मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । फिल्म ‘एक भगवत् गीता’लाई लिएर यतिबेला विवाद चर्किएको छ । भदौ २९ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

विपिन कार्की, सुहाना थापा, धीरज मगर लगायतका कलाकार यसमा छन् । फिल्मलाई लिएर भइरहेको विवादले फिल्म क्षेत्र तरंगित बनेको छ । विवाद समाधानमा बोल्ड निर्णय गर्न फिल्मकर्मी र अध्येताले बोर्ड अध्यक्ष भुवन केसीलाई दबाब दिइरहेका छन् ।

बिहीबार बोर्डमा तनावको माहोल यतिबेला बन्यो, जहाँ फिल्म निर्माता र धार्मिक संघसंस्था आरोप-प्रत्यारोपमा उत्रिए । निर्माता सुनिलकुमार थापाले बोर्डमा प्रेसमिट गर्दै भक्कानिए भने हिन्दु धर्मसँग सम्बन्धित १३ संघसंस्थाका प्रतिनिधिले फिल्मको शीर्षक परिवर्तन नभईकन फिल्म चल्न नदिने अडान राखे ।

यो विवादको बीच चलचित्र विकास बोर्डले तत्काललाई सेन्सर सिफारिस दिन अस्वीकार गरेको छ । जसको कारण ‘एक भगवत् गीता’को सेन्सरलाई लिएर अन्योलता छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डलाई पत्र लेख्दै विवादलाई सकेसम्म त्यहीं मिलाउन निर्देशन दिंदै पत्र काटेकाले बोर्ड थप दबाबमा देखिन्छ । बोर्ड प्रवक्ता केएल बुढाथोकीले भविष्यमा नजीर स्थापना हुने भएकाले सोही पक्षलाई ख्याल राखेर निर्णय हुने बताएका छन् ।

विवादको कारण के हो ?

छायांकनको बेलादेखि नै शीर्षकलाई विवाद सुरु भएको थियो । त्यतिबेला केही धार्मिक संस्थाले शीर्षक परिवर्तनको माग राख्दै बोर्डमा उजुरी दिएका थिए । सुरुमा फिल्मको नाम ‘भागवद् गीता’ थियो । उक्त उजुरीपछि निर्माताले नाममा केही परिवर्तन गर्दै ‘भागवत् गीता’ राखे । विवाद र उजुरीको क्रम रोकिएन । त्यसपछि निर्माताले शीर्षक चेन्ज गरेर ‘एक भगवत् गीता’ राखे । यति हुँदासम्म पनि धार्मिक संघसंस्था सहमत भएनन् ।

निर्माताले पनि शीर्षकमा ड्यास थपेर ‘एक भागवत्-गीता’ प्रस्ताव गरेका छन् । साथै, ती धार्मिक संस्थाले फिल्ममा बालक र बालिकाको प्रेम कथा भएकाले सो फिल्म हेर्ने दर्शकमा नकारात्मक सन्देश जाने तर्क उनीहरुको छ ।

धार्मिक संस्थाको माग के हो ?

बोर्डले केही दिनअघि दुवै पक्षलाई छलफलमा बोलाएर सहमति जुटाउने प्रयास गर्‍यो । निर्माताले कथाको सार पनि ती संघ-संस्थालाई पेश गरे । यसपछि विवाद मत्थर हुने आशा राखिए पनि धार्मिक संस्था झन् आक्रोशित देखिए । उनीहरुले फिल्मको शीर्षक नै परिवर्तन गर्नुपर्ने बटमलाइन राखे । यही माग राखेर उनीहरु बिहीबार बोर्डमा पुगेका थिए । विवाद चर्किएपछि बोर्डले फिल्मलाई तत्काल सेन्सर सिफारिस दिन मानेन । यसका लागि बोर्डले शुक्रबार ४ बजेसम्मको समय मागेको छ । बोर्डको बैठकले यसबारे निर्णय गर्ने अध्यक्ष भुवन केसीको भनाइ छ ।

निर्माताको भनाइ के छ ?

निर्माता सुनिलकुमार थापा फिल्मको शीर्षक र कथावस्तुले सनातन धर्ममा आँच नआउने बताउँछन् । आफूहरुले पात्रको नामलाई लिएर शीर्षक तय गरेको र फिल्मले लभस्टोरी कथा पेश गर्ने उनको भनाइ छ । निर्देशक झरना थापा आफूहरुले धार्मिक फिल्म नबनाएर लैंगिक अल्पसंख्यकको कथावस्तुमा लभस्टोरी फिल्म बनाएको बताउँछिन् । फिल्मको शीर्षकअनुसार धर्मको कथावस्तुमा फिल्म नबनाएको उनीहरुको भनाइ छ ।

बोर्डले सिफारिस किन दिएन ?

सञ्चार मन्त्रालयको पत्रपछि चलचित्र विकास बोर्ड दबाबमा परेको देखिन्छ । अनलाइनखबरसँग कुरा गर्दै सेन्सर बोर्डका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले यो विवादलाई सकेसम्म मिलाउनका लागि आफूहरुले बोर्डलाई पत्राचार गरेको बताए । बोर्डका सदस्य सचिव विशाल सापकोटाले पनि मन्त्रालयबाट आफूहरुलाई विवादलाई मिलाउन निर्देशन आएको बताएका थिए ।

एकातिर धार्मिक संघसंस्थालाई चित्त बुझाउनुपर्ने र अर्कोतिर फिल्मको अभिभावक संस्थाको उत्तरदायित्व बहनको सन्तुलन मिलाउनुपर्ने दबाब बोर्डमाथि देखिन्छ । बोर्ड प्रवक्ता बुढाथोकी नजीर स्थापना हुने गरेर आफूहरुले निर्णय गर्ने बताउँछन् ।

समीक्षक र फिल्मकर्मी के भन्छन् ?

फिल्म समीक्षक यज्ञशको भनाइमा कानुनी राज्य भनेको हरेकले निर्णय गर्ने होइन । कानुनले तोकेको निकाय र अधिकारीले मात्र निर्णय गर्ने र त्यसमा चित्त नबुझ्नेले कानुनी उपचारमा जान पाउने हक रहेको उनी बताउँछन् । उनी लेख्छन्, ‘सिनेमा दर्शकलाई देखाउन लायक छ कि छैन भनेर जाँच गर्ने भनेर सेन्सर बोर्डलाई जिम्मा दिएपछि त्यसमा थप कुनै पक्षको भूमिका हुँदैन । सिनेमाको चरित्रले व्यक्तिलाई प्रतिनिधित्व गर्छ, समुदायलाई होइन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP