मंगलबार , बैसाख २९, २०८३

प्रतिनिधिसभा अधिवेशन सुरु भएको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने परम्परा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको तर सर्वोच्च अदालतको आदेशले पुनर्स्थापना भएको संसदको सुरुवाती तीन बैठकमा नेताहरुले बोलेनन् ।

शुक्रबार चौथो बैठकमा संसदमा भएका सबै दलका दोस्रो तहका नेताहरुले सम्बोधन गरे । त्यसक्रममा परराष्ट्रमन्त्री एवं नेकपा एमाले सचिव प्रदीप ज्ञवाली र प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडबीच जुहारी नै चल्यो ।

मन्त्री ज्ञवालीले सरकारले हालिस गरेका उपलब्धीहरु सुनाए भने खाँडले त्यसमा प्रश्न गरे ।

विकासशील राष्ट्रमा स्तरोन्नती

मन्त्री ज्ञवाली : सीडीपीले नेपाललाई अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस गरेको छ । अब अगस्ट सेप्टेम्बरमा बस्ने बैठकले पारित गरेपछि अल्पविकसित भन्ने कलंक हट्ने छ, यो नेपालका लागि ठूलो उपलब्धी हो ।

प्रमुख सचेतक खाँड : अल्पविकसित र विकासशीलमा पनि भुइँचालो नआएको भए तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाकै पालामा यो भइसकेको हो । कमसेकम अहिले पूर्णता पाएको छ भने पनि जसको पालामा सुरु भएको छ, त्यसलाई स्मरण गर्ने त गरौं ।

मेलम्चीको पानी

मन्त्री ज्ञवाली : काठमाडौंका जनताले वर्षौंदेखि काकाकुल जस्तै पर्खिरहेको मेलम्ची खानेपानी आयोजनाको पानी अस्ति सुन्दरीजल आइपुगेको छ । अब अर्को हप्ताबाट नागरिकको धाराधारामा त्यो पानी आउनेछ ।

प्रमुख सचेतक खाँड : मेलम्चीको पानी आउने भयो, सरकारलाई धन्यवाद । मेलम्चीको सपना सन्तनेता कृष्णप्रसाद भट्टराईले देख्नुभएको हो । त्यो मेलम्चीको पानी आउने भयो, काकाकुल जनतालाई राम्रो अवस्थामा लैजाने भइयो । सबैलाई धन्यवाद । तर कृष्णप्रसाद भट्टराईको नाम एकपटक लिन पनि कन्जुस्याईं ? मेलम्चीमा गएपनि भट्टराईजीको नाम छैन, सुन्दरीजलमा गएपनि भट्टराईजीको नाम छैन । संसदको रोष्टममा फर्किएर आयो, भट्टराईको नाम छैन । मेलम्चीको पानीभन्दा जसले टुँडिखेलमा हाँसेर भाषण गर्थे, उनीहरुले हामीले ल्यायौंभन्दा काठमाडौंका जनताले पत्याउँछन् कि पत्याउँदैनन् ?

शिलान्यास र उद्घाटन

मन्त्री ज्ञवाली : प्रदेश नम्बर १ का ५ वटा जिल्लाको भाग्य बदल्न सक्ने मरिन सुनकोशी डाइभर्सनको काम सुरु भएको छ । यसले १ लाख ८२ हजारभन्दा बढी जमिनलाई सिचाई गरेर तराइलाई सुन फल्ने ठाउँ बनाउने छ भन्ने हाम्रो विश्वास छ ।

एम्बुलेन्समा घण्टौं जाममा परेर बिरामीलाई अस्पताल ल्याउन नसकेर बीचमै ज्यान जानुपर्ने नागढुंगाको जामलाई अन्त्य गर्न नागढुंगा सुरुङको कामलाई तीव्रता दिइएको छ । मंसिर १५ गते एकैदिन ३९६ पालिकामा ५ देखि १५ वेडका आधारभूत अस्पतालको शिल्लान्यास गर्‍यौं । यससँगै हरेक पालिकामा न्यनूतम एउटा अस्पताल हुनु सुनिश्चित भएको छ । अघिल्लो हप्ता मात्र आउने दुई वर्षभित्र हरेक पालिकालाई कालोपत्र सडकले जोड्ने काम सुरु भएको छ ।

प्रमुख सचेतक खाँड : डीपीआर गरेको छैन, बजेट छैन, शिलान्यास भइसक्यो । वाह् विकास । दुई वर्षदेखि गाडी कुदिराखेको छ, कालोपत्रको अहिले उदघाटन । दुई वर्षदेखि गाडी तरिरहेको छ, अहिले बोर्ड लगाएर राजमार्गमा आमसभा गरेर उद्घाटन ।

यो कस्तो खालको विकास हो ? दिउँसै रातपार्ने अवस्थाबाट मुलुक अगाडि नबढोस् ।

कोरोना खोप

मन्त्री ज्ञवाली : सरकारले कुशलतापूर्वक कोरोनाको महामारीको सामना गर्‍यो । संक्रमण २ लाख ७५ हजार पुगेपनि रिकभरी रेट ९८.५ प्रतिशतभन्दा माथि छ । आजका दिनमा एकहजार भन्दा कम सक्रिय संक्रमित हस्पिटलमा हुनुहुन्छ र मृत्युदर पनि एक प्रतिशत हाराहारी छ । नेपालले कोभिडविरुद्धको लडाईमा एउटा दृष्टान्त स्थापित गरेको छ ।

हामीले माघ १४ देखि कोभिड भ्याक्सिन लगाउन सुरु गर्‍यौं । संसारका ६० वटा अग्रपंक्तिका देशमा नेपाल पनि थियो, जसले सुरुमै कोभिड भ्याक्सिन सुरु गर्न सक्यो । हिजोका दिनसम्म फ्रान्टलाइन र ५५ वर्षमाथिका जेष्ठ नागरिक गरी करिव १७ लाखलाई खोप दिन सफल भएका छौं ।

मित्रराष्ट भारतप्रति आभारी छौं, जसले १० लाख डोज सहयोग गर्‍यो । २० लाख जोड हामीले त्यहाँबाट खरिद गरेका छौं । अरु थप खरिद गर्ने प्रक्रियामा छौं । मित्रराष्ट्र चीनप्रति आभारी छौं, जसले ८ लाख जोड हामीलाई उपलब्ध गराएको छ । र, कोभ्याक्स सुविधा अन्तर्गत कुल जनसंख्याको २० प्रतिशतलाई पाउने सुनिश्चितता गरेका छौं । कोभिडविरुद्ध हामी महत्वपूर्ण सफलतातर्फ अगाडि बढेका छौं ।

प्रमुख सचेतक खाँड : प्रधानमन्त्रीले भन्नु भएको थियो, तीन महिनाभित्र नेपालका सबै नागरिकलाई कोभिडको भ्याक्सिन लगाइनेछ । कुन सालको तीन महिना हो ? १७ लाखलाई भ्याक्सिन लगाइएको छ, ७ लाख स्टक छैन । सेकेण्ड डोज दिनुपर्नेछ, त्यसका लागि १७ लाख स्टक हुनुपर्ने हो । जसले लगाउन पाएको छैन, त्यसका लागि चाहियो । चीनले अनुदानमा दिएको खोप ढुवानी गर्ने जहाज नपाएर आएको छैन ।

कोभिडका बेलामा श्रमिकलाई रोजगारी छैन, किसानलाई बीउ–मल छैन, शिक्षक, प्राध्यापकलाई तलब छैन । सरकारले कसैलाई राहत ल्याएको सुनिएन । राहत पनि भूमिगत रुपमा गरेको हो कि ? नभए जनताले थााह पाउनुगरी राहत ल्याउनुपर्‍यो । अब त झन् के राहत देला ? सरकारको हालत के छ भने ऋण लिएर घ्यू खाने ।

सफल सरकारले यति धेरै ऋण लिएको छ, यति ऋण यसअघि कहिल्यै थिएन । शायद उहाँहरुलाई लागेको होला, यस्तो स्थिति छ । फेरि फर्किएर आइन्छ कि आइन्न ? अहिले ऋण लिएर घ्यू खाऔं, तिर्ने बेला अरु आइहाल्छन् भन्ने हिसाबले लिनुभएको छ भने केही छैन ।

सरकार बन्दा अर्थमन्त्रीले बढो उत्साहित भएर पूर्ववर्ती सरकारले ऋणैऋण गरेको छ, हामीले घ्यू खुवाउँछौं भनेर स्वेतपत्र निकाल्नुभएको थियो, याद होला नि । त्यो ह्वाइट पेपरमाथि छलफल गर्नुपर्‍यो । अहिलेको पनि श्वेतपत्र जारी गर्नुपर्‍यो ।

अग्रगमन कि प्रतिगमन ?

मन्त्री ज्ञवाली : प्रतिगमनको परिभाषा कस्तो भयो भने निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने, नपाउने प्रतिगमन हुने । तर हाम्रा निम्ति काठमाडौंका जनताले पानी खान पाउनुभन्दा अग्रगमन अरु केही हुन सक्दैन । तराईका बन्जर जमिनमा सिञ्चाइ दिनुभन्दा अग्रगमन अरु केही हुन सक्दैन ।

प्रमुख सचेतक खाँड : यो सरकार बनेकै दिनबाट विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको छ । माइतीघर लगायतका कतिपय सार्वजनिक ठाउँमा भेला हुन र बोल्न नपाइने निर्णय पनि सरकारले गर्‍यो । जनताले मुद्दा हाले र अदालतले भन्यो, त्यहाँ जान पाइन्छ, बोल्न पाइन्छ ।

भनेपछि सरकारले अग्रगमन गरेको छ कि प्रतिगमन ? प्रधानमन्त्री र मन्त्रीहरुले एक पटक छातीमा हात राखेर सोच्नुस्, जुन स्पिरिटमा हामीले संविधान बनाएका थियौं, त्यसरी पालना भएको छ ? विशेष सेवासम्बन्धी विधेयक, जहाँ नागरिकको गोपनीयतालाई हरण गर्न सकिने, कसैको पनि, सरकारले पनि अनुगमन गर्न सकिने भनिएको छ । निरंकुश तानाशाही भएको देशमा मात्र यस्तो हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP