मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ — सोमबार बिहानको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै सभामुख देवराज घिमिरेले आजको बैठकमा विशेष समयको प्रबन्ध नगरिएको र आकस्मिक रुपले राख्नुपर्ने कुरालाई पनि नराखिएको बताए ।

बेन्चबाट बैठकको सुरुमै बोल्नका लागि सांसदद्वय अमरेशकुमार सिंह र प्रेम सुवालले हात उठाइरहेका थिए । तर‚ सभामुख घिमिरेले उनीहरूलाई बोल्नका लागि समय नदिएपछि पनि उनीहरू उठेर लगातार विरोध गरिरहेका थिए ।

बैठकमा आकस्मिक समय र विशेष समय नरहेको भन्दै सभामुखले बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोल्न थाले ।

सभामुख घिमिरेले संसद् नियामावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित भएको बताउँदै सम्मानित संसद् बैठकमा यस्तो अशिष्ट, अश्लील, अपमानजनक र आपत्तिजनक व्यवहार नदेखाउनका लागि चेतावनी दिए ।

त्यसरी चेतावनी दिइरहँदा पनि सांसद् सिंहले भने एकोहोरो विरोध जनाइरहेका थिए । त्यसको केहीबेरपछि उनले संसद्‌बाट बाहिरिँदै गर्दा आफूलाई भ्रष्टाचारसम्बन्धी विषयमा बोल्न समय नदिइएको भन्दै विरोध जनाएको बताए ।

यस्तो छ सभामुख घिमिरेले भनेको संसद् नियमावलीको नियम २१ मा ?

सांसद् अमरेशकुमार सिंहले संसद्‌मै कपडा खोल्ने हर्कत गरेपछि सभामुख घिमिरेले संसद् नियमावलीको नियम २१ को ‘घ’ आकर्षित हुने बताए ।

संसद् नियमावलीको नियम २१ मा प्रतिनिधिसभाको छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियमको बारेमा उल्लेख गरिएको छ । उक्त नियमका अनुसार बैठकमा हुने छलफलमा भाग लिने सदस्यले देहायका नियमको पालन गर्नुपर्नेछ-

(क) सभामुखको ध्यानाकर्षण गर्नका निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने,

(ख) सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने,

(ग) संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने,

(घ) अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने,

(ङ) बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने ।

सांसद् सिंहले सभामुखको आग्रहलाई बेवास्ता गर्दै लुगा खोल्न थालेकाले उनलाई नियमावली २१ को ‘घ’ आकर्षित हुने भन्दै सभामुख घिमिरेले चेतावनी दिए । घिमिरेले सिंहलाई ठिक ढंगले बस्न भनेका थिए । सभामुखले भने, ‘फर्केर आएर बस्नुस् । सभ्यताका साथ नियमअनुसार आफ्नो कुरा राख्नहोस् । नियामावलीको ३० अन्तर्गत बैठकमा यस्ता खालको व्यवहार नगर्नुस् । थप अन्य कारबाही हुन सक्छ ।’

नियामावली ३० मा के छ ?

३०. चेतावनी : बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP