मंगलबार , अषोज २७, २०८३

‘लम्पी स्किन’ (काप्रिपक्स भाइरस) बाट अर्घाखाँचीमा छ हजार २८० गाईभैँसी सङ्क्रमित भएका छन् । यीमध्ये हालसम्म १९२ वटा गाईभैँसी मरेका छन् । जिल्लामा गत वैशाखदेखि गाईभैँसीमा ‘लम्पी स्किन’ सङ्क्रमण देखिएको थियो । यसबाट उन्नत जातका चौपाया बढी मात्रामा सङ्क्रमित भएका छन् ।

जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, अर्घाखाँचीका अनुसार सन्धिखर्क नगरपालिकामा २५० गाईभैँसी सङ्क्रमित भएकामा ४४ वटा मरेका छन् । भूमिकास्थान नगरपालिकामा एक हजार ६५ गाईभैँसी सङ्क्रमित रहेकामा २८ वटा मरेका छन् । शीतगङ्गा नगरपालिकामा छ हजार प्रभावित भएकामा ३० वटा मरेका छन् । पाणिनी गाउँपालिकामा एक हजार दुई सय सङ्क्रमितमध्ये ४९ र मालारानी गाउँपालिकामा १६५ सङ्क्रमितमध्ये ३६ गाईभैँसी मरेका छन् । छत्रदेव गाउँपालिकामा बिरामी चार सय गाईभैँसीमध्ये पाँच वटा मरेका छन् ।

सङ्क्रमण रोकथामका लागि जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपलाई तीव्रता दिएको छ । हालसम्म ७२५ डोज भ्याक्सिन लगाइएको र अन्य उपचार पनि गरिएको केन्द्रका प्रमुख एवं पशु चिकित्सक विष्णु पौडेलले जानकारी दिए । उनले भने, “खोपलाई तीव्रता दिएका छौँ । घाउमा मल्हम लगाउने, एन्टिबायोटिक दिने काम भएको छ ।” उनका अनुसार ‘लम्पी स्किन’ सङ्क्रमित चौपायालाई झिँगा लामखुट्टे, किर्नाले टोकेर अर्को गाईभैँसीलाई टोक्यो भने यो रोग सर्छ । त्यस्तै गाईभैँसीको ओसारपसार, सामुदायिक चरन क्षेत्र, प्राकृतिक वा कृत्रिम गर्भाधान र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ । सङ्क्रमित गाईभैँसीको गोठमा मानिसको ओहोरदोहारले अर्को स्थानमा भाइरस जान सक्ने सम्भावना रहन्छ तर मान्छेमा यसको कुनै असर नदेखिएको प्रमुख पौडेलले बताए ।

जिल्लामा महामारीको रूप लिएको ‘लम्पी स्किन’ नियन्त्रणबाहिर भने गइनसकेको केन्द्रको दाबी छ । तर यस रोगका कारण जिल्लामा पशुपालन व्यवसाय नै सङ्कटमा परेको कृषकहरू बताउँछन् । सन्धिखर्क नगरपालिका–१०, बेलटारीका कृषक हरिप्रसाद आचार्यले बेलैमा नियन्त्रण गर्न नसकिए व्यवसायबाटै पलायन हुनुपर्ने चिन्ता व्यक्त गरे । उनले भने, “सरकारले बेलैमा नियन्त्रणको काम गरेन, दिनको २४ लिटर दुध दिने गाई म¥यो, छ वटा बिरामी छन् । भ्याक्सिन किन्न पाइँदैन । रोग लागेर मरेकाको बिमा पनि पाइँदैन भन्ने कुरा छ। हामी त निकै समस्यामा परेका छौँ ।”

जिल्ला प्रशासन कार्यालयले पशुहरूको ओसारपसारमा विशेष सतर्कता अपनाउँदै उपचार, राहत, जनचेतना तथा बिमाको रकम भुक्तानीका लागि तीनै तहका सरकारको समन्वय र सरोकारवाला निकायबिच समन्वय गरिएको जनाएको छ । जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका विज्ञ प्राविधिक सल्लाहकार डा. हकिकल अलीले भने, “सङ्क्रमित पशुलाई एन्टिबायोटिक वा इन्जेक्सन दिइएका कारण तिनीहरूको दुध मानिसले खान हुँदैन, एन्टिबायोटिक नखुवाइएकाको दुध भने तताएर खान सकिन्छ । नयाँ सङ्क्रमण भएकाले मानिसमा यसको असरका बारेमा थप अध्ययन बाँकी नै छ ।”

‘लम्पी स्किन’ सङ्क्रमण भएपछि गाईभैँसीले कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा गिर्खा तथा फोका देखिने र ज्वरो आउने गर्छ । रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दुध उत्पादन घट्छ भने गाईभैँसीको गर्भ तुहिन्छ । केन्द्रका अनुसार ‘लम्पी स्किन’ रोगको हालसम्म ठोस उपचार पत्ता लागेको छैन । यो सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो । सन् २०१२ पछि मध्यपूर्व, दक्षिणपूर्वी युरोप, रसिया, कजाकस्तान र बङ्गलादेश हुँदै २०७७ साल असारमा नेपालको मोरङ जिल्लामा पहिलो पटक यो रोग देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP