
काठमाडौं: राष्ट्रिय एकता अभियान चलाउँदै आएका नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतमले सबै एमाले नेताहरुलाई एकजुट हुन आग्रह गरेका छन् । भोलि (शनिबार) हुने पार्टीको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन सबै फरक मत राख्ने नेताहरूलाई उनले आग्रह गरेका छन् ।
उनले शुक्रबार ललितपुरमा आयोजित अखिल नेपाल किसान संघको बैठकमा बोल्दै फरक मत राखेर पनि विधि विधान प्रक्रियाका कुरामा अलग भएर र बाहिर बसेर भन्दा पनि बैठकमा बसेर पार्टीलाई ठिक ठाउँमा ल्याउन सकिने बताए ।
वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनालसँगै आफू पनि बैठकमा सहभागी हुने छु भन्दै दुबै नेतालाई आफूले खुन पसिना बगाएर निर्माण गरेको पार्टीलाई सम्हालेर जान आवश्यक रहेको बताए । नेता गौतमले बैठकअघि नेता नेपाल र खनालसँग वार्ता गर्ने पनि जनाएका छन्।
यसका लागि अध्यक्ष केपी ओलीले थप सकारात्मक पहल गर्ने आशा पनि उनले व्यक्त गरेका छन् । त्यसका लागि फागुन २८ को बालुवाटार बैठककाे निर्णय फिर्ता हुनु पर्ने बटमलाइन रहेको पनि गौतमले बताए। अरु नेता जाने वातावरण नहुने हो र नेता नेपाल, खनाल सहभागी नहुने अवस्थामा वामदेव पनि सहभागी नहुने एकता अभियानका सचिव बाबुराम थापाले जानकारी दिए।