभिलाषा विष्ट र माहिका राणाको जोडी दक्षिण कोरियासित पराजित भए । मिक्स डबल्समा पनि नेपालका अभिषेक बाँस्तोला र अभिलाषा विष्टको जोडी इण्डोनेसियाका खेलाडीसित पराजित भयो ।

फेन्सिङमा पनि नेपाल पराजित 

एसियाली खेलकुदअन्तर्गत सोमबार फेन्सिङमा पनि नेपालका सबै खेलाडी पराजित भए । पुरुष साब्रे व्यक्तिगत स्पर्धामा नेपालका प्रयास योञ्जन पाँच वटै खेलमा पराजित भए । उनी काजकिस्तान, हङकङ, उज्वेकिस्तान, इरान र साउदी अरेबियाका खेलाडीसित पराजित भए । पुरुष साब्रे व्यक्तिगत स्पर्धामा नेपालका राजेन्द्र गजुरेल कुवेत, हङकङ, चीन, भियतनाम, दक्षिण कोरिया र जापानका खेलाडीसित पराजित भए ।

यस्तै महिला फोइल व्यक्तिगततर्फ नेपालकी मन्दिरा थापा हङकङ, जापान, जोर्डन, दक्षिण कोरिया, मकाउ र थाइल्यान्डका खेलाडीसित पराजित भइन् । यस्तै गोमा आचार्य दक्षिण कोरिया, थाइल्यान्ड, जापान, सिंगापुर, युएई र चीनका खेलाडीसित पराजित भइन् ।

रग्बीमा नेपाल जितबिहीन

रग्बीमा पहिलो पटक एसियाली खेलकुदमा सहभागी भएको नेपालको पुरुष टोली पराजित भयो । समूह सी मा रहेको नेपाल आइतबार यूएई, चीन र अफगानिस्तानसित पराजित भएको हो । सोमबार नेपाल फिलिपिन्स र थाइल्याण्डसित पनि पराजित भयोि ।

साइक्लिङमा पनि खराब प्रदर्शन 

सोमबार साइक्लिङ क्रस कन्ट्रीमा प्रतिस्पर्धा गरेका नेपालका दुवै खेलाडीले दौड पूरा गर्न सकेनन् । महिलातर्फ उषा खनाल र पुरुषतर्फ सुरज राना मगर सहभागी भएका थिए । दुवै जनाले निर्धारित दूरी पूरा गर्न सकेनन् । दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा भाग लिएका थिए । पुरुषतर्फ कूल १७ खेलाडी सहभागी थिए । महिलातर्फ १५ खेलाडी सहभागी थिए ।

बास्केटबलमा जापानसित पराजित

महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल सोमबार जापानसित पराजित भएको छ । समूह बी अन्तर्गत नेपाल जापानसँग २२–४ अकले पराजित भएको हो । श्रेया खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा गरिसा सिलवाल, मिना गुरुङ र रिन्छेन मोक्तान रहेका छन् । नेपालले अब बुधबार काजकिस्तानसित तथा शुक्रबार ताइपेईसित खेल्ने छ ।

बक्सिङमा रविन विजयी

पुरुष बक्सिङमा सोमबार नेपालका रविन थापाले ५१ किलो तौल समूहमा अन्तिम ३२ को खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरे । उनी अंकका आधारमा ४–१ ले विजयी भएका हुन् । रविनले अब प्रिक्वाटर फाइनलमा उत्तर कोरियाका खेलाडीसित खेल्नेछन् ।

तेक्वान्दोमा दुवै खेलाडी पराजित

तेक्वान्दोमा सोमबार नेपालका दुवै खेलाडी पराजित भएका छन् । तेक्वान्दोमा नेपालकी अन्जली तामाङले मिश्रित खेल प्रदर्शन गरिन् । महिला ४९ किलोमुनिको तौल समूहमा उनले पहिलो चरणमा कम्बोडियाकी खेलाडीलाई १०–४ अंकले पराजित गरिन् । प्रिक्वाटर फाइनलमा भने अन्जली थाइल्यान्डकी खेलाडसित पराजित भइन् । यस्तै पुरुष ५८ किलोमुनीको राउण्ड अफ ३२ मा नेपालका राहुल कुमाल साउदी अरेबियाका खेलाडसित पराजित भए ।

जुडोमा पनि नेपाल पराजित

जुडोमा पनि सोमबार नेपालका तीनवटै खेलाडी पराजित भए । नेपालका मनीता श्रेष्ठ, जंगबहादुर सारु र पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भएका थिए।

पुनम महिला ७५ किलोमुनिको तौल समूहमा मंगोलियाकी खेलाडीसत पराजित भइन् । महिला ५७ किलोमुनिको तौल समूहमा मनीता तुर्कमिनिस्तानकी खेलाडीसित पराजित भइन् । यस्तै पुरुष ८१ किलोमुनिको तौल समूहमा जंगबहादुर फिलिपिन्सका खेलाडीसत पराजित भए ।

उसुमा कमजोर प्रदर्शन

उसुमा पनि सोमबार नेपाली खेलाडीहरुको प्रदर्शन कमजोर रह्यो । थाउलोअन्तर्गत महिला चाङक्वानमा नेपालकी सुस्मिता तामाङ ११ खेलाडीमध्ये आठौं स्थानमा रहिन् । थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा १८ खेलाडीमा अन्तिममा रहे ।

पौडीमा नेपाली खेलाडी हिट चरणबाटै बाहिरिए 

पौडीमा पनि सोमबार नेपाली खेलाडी हिट चरणबाटै बाहिरिए । महिला २०० मिटर फ्रिस्टायलमा नेपालकी डुवाना लामा हिट चरणबाटै बाहिरिइन् । उनी  आठ खेलाडी सहभागि हिटमा अन्तिम स्थानमा रहिन् । यस्तै पुरुष ५० मिटर फ्रिस्टायलमा एलेक्स शाह पनि आफ्नो हिटमा अन्तिम स्थानमा रहँदै बाहिरिए ।-रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP