
काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ४– १ गोलले पराजित गर्यो । नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्सन र निराजन धामीले समान एक गोल गरे। खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल खान पुग्यो। बंगलादेशका लागि अदाम लायान रशिदले माल्दिभ्सका लागि सान्त्वना गोल गरे ।
खेलमा तनाव पनि भयो र दुवै टिम १० खेलाडिमा सीमित भए । नेपालले पहिलो गोल गरेपछि माल्दिभ्सले बल चलाए लगत्तै नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन लड्न पुगे र हसनलाई सुजनले कुमले धकेले । त्यसपछि लडेका हसन सुजनप्रति आक्रामक भए ।त्यसपछि रेफ्रीले असिस्टेन्ट रेफ्रीसँग सल्लाह गरेर दुवै खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।
रातो कार्ड पाएपछि सुजन रुँदै मैदान छोडेका थिए । समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्। सेमिफाइनलमा नेपालले भारत र भुटानबीच एक टोलीसँग खेल्नेछ। आजै हुने समूह बीको अन्तिम खेलमा भारत र भुटान भिड्दैछन्।