
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता आज देखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले एकदिवसीय वरियताको पहिलो नम्बरमा रहेको पाकिस्तानसँग भिडन्त गर्दैछ । नेपाली समय अनुसार आज दिउँसो सवा तीन बजे खेल शुरु हुनेछ ।
एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो । एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ ।
नेपालको तुलनामा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै लामो इतिहास बोकेको पाकिस्तान शक्तिशाली टेस्ट राष्ट्र पनि हो । एसिया कप सुरु हुनुभन्दा केहीअघि मात्र पाकिस्तान आईसीसी एकदिवसीय वरियताको पहिलो स्थानमा उक्लिएको छ ।
नेपाल भने आईसीसी एकदिवसीय वरियताको १५औं स्थानमा छ । यसपटक एसिया कपमा सहभागी ६ राष्ट्रमध्ये नेपाल सबैभन्दा तल्लो वरियतामा रहेको छ ।