मंगलबार , बैसाख २९, २०८३

लामो समयअघि निजीकरण भएका केही सरकारी उद्योगहरु पुनः सरकारले नै फिर्ता लिनुपर्ने सुझाव एउटा अध्ययन प्रतिवेदनले दिएको छ । रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले उद्देश्यअनुसार सञ्चालन नभएका उद्योगहरु सरकारले नै फिर्ता लिएर सञ्चालन गर्नुपर्ने सुझाव दिएको हो ।

अध्ययन समितिका संयोजक तथा पूर्वसञ्चार सचिव दीपक सुवेदी भन्छन्, ‘यसमा भृकुटी कागज कारखाना र हरिसिद्धि ईंटा टायल कारखाना जस्ता उद्योग पर्दछन् । यिनीहरु जुन प्रयोजनका लागि निजीकरण भएका थिए, सो अनुसार सञ्चालन भएनन् । व्यावसायिक हिसावले काम गरेनन्, जग्गा बेचेर राफसाफ गर्ने उद्देश्यले काम गरेको देखिएको छ । यसकारण ती उद्योगहरुको जग्गा सरकारले नै फिर्ता ल्याउनुपर्छ भन्ने हाम्रो सुझाव हो ।’

भृकुटी कागज उद्योग २८ वर्षअघि निजीकरण भएको थियो । नवलपरासीको गैँडाकोटमा कागज उत्पादन गरी स्वदेश तथा विदेशमा बिक्री वितरण गर्ने भन्दै स्थापना भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राज्यको दायित्व निजी क्षेत्रलाई सार्दै जाने नीति अनुरुप भृकुटी कागज कारखानालाई २०४९ सालमा गोल्छा अर्गनाइजेसन, काभ्रा समूह र कन्क्राफ्टलाई सबै जमिनसहित सम्पूर्ण संरचना निजीकरणको सुरुवात गरेका थिए ।

चीन सरकारको सहयोगमा २०४२ यो कागज कारखानाको स्थापना भएको हो । निजीकरणपछि गोल्छा समूहले उद्योग चलाउँदै आएका थियो । भृकुटी कागज कारखानाका मुख्य सञ्चालक दिवाकर गोल्छा हुन् । ६० बिगाहा जमिनसहित तत्कालीन अवस्थामा दैनिक ८ टन कागज उत्पादन गर्ने कारखाना अहिले मृत छ ।

जुन उद्देश्यका लागि निजीकरण गरिएको हो त्यसको विपरीत जान दिनुहुँदैन भन्ने समितिको सिफारिस छ । निजीकरण भएर उद्देश्यअनुसार नै सञ्चालन भएकाहरुको चाहिँ व्यवस्थापनमा सुधार गरेर नाफामा जान सकिने सुझाव समितिको छ ।

यता, उदयपुर सिमेन्ट, हेटौंडा सिमेन्टलाई एकीकरण गरेर एउटै व्यवस्थापनले दुईवटा संस्था चलाएर सरकारी खर्च घटाउन सकिने सम्भावना देखाएको छ । उद्योगको अवस्थाको विश्लेषण सञ्चयकोषका पूर्व सिइओ डा. कृष्णप्रसाद आचार्य र राष्ट्र बैंकबाट रिटायर्ड भएका डा. गोपाल भट्टले गरेका थिए ।

उद्योग मन्त्रालय संस्थान महाशाखाका यज्ञराज कोइराला प्रतिवेदन प्राप्त भएको र त्यसलाई छलफल गरेर कार्यान्वयनमा लैजाने बताउँछन् । समस्या समाधान र वैकल्पिक प्रयोगबारे दिइएको सुझाव अध्ययन पश्चात कार्यान्वयनमा लैजाने उनको भनाइ छ । उद्योगहरुको अवस्था कस्तो छ भनेर थाहा पाउन अध्ययन गरिएको र बन्द भएका उद्योगलाई के गर्ने भन्ने आधार प्रतिवेदनले दिएको उनको बुझाइ छ ।

सरकारले निजी तथा सरकारी रुग्ण उद्योग समस्या र सञ्चालन उपायबारे मोडालिटीसहितको अध्ययन प्रतिवेदन पेश गर्न पूर्वसञ्चार सचिव दीपक सुवेदीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सो कार्यदलमा अन्य पाँच सदस्य पनि छन् । कार्यदलले उद्योग मन्त्रालयलाई अध्ययन प्रतिवेदन बुझाइ सकेको छ ।

क्षमता भन्दा कम उत्पादन गर्दा खर्च धान्नै सकस

संस्थानहरूले आफूले उत्पादन गर्ने क्षमताभन्दा कम उत्पादन गर्दा कार्यालय खर्च धान्नै नपुगेको अध्ययनमा भनिएको छ । गोरखकाली टायर उद्योगले ६६२ रोपनी जग्गा गोरखामा ओगटेको छ । त्यसलाई एउटा औद्योगिक ग्रामकै रुपमा चलाउन सकिने अध्ययनको सुझाव छ ।

अहिले रेडियल टायर (ट्यूवलेस टायर) को प्रविधि आइसकेका बेला गोरखकालीले ट्यूववाला टायर उत्पादन गर्छ । यसमा प्रविधि परिवर्तन गर्नुपर्ने खाँचो देखिएको छ । अध्ययनका अनुसार ३ सय थान टायर उत्पादन गरेर कर्मचारीदेखि व्यवस्थापनसम्मको सबै खर्च धान्न सकिँदैन । कम्तिमा पनि भारत र चीनको उत्पादन, बजार र गुणस्तरलाई अध्ययन गरेर मात्र उत्पादन शुरु ग¥यो भने नाफामा चल्न सक्ने भनिएको छ । गोरखकालीमा नयाँ प्रविधि जडान गरेर साल्ट ट्रेडिङ कर्पोरेसनलाई सञ्चालनको जिम्मा दिने अथवा आफैंले नयाँ ढङ्गबाट सञ्चालन गर्न सकिने सुझाव छ ।

संस्थानहरु के कति कारणले डुबे अथवा चल्न सकेनन्, सोबारे सरकारले गम्भीर भएर अध्ययन गर्नुपर्ने समितिको सुझाव छ । सबै सरकारी उद्योगमा प्रविधि, बजार जस्ता विषयको अनुसन्धान नै नगरी जागिर खाने प्रवृत्ति मात्र देखिएको भन्दै समितिले अनुसन्धान, प्रविधि सबै कुरालाई ध्यान पु-याए मात्र नाफा गर्न सकिने भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP