मंगलबार , बैसाख २९, २०८३

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘सभामुखमा प्रतिस्पर्धा गर्‍यौं । सँगसँगै प्रतिनिधिसभा भित्र प्रतिपक्षी बेञ्च सशक्त गर्दै लगेका छौं ।’ लेखककै भनाइलाई विश्वास गर्ने हो भने केही दल आफ्नो पक्षमा खुल्नुलाई कांग्रेसले उपलब्धी ठानेको छ ।

प्रमुख सचेतक लेखकले भनेझैं आज संसदमा कांग्रेसको साथमा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा गरी चार पार्टी एकै ठाउँ उभिए । उनले यसलाई चुनावअघिकै परिदृश्यसँग दाँजिहेरे । ‘करिब करिब हिजोको गठबन्धन कायम राखेका छौं,’ उनले भने ।

चुनाव अगाडि यी चार दल र माओवादी केन्द्र एउटै गठबन्धनमा थिए । तर, चुनावपछि फेरिएको समीकरणबाट घिमिरे सभामुख भए । कांग्रेसबाट इश्वरी न्यौपाने सभामुखका उम्मेदवार थिइन् । तर, न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत नै हुन पाएन ।

बिहीबार भएको मतदानमा घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुँदा विपक्षमा १०० मत प¥यो । २७५ सदस्यीय प्रतिनिधिसभामा निर्वाचित हुन बहुमत अर्थात, १३८ मत भए पुग्थ्यो । सके चुनाव जित्ने नसके मतान्तर कम गर्ने कांग्रेसको प्रयास थियो ।

सभामुखको चुनाव जित्न कांग्रेसलाई सत्तारुढ दल माओवादी केन्द्रको साथ आवश्यक पर्दथ्यो । तर, प्रधानमन्त्रीमा विश्वासको मत दिएका कारण माओवादी केन्द्रले सभामुखमा आफ्नो पार्टीका उम्मेदवारलाई मतदान गर्ने कतिपय कांग्रेस कार्यकर्ताको चाहना बुधबार नै सकिएको थियो ।

सभामुखको उम्मेदवारी दर्तामा माओवादीले एमालेका घिमिरेलाई समर्थन गरेको थियो । तर, सभामुखको उम्मेदवारी दर्ताका क्रममा कतै नखुलेको जसपाले पनि बिहीबार कांग्रेसलाई साथ दिएन ।

बिहीबार भएको मतदानमा घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।

बाँकी रहेका कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले घिमिरेको विपक्ष (न्यौपानेको पक्ष) मा मतदान गरे । अर्थात, सभामुखमा कम मतान्तर काम गर्ने कांग्रेसको प्रयास पनि असफल भयो । कांग्रेस जसपा र केही स्वतन्त्र सांसदको साथ लिने प्रयासमा थियो तर, सकेन । बुधबार सभामुखको उम्मेदवारी दर्ता गरिसकेपछि पनि कांग्रेस संसदीय दलको कार्यालमा जसपाका नेताहरु पुगेका थिए । त्यसअनुसारको परिणाम बिहीबार भएको सभामुखको निर्वाचनमा देखा परेन ।

अर्थात, चुनाव अगाडिको कांग्रेस नेतृत्वको गठबन्धन टुट्दा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेस कार्यपालिका र व्यवस्थापिकाको नेतृत्व लिनबाट चुकेको छ । प्रधानमन्त्री र सभामुख दुबै पद लिन संसदको बहुमत भए पुग्थ्यो ।

दुबै पदमा निर्वाचित भइसकेपछि हटाउन दुई तिहाइ बहुमत आवश्यक छ । कांग्रेसले चाहेर अब यी दुबै पदमा दुई तिहाइ पुर्‍याएर अगाडि बढ्न गाह्रो छ । संसदमा १२ वटा दलको प्रतिनिधित्व छ । त्यसमध्ये प्रधानमन्त्री र सभामुख लिने दल एमाले (७९) र माओवादी केन्द्र (३२) एकातिर हुँदा अर्कोतिर दुई तिर दुई तिहाइ बहुमत पुग्दैन ।

तथापि, सभामुखको निर्वाचनमा गठबन्धन टुटाउने प्रयासमा केही सफलता मिलेको कांग्रेस नेता चन्द्र भण्डारी बताउँछन् । उनका अनुसार वर्तमान सत्ता गठबन्धन टुटाउने मिसन सभामुखमा थियो जो पूरा भएको छ । नेता भण्डारी भन्छन्, ‘आफ्नो पक्षको गठबन्धन टुटेपछि अर्को पक्षको गठबन्धन टुटाउन लागिरन्छ त्यो निरन्तर प्रक्रिया हो । मिसन सभामुख थियो त्यो भएन अब मिसन राष्ट्रपतिमा हुन्छ ।’

उस्तै अभिव्यक्ति कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको पनि छ । जनताले सरकार र शितल निवासको नेतृत्वको अपेक्षा गरेर नै कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाएको उनको भनाइ छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभामुखको निर्वाचनमा सोचे अनुसारको परिणाम हासिल गर्न नसकेको स्वीकार गर्छन् । तर, अबको मिसन राष्ट्रपति भएको र राष्ट्रपतिको चुनावमा मिसन पुरा हुने उनको दाबी छ । नेता पौडेल भन्छन्, ‘सभामुखमा यस्तै भयो । राष्ट्रपतिको बेला आएको छैन ।’

वरिष्ठ नेता पौडेल सभामुखको निर्वाचन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार दुई नेताबीच आधा घन्टा संवाद भएको थियो । पौडेल स्वयं राष्ट्रपति पदका आकांक्षी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP