शुक्रबार , भाद्र १२, २०८३

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरु यसको मर्म अनुरुप नचलेको भन्दै नियमन आवश्यक रहेको बताएका छन्।
सोमबार सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामुदायिक रेडियोहरु सामाजिक रुपान्तरणको नभइ राजनीतिक पार्टीको प्रतिस्पर्धाको निम्ति स्थापना भइरहेको भन्दै यसको नियमन गर्नु आवश्यक रहेको बताएका हुन्।

सामुदायिक रेडियोहरु समुदायको निम्ति भन्दा पनि पार्टी र नेताहरुको चुनावी प्रचार प्रसारको माध्यम बनेकाले विकृति, विसंगति र अराजक शैलीलाई नियन्त्रण गर्नका लागि नियमन आवश्यक रहेको उनको भनाइ छ।

उनले भने, ‘सामाजिक रुपान्तरणको निम्ति भन्दाखेरी पनि राजनीतिक पार्टीको प्रतिस्पर्धाको निम्ति, राजनीतिक पार्टीहरुमा पनि ब्यक्तिहरुको आफ्नो चुनाव प्रचारको, व्यक्ति प्रचारको, पार्टीको प्रचारको निम्ति प्रतिस्पर्धाबाट रेडियो धेरै जन्मिएको त होइन? यी रेडियोहरुको जन्म कुन उद्देश्यबाट भएको थियो, कसरी स्थापना भएको थियो र अहिले रेडियोको प्रतिस्पर्धा किन भइरहेको छ र रेडियोको फ्रिक्वेन्सी दिनै सकिँदैन, जसले साँच्चै रेडियो सञ्चालन गर्न खोजिरहेको छ उसले फ्रिक्वेन्सी नपाउने, जसले फ्रिक्वेन्सी लिएको छ त्यो रेडियो चाहीँ सामुदायिक रेडियोको आचारसंहिता, त्यसको नीति अनुसार चलेको छ कि छैन त्यो एकपटक फेरिपनि हामीले समिक्षा गर्ने कि नगर्ने? रेडियोको स्थापना र उद्देश्य अनुरुप छ कि छैन त्यो कुरोको पनि एकपटक समिक्षा गरौँ। यसको उद्देश्यमा यसको नीतिको मर्म विपरित कहीँ रेडियो सञ्चालन भइरहेको छ र रेडियो जन्म भएको छ भनेपनि यसप्रति हामीले यसलाई नियमन गर्ने को?’

सरकारले सामुदायिक रेडियोको नियमन गर्दा विरोध हुने भन्दै उनले सामुदायिक रेडियो प्रसारक संघलाई सामुदायिक रेडियोहरुको नियमन गर्न आग्रह गरे।

‘सरकारले नियमन गर्दा त विरोध भैहाल्न सक्छ। यसको निम्ति सामुदायिक रेडियो प्रशारक संघले नै आफैँले आफँैलाई कसरी व्यवस्थित गर्ने? आचार संहिता निर्माण गर्न सकुन्। आफूहरुको बिचमा यसले दिइरहेको नकारात्मक शन्देश, समाजमा दिइरहेको विकृति, विसंगति र अराजक शैलीहरु प्रति कसरी यसलाई नियन्त्रण गर्ने, अकोरावले आफ्नै आचार संहिता बनाएर मर्यादित बनाउने, जिम्मेवार बनाउने, गरिमालाई उच्च बनाउने काममा तपाइहरु लाग्नुस्’ उनले भने।

मन्त्री गुरुङले सामुदायिक रेडियोहरुले आफुले उत्पादन गर्ने समाचार तथा कन्टेन्टहरुको विषयमा पनि नीतिगत रुपमा बहस गर्नुपर्ने बताए। सामुदायिक रेडियोको मर्म र भावना अनुरुपको उत्पादन गर्ने एजेण्डा सामुदायिक रेडियोको हुनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘सामुदायिक रेडियोको अब कन्टेन्ट कस्तो बनाउने भन्ने कुरो तपाइहरुको मुद्दा हुनुपर्दैन? जसले जे समाचार उत्पादन गरेपनि, जे गरेपनि, जे समाचार सम्प्रेषण गरेपनि हुने? अनि कन्टेन्ट कस्तो हुनुपर्छ? सामुदायिक रेडियोले आजको प्रस्तुतिमा तपाईंहरुको नीतिगत रुपमा पनि आउनुपर्ने विषय हो। समाचार उत्पादन कस्तो हुनुपर्छ? समाज रुपान्तरणका लागि, सामुदायिक रेडियोको निम्ति, समाचार उत्पादनको कन्टेन्टको एजेण्डा बनाउनुपर्ने। अनि न सामुदायिक रेडियोको मर्म, भावना अनुसार समाचार उत्पादन हुनसक्छ।’

मन्त्री गुरुङले मन्त्रालयको फ्रिक्वेन्सी समितिले राष्ट्रिय फ्रिक्वेन्सी स्ट्राटेजी प्लान बनाउने निर्णय गरेको पनि जानकारी दिए। केही समयभित्रै मन्त्रालयले सेवाग्राहीको हितमा गर्ने सम्पूर्ण कामहरु अनलाइनबाटै गर्न सकिने व्यवस्था गर्न लागेको पनि उनले बताए। सामुदायिक रेडियो प्रशारक संघका देशभरका ३०० वटाभन्दा बढी सामुदायिक रेडियोहरु आवद्ध रहेको छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP