
काठमाडौं महानगरपालिकाले रोक लगाएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) लाई शैक्षिक मेला गर्न बाटो खुला भएको छ।
बुधबार उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले अन्तरिम आदेश जारी गर्दै महानगरलाई उक्त मेला नरोक्न आदेश दिएको उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन्।
‘हिसानलाई शैक्षिक मेला गर्न बाटो खुलेको छ’, उनले भनिन्।
एसइई र प्लस टुको रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाका नाममा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेका भन्दै गत बिहीबार महानगरपालिकाले मेला बन्द गराएको थियो।
सोमबार महानगरले शिक्षा मेलामा रोक लगाएकोविरूद्ध हिसानको तर्फबाट उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दर्ता गरिएको थियो।