शुक्रबार , जेठ ८, २०८३

कैलाली – कैलालीमा बर्सेनि बाढी र डुबानका कारण अत्यधिक क्षति हुने गरेको छ । विशेषत भजनी र टीकापुर नगरपालिकाका विभिन्न ठाउँ डुबानबाट बढी प्रभावित हुने गरेकाे छ । हरेक वर्ष बर्खाकाे समयमा यहाँका नागरिकले निक्कै सास्ती पाउने गरेका छन् ।

भजनीका स्थानीय शुरेन्द्र चाैधरी भन्नुहुन्छ ‘ बर्सेनि बाढीले विस्थापित बनाउँछ । दुई/तीन महिना सडकमै बास हुन्छ । बाढीका तीन महिना देशमा हाम्रा लागि सरकार छ कि छैन जस्तो हुन्छ ।’ सान्त्वना दिनुभन्दा पीडा नहुने गरी दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने उहाँको भनाइ छ ।

भजनीकै रामकृष्ण चौधरी पनि समस्याका बेलामात्रै दिइने सान्त्वनाले समस्या समाधान नहुने बताउनुहुन्छ । बाढी र डुबानको मुख्य समस्या पहिचान गरी काम थाल्नुपर्ने उहाँको भनाइ छ । ‘ बाढीका कारण खेत बाँझो राख्नुपरेको छ । लगाएको खेती भित्र्याउन पाइन्नँ । कुन बेला के हुन्छ भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपर्छ’, चौधरीले भन्नुभयो । बाढी र डुबानको दीर्घकालीन समाधान आवश्यक भएको उहाँको भनाइ छ ।

बर्सेनि बाढी र डुबानका कारण करोडौँको क्षति हुने गरेको छ । विशेषगरी नदीका कारण भजनीका प्रायजसाे क्षेत्र डुबानमा पर्छन् । ‘बाढी बस्तीमा पसेपछि समस्या बढी हुन्छ । पानीको निकास नहुँदा डुबानको जोखिम महिनौँसम्म रहन्छ’, स्थानीय रीता बोहरा भन्नुहुन्छ ।

भजनी नगरपालिकाका मेयर केवल चौधरी भजनी डुबानमा पर्नुका विविध कारण रहेको बताउनुहुन्छ । भजनीलाई चारैतिरबाट नदीले घेरेको छ । बाढीबाट जोगाउन उचित काम हुन नसक्दा भजनी डुबानमा पर्ने गरेको छ । ‘ भारतको कैलाश बाँधले पनि बढी समस्या भएको छ । भारतले कैलाश बाँध बन्द गरेपछि त्यसको असर भजनीमा बढी पर्ने गरेको छ’, चौधरीले भन्नुभयो ।

कैलाली क्षेत्र नं ३ की सांसद गङ्गा चौधरी हुलाकी राजमार्गले पनि डुबानको समस्या निम्त्याएको बताउनुभयो । पानीको निकास नहुँदा तथा जमिनभन्दा राजमार्गको उचाइ १०–१२ फिट बढी भएर समस्या भएको उहाँको भनाइ छ । उहाँले हुलाकी राजमार्गको पूर्वी क्षेत्र जलमग्न हुँदा पश्चिम क्षेत्रमा पानी नहुनु भनेको पानीको निकास नै नभएर डुबान गरेको भन्दै त्यसको विकल्प खोज्न आवश्यक रहेको सांसद चौधरीले बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पथरैया नदीमा गरेको तटबन्धको काम अधुरै हुँदा पनि भजनी डुबानमा पर्ने गरेको छ । आयोजनाले केही भागमा तटबन्ध गरेर केही भाग छोड्दा तटबन्ध नभएको ठाउँबाट पथरैया नदी बस्तीमा पसेको हो । आयोजनाका प्रमुख केदार श्रेष्ठले बजेट अभावका कारण सबै ठाउँमा तटबन्धको काम गर्न नसकिएको बताउनुभयो । यसपटकको बाढीका कारण भजनी नगरपालिकामा मात्रै एक हजार आठ सय २२ घरपरिवार विस्थापित भएका छन् । दुई घर बाढीले बगाएको तथ्याङ्क छ ।

एक दशकपछि अत्यधिक वर्षा

कैलालीको कर्णाली चिसापानी क्षेत्रमा २०७१ यताकै बढी वर्षा भएको छ । वर्षा मापन केन्द्र कर्णाली चिसापानीका अनुसार यही साउन २३ गते बिहान चार सय २४ दशमलव दुई मिलीमिटर वर्षा मापन गरिएको छ । यसैगरी चिसापानी माथिल्लो क्षेत्रमा वर्षा भए ठूलो खतरा हुने जल तथा मौसम विज्ञान विभागको वर्षा मापन केन्द्र चिसापानीकी कर्मचारी पार्वती गुरुङले बताउनुभयो ।

‘माथिल्लो क्षेत्रमा पनि यस्तै वर्षा भएको भए नदीमा पानीको बहाव अत्यधिक बढ्ने थियो’, उहाँले भन्नुभयो । जल तथा मौसम विज्ञान विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियाका अनुसार यही साउन २४ गते एक सय ४३ दशमलव नौ मिलीमिटर वर्षा मापन भएको छ । चुरे क्षेत्रमा वर्षा भएकाले त्यहाँ पहिरोसमेत गएको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले बताउनुभयो ।

अहिले पनि मनसुन सक्रिय भएकाले देशका प्रायजसाे भू–भागमा वर्षा भइरहेको छ । आउँदाे तीन दिनसम्म पनि देशका केही ठाउँमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।शनिवार भाेलिदेखि फेरि मनसुन सक्रिय हुने देखिएको र त्यो समयमा अझै बढी वर्षा हुने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिलेको अवस्था हेर्दा शनिवारदेखि देशका धेरै ठाउँमा भारी वर्षा हुने सम्भावना रहेकाले नागरिकलाई सचेत रहन मौसमविद् सजिना शाक्यको सुझाव छ । दुई दिन परेको वर्षाका कारण बाढी आउँदा कैलालीका तटीय क्षेत्रमा डुबान भएको छ । डुबान हुँदा हजारौँ नागरिक प्रभावित भएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै पनि भारी वर्षा हुने सम्भावना देखिएकाले तटीय तथा जोखिम क्षेत्रका नागरिकले सतर्क भएर बस्न स्थानीय पालिकाले आग्रह गरेका छन् । कैलालीको टीकापुर, भजनी, जोशीपुर र जानकी गाउँपालिकाले नागरिकलाई सुरक्षित रहन सूचना गरेका छन् । बाढीबाट टिकापुर र भजनीका सयौँ परिवार विस्थापित भएका छन् ।

कैलालीमा बर्सेनि कर्णाली, मोहना, पथरैया, कन्द्रा, खुटियालगायत नदीले दुःख दिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने

कामदारको तलब बढाउने अष्ट्रेलियाका प्रधानमन्त्रीको संकेत

डार्विनमा एनआरएनए एनटीद्वारा सहुलियत दरमा फर्स्ट एड तथा सिपिआर तालिम आयोजना हुने


TOP