शनिबार , भाद्र १३, २०८३

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी भएको ठहर गर्दै तत्काल उनलाई सहयोग नगर्ने निष्कर्ष निकालेको छ । आज बसेको संसदीय दलको बैठकले सो निष्कर्ष निकालेको प्रतिनिधिसभा सदस्य एवम् जसपाका कार्यकारीणी सदस्य राजकिशोर यादवले जानकारी दिए । प्रधानमन्त्री ओलीले चालेको प्रतिगामी कदमको अधिकांश सांसदले विरोध गरेको बताउँदै यादवले यस अवस्थामा उनलाई सहयोग गर्नु आत्मघाती हुने निष्कर्षमा सांसदहरु पुगेको बताए ।

पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि जसपा नेपालले त्यसको विरोधमा आन्दोलन गरेको थियो । सो आन्दोलनमार्फत जसपाले प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको भन्दै त्यसको खारेजीको माग गरेको थियो । तर प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय फिर्ता लिएनन् । सर्वोच्च अदालतले सो निर्णयलाई उल्टाइ दियो । प्रधानमन्त्री ओलीले अझै पनि संसद विघटन गरेकोमा कुनै पश्चाताप गरेका छैनन् । प्रधानमन्त्रीले अझै हठ नत्यागेकोले त्यस्तो व्यक्तिसँग सहकार्य गर्न नसकिने भन्दै बैठकमा सांसदहरुले कुरा उठाएका थिए ।

ओलीलाई समर्थन गरेर सरकार बनाएमा मधेशमा त्यसको विरोध हुने भएकाले उनीसँग सहकार्य नगर्न सांसदहरुले सुझाव दिएको बैठकमा सहभागी सांसदहरु बताउँछन् । ‘तर पार्टीले वार्ता जुन दलसँग पनि गर्नसक्छ, जसले आफूहरुको माग पुरा गर्छ उसैलाई सहयोग गर्ने कुरा पनि हुनसक्छ तर यसपाली माग पुरा नभएसम्म सरकारमा जाने कुरा हुँदैन’ सांसद लक्ष्मणलाल कर्णले बताए । ‘जसपा नेपालले तीनवटै दलसँग छलफल गर्छ छलफलका लागि कुनै आधिकारिक वार्ता समिति गठन भएको छैन, पार्टीले आवश्यकताअनुसार मान्छेलाई पठाएर छलफल गर्न सक्छ’ उनले भने ।

नेकपा ऋषिराम कट्टेलको भएपछि माओवादी केन्द्र र एमाले अलग अलग भएका छन् । दुई दल अलग अलग भएपछि प्रधानमन्त्री ओलीको सरकार अल्पमतमा परेको छ । ओलीले आफ्नो सरकार टिकाउनका लागि जसपा नेपालसँग सहयोग मागेका छन् । उनी रेशम चौधरीलाई रिहाइ गर्न पनि तयार भएका छन् । उनले कानुनी प्रकृया पुरा गरेर चौधरीलाई रिहाइ गर्ने प्रतिवद्धता जनाएको नेता कर्णले बताए । तर रिहाइ नगरेसम्म आफूहरुले विश्वास नगर्ने उनले बताए ।
रेशम चौधरीलाई रिहाइ गर्नका लागि के–के कानुनी प्रकृया छ, त्यसको बारेमा बुझ्नका लागि प्रधानमन्त्री ओलीले पार्टीका नेता सुवास नेम्वाङलाई जिम्मेवारी दिएका छन् । सरकारलाई सहयोग गर्ने संकेत जसपा नेपालबाट पाउने वित्तिकै रेशम चौधरीलाई रिहाइ गर्ने सोचमा प्रधानमन्त्री ओली रहेका छन् । तर आज बसेको संसदीय दलको बैठकले ओलीलाई सहयोग गर्न त्यति सजिलो नदेखिएको एक नेताले बताए । ती नेताले भने, ‘अहिले ओली नेतृत्वको सरकारलाई सहयोग गरियो भने जसपा नेपालका लागि आत्मघाती हुन्छ ।’

संसदीय दलको बैठकमा दलको विधानका बारेमा पनि छलफल भएको छ । जसपाले गठन गरेको कार्यदलले तयार पारेको विधान सांसदहरुलाई अध्ययनका लागि दिइएको छ । सांसदहरुले अध्ययन गरिसकेपछि अर्को बैठकबाट त्यसलाई पारित गरिनेछ । समाजवादी पार्टी र राजपा नेपालले पूर्व पार्टीको नामबाट कुनै पनि कार्यक्रम गर्न नपाइने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै संसदीय दल समायोजन नहुन्जेलसम्म वरिष्ठताको आधारमा महन्थ ठाकुरले संसदीय दलको बैठकको अध्यक्षता गर्ने निर्णय पनि भएको छ । दुई पार्टीबीच एकीकरण भएपनि हालसम्म संसदीय दल समायोजन भएको छैन । संसदीय दलको नेताका लागि महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो आकांक्षी देखिएका छन् । संसदीय दलका नेताका लागि सहमति जुटाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP