मंगलबार , अषोज २७, २०८३

काठमाडौँ । भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग पहिलो पटक एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको कप्तान रोहित पौडेन नेतृत्वको नेपाली टोली मंगलबार राति पाकिस्तान प्रस्थान गर्दैछ । एसिया कपको अन्तिम तयारी आयोजक राष्ट्र पाकिस्तानमै गर्ने योजनासहित यात्रामा निस्कने नेपाली टोलीमा प्रभावशाली स्पिनर सन्दीप लामिछाने भने हुने छैनन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले करिब एक साताअघि एसिया कपका लागि घोषणा गरेको १७ सदस्यीय टोलीमा भने सन्दीपलाई पनि समेटिएको छ । टोलीको विदाइ गर्न मंगलबार आयोजित कार्यक्रममा नेपाली टोलीका व्यवस्थापक प्रदीप मजगैयाले सन्दीप स्वास्थ्य समस्याका कारण तत्काल पाकिस्तान नजाने जानकारी दिए ।

‘नेपाली टोली आज राति पाकिस्तान प्रस्थान गर्नेछ तर, स्वास्थ्य समस्याका कारण सन्दीप अहिले हामीसँग हुने छैनन् । हामीले करिब एक साता पाकिस्तानमा एसिया कपको तयारी गर्नेछौं । अवस्था अनुकुल भए सन्दीप एसिया कप खेल्न हामीसँगै हुनेछन् । क्यानले सक्दो प्रयास गरिरहेको छ,’ दाङ जिल्ला क्रिकेट संघको अध्यक्षसमेत रहेका मजगैयाले भने ।

कस्तो स्वास्थ्य समस्या ? सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा मजगैयाले तत्काल कुनै स्पष्ट जवाफ दिएनन् । उनले भने, ‘ज्वरो पनि पनि हुन सक्छ । अथवा अरु कुनै समस्या पनि हुन सक्छ । तर, हामी चाहन्छौं एसिया कपमा सन्दीप हामीसँगै हुनुपर्छ । यसका लागि क्यानले सक्दो प्रयास पनि गरिरहेको छ ।’

स्पष्ट छ, आफूमाथि लागेको मुद्दाको अन्तिम निर्णय आउन समय लागेकाले उनी एसिया कपजस्तो महत्त्वपूर्ण प्रतियोगितामा टोलीका अन्य सदस्यहरुसँग पाकिस्तान उड्न सकेनन् । यो कुरा क्यानलाई पनि राम्रो जानकारी छ । तर, नेपाली क्रिकेटको नेतृत्वदायी निकाय क्यान भन्छ, ‘स्वास्थ्य समस्याका कारण सन्दीप टोलीका अन्य सदस्यसँगै पाकिस्तान जान असमर्थ भए ।’

राष्ट्रिय टोलीका प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहित पौडेलले पनि एसिया कपजस्तो ठूलो प्रतियोगितामा प्रभावशाली स्पिनर सन्दीपको अभाव खड्किएको बताए । उनले भने,‘कप्तानको रुपमा भन्नु पर्दा सन्दीपको कमी हामीलाई खड्किएको छ । उनी हाम्रो टोलीका महत्त्वपूर्ण सदस्य हुन् । नभुलौं, हामी पाकिस्तान र भारतजस्तो बलियो टोलीसँग एसिया कप खेल्दैछौं ।’

उनले आगामी एसिया कपमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी पनि गरे । ‘हाम्रा प्रतिद्वन्द्वी बलिया छन् । तर, प्रतियोगिताका लागि हामी निकै राम्रो तयारी गरेका छौं । हामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ उनले भने ।

नेपाली टोलीका प्रशिक्षक देसाईले पनि एसिया कपमा आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने प्रतिक्रिया दिए । ‘हामी सबैलाई थाहा छ नेपालले पहिलो पटक एसिया कप खेल्दैछ । जबकि पहिलो संस्करणदेखि नै एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरु हाम्रा प्रतिद्वन्द्वी छन् । यसका बाबजुद हाम्रो टोली प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेछ,’ उनी भन्छन् ।

नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो । प्रतियोगितामा एसियाका टेस्ट खेल्ने मान्यता पाएका राष्ट्रहरुसहित ६ टोलीको सहभागिता जनाउने छ । नेपाली टोली प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । उक्त समूहमा दुई बलिया राष्ट्र भारत र पाकिस्तान पनि छन् ।

यसपटक ५० ओभरमा खेलाइने एसिया कपका लागि टेस्ट राष्ट्रहरुले पनि आफ्नो सिनियर टोलीलाई नै पठाएका छन् । एसिया कपको उद्घाटन खेल अगस्त ३० तारिखमा नेपाल र आयोजक पाकिस्तानबीच खेलिने छ । उक्त खेल पाकिस्तानको मुल्तानमा खेलिने छ ।

नेपाली टोलीले आफ्नो दोस्रो खेल सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ । उक्त खेल श्रीलंकाको केन्डीमा खेलिने छ । यसैगरी प्रतियोगिताको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान परेका छन् । भारत, पाकिस्तान र श्रीलंका एकदिवसीय विश्वकपका पूर्वविजेता राष्ट्र हुन् ।

क्यानले एसिया कपका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । घोषित टोलीमा रोहित पौडेल (कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP