मंगलबार , बैसाख २९, २०८३

बजेट वक्तव्यको तयारीका क्रममा कुनै खास व्यक्ति वा समुहको स्वार्थमा करका दरहरु हेरफेर गर्न अनधिकृत व्यक्ति संलग्न भएको भेटिएको छ ।

आर्थिक वर्ष २०८०/.०८१ को आर्थिक विधेयक तयार गर्नेक्रममा करका दरहरु माथि हेरफेर गर्दा कुनै बेला भन्सार विभागमै काम गरेका एकजना पूर्व कर्मचारीको शंकास्पद संलग्नता रहेको खुल्नु गम्भीर आपत्तिको विषय हो ।

यसपटक सार्वजनिक भएका कतिपय क्षेत्रका करका दरहरुले पनि केही सन्देह गर्ने ठाउँ छाडेको थियो । करका दरहरु हेरफेर हुनसक्छन् । यसका लागि सरकारको खास मान्यता, सिद्धान्त वा प्राथमिकताले काम गरेको हुन्छ ।

त्यो नभएर मनमौजी तरिकाले कुनै खास व्यापारिक समूहको पक्षमा वा कतिपय निश्चित व्यक्तिलाई लाभ पुग्नेगरी करका दरहरु चलाइएको स्पष्ट छ । यसले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश किन भएको थियो भन्नेमा थप सन्देह गर्ने ठाउँ दिन्छ ।

यो कर्मचारी र राजनीतिक नेतृत्वको संलग्नतामा देशविरुद्ध गरिएको कुकर्म हो । अर्को अर्थमा कर निर्धारण गर्ने अधिकार पाएका व्यक्तिले मुलुकको कर प्रणालीमाथि गरेको हदैसम्मको अनैतिक काम पनि हो । कस्तोसम्म कसूर भएको छ भने करका दरहरुमा के–के हेरफेर हुँदैछ भन्ने अग्रिम जानकारी कतिपय व्यक्ति र व्यावसायिक समूहहरुलाई पहिल्यै दिइएको थियो ।

नभए बजेट आउनुअघिको दुई साताको अवधिभित्र मात्रै ११ सयभन्दा बढी संख्याका विद्युतीय गाडी नेपाल भित्रिन सम्भव थिएन । अर्को परिस्थितिजन्य प्रमाण के छ भने यसरी भित्रिएका गाडीहरुमध्ये अधिकांशमा भन्सार र अन्तःशुल्क मात्रै १५ प्रतिशत वृद्धि भएको छ । यसबाट मात्रै मुलुकले झण्डै एक अर्ब राजस्व गुमाएको छ ।

बजेटका प्रस्तावित व्यवस्थाहरु माथि संसदमा छलफल गरेर सरकारलाई आफनो राय दिने अधिकार सांसदहरुलाई छ । तर, बजेट र आर्थिक विधेयक सरकारको ‘विशेष अधिकार’ हो । संसदले समेत यसमा कुनै परिमार्जन नगरी पारित गर्नुपर्छ । बजेट संसदले पारित नगरे सरकारसँग विश्वास मत छैन भन्ने अर्थ लाग्छ र सरकार ढल्छ ।

बजेट वक्तव्य र यससँग आउने कानुनहरु तत्काल लागु हुन्छन् । संविधान र कानुनले यसको मस्यौदा गर्ने र गोपनीयता कायम गर्ने अधिकार अर्थमन्त्रालयमार्फत नेपाल सरकारलाई दिएको छ । आर्थिक विधेयकमा विभिन्न करका दरहरु समावेश हुन्छन् । यो तत्कालै कार्यान्वयनमा आउने हुँदा ती सूचना गोप्य र संवेदनशील मानिन्छन् ।

ती सूचना चुहावट हुँदा सम्बन्धित व्यक्तिले लाभ लिने, मुलुकले राजस्व गुमाउने र करका दरहरुमा हुनुपर्ने आवश्यक गोपनीयता कायम नरहने सम्भावना समेत हुँदा यसलाई गम्भीर कसूर मानिनु पर्छ । यस्ता घटनामा आवश्यक छानबिन नगर्ने हो भने संविधान र कानुनको उल्लंघन त हुन्छ नै र संसदीय पद्धतीमाथिको विश्वसनीयता समेत कमजोर हुनपुग्छ ।

यद्यपि अर्थमन्त्रालयमा यस्तो काम पहिलो पल्ट भएको भने होइन । यसअधि पनि बजेट वक्तव्य तयार गर्ने क्रममा अनाधिकृत व्यक्तिको प्रवेशको बिषयमा प्रश्न उठेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा त दिए । तर, दलीय प्रतिनिधित्वका आधारमा बनेको संसदीय समितिले बहुमतका आडमा उनलाई उन्मुक्ति दियो । राष्ट्र बैंकका गभर्नरलाई पदमुक्त गर्न प्रयासरत तत्कालीन सरकार र गभर्नरलाई जोगाउन प्रयासरत विपक्षी दल बीचका अप्रकट सहमतिमा यो मामिला ढिसमिस भएको आम बुझाइ छ ।

तर, यसपटक पुरानो गल्ती दोहोरिनु हुन्न । बजेट वक्तव्य निर्माण प्रक्रियामा अनधिकृत व्यक्ति संलग्न थिए भन्ने मामिलामा अनुसन्धान गर्न संसदले तत्काल हस्तक्षेप गर्नुपर्छ । सक्षम संसदीय समिति गठन यसको एउटा विकल्प हुनसक्छ ।

यस्तो समितिले पुराना गल्ती नदोहोर्‍याउने व्यावहारिक सुनिश्चितता हुनुपर्छ । अन्यथा मुलुकमा वजेट निर्माण, करका दरहरुको निर्धारण, तिनको संसदमा प्रस्तुति र पारित गर्ने संसदीय प्रक्रियामाथि नै प्रश्न उठन जानेछ ।

@Onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP