
निकै खराब शुरुवात गरेपनि ईशन किशन र हार्दिक पान्ड्याले भारतलाई सम्हाल्दै पाकिस्तान समक्ष सम्मानजनक लक्ष्य पेश गर्ने मजबुत र निर्णायक आधार बनाए । तर उसले ५० ओभर पुरै खेल्न सकेन् । वर्षाले दुई पटक बाधा उत्पन्न गरेको खेलमा भारतले निकै खराब शुरुवात गर्यो । रोहित शर्मा, विराट कोहलीलाई २७ रन भित्र गुमाएको भारतले थप ३९ रन जोड्दा थप दुई विकेट गुमायो । १४.१ ओभरमा ६६-४ को अवस्थामा पुगेको भारतलाई ईशन किशन र हार्दिक पान्ड्याले सम्हाले ।
पाल्लेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा किसन र पाण्ड्याले पाँचौ विकेटका लागि १३८ रनको साझेदारी गरे । पाण्ड्याले ९० बलमा सात चौका र एक छक्काको मद्दतले ८७ रन बनाए । त्यस्तै किसन ८० बलमा ९ चौका र २ छक्कासहित ८२ रन बनाएर आउट भए । पाण्ड्या आफ्नो करियरको पहिलो ओडिआई शतक बनाउन बाट चुके । यस्तै भारतका लागि जसप्रित बुमराहले १६, रोहित शर्मा ११, शुभमन गिल १०, विराट कोहली ४ र श्रेयस ऐर १४ रनमा आउट भए । पाण्ड्या र किशनको रनपछि भारतको खातामा सबैभन्दा धेरै अतिरिक्त २० रन रह्यो ।
टस हारेर बलिंग गरेको पाकिस्तानले निकै उत्कृष्ट शुरुवात गरेको थियो । शाहिन शा अफ्रिदीले रोहित र विराटलाई आउट गरेर निकै दबाब सिर्जना गरेका थिए । त्यसपछि अरु ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । शाहिन शा अफ्रिदी, हरिस रौफ र नशीम शाको आक्रमण सामू भारत निकै दबाबमा परेको थियो । तर पाण्ड्या र किशनले दबाब तोड्दै रन निकाले । उनीहरु दुवै जना आउट भएपछि भने फेरि पाकिस्तान हावी भयो ।
अफ्रिदीले पाण्ड्या र रौफले किशनलाई शिकार बनाए । पाकिस्तानका लागि अफ्रिदीले १० ओभर पुरै फालेर ३५ रन दिँदै ४, नसिम शाहले ८ ओभर ५ बल फाल्दै ३६ रन दिएर तीन तथा हरिस रौफले नौ ओभरमा ५८ रन दिएर तीन विकेट लिए । किफायती बलिंग गरे पनि शुरुमा विकेट लिन नसककेका नसिम शाले अन्त्यतिर तीन विकेट चट्काए भने शुरुमा विकेट लिँदै रन रोकेका रौफले भने पछि रन खाए । यस्तै शदाव खानले ९ ओभरमा ५७, मोहम्मद नवाजले ८ ओभरमा ५५ र आगा सलमानले ४ ओभरमा २१ रन दिए । तीनै जनाले विकेट लिन सकेनन् ।