मंगलबार , बैसाख २९, २०८३

नयाँ दिल्ली — उत्तराखण्ड राज्यको चमोली जिल्लामा रहेको जोशीमठ नगरमा केही महिनायता जमिन भासिँदै गएको छ । जमिन भासिएर घरहरुमा चिरा पर्ने तथा भत्किने क्रम सुरु भएपछि त्यहाँका बासिन्दाले आफ्नो घर छाड्नुपर्ने स्थिति निम्तिएको छ ।

बीबीसीले दिएको रिपोर्ट अनुसार पछिल्लो ६ सय ३ वटा घर भत्किएका छन् । पछिल्लो ४८ घण्टामा त्यो क्रम अझै बढ्न थालेको छ ।

स्थानीय प्रशासनले राहत तथा उद्धार प्रारम्भ गरिसकेको जनाएको छ । प्रशासनले जमिन भासिएर कुनै पनि बेला कसैको पनि घर भत्किन सक्ने सन्देश दिएको छ । स्थानीयलाई राहत तथा पुन:स्थापना केन्द्रमा आश्रय लिन आह्वान गरिएको छ । सरकारी भवनहरु समेत चर्किन थालेपछि त्यसलाई पनि खाली गरिएको छ ।

उत्तराखण्ड राज्यको सानो सहर जोशीमठ ऐतिहासिक र धार्मिक दृष्टिकोणले चर्चित छन् । त्यहाँ मठ मन्दिर र मठहरु पनि प्रशस्तै छन् । हिन्दु र सिख धर्मावलम्बीको प्रमुख तीर्थस्थलहरु जाने ‘गेट वे’ का रुपमा जोशीपठ चिनिन्छ । साथै यस ट्रेकिङ गर्ने टुरिस्टहरुको प्रिय थलो पनि हो जोशीमठ क्षेत्र ।

१७ हजार जनसंख्या रहेको उक्त नगर यतिबेला संकटमा पर्न थालेको छ । भूगर्भविद्हरुले पर्वतीय श्रृखंलाको उक्त क्षेत्रको जमिनमुनी भइरहेको हलचलको परिणाम सतहमा देखिएको बताएका छन् । जमिनमुनी भूगर्भीय जलस्रोत पुटेकाले जमिन भासिने र घरहरु चर्किन, धाजा फाट्ने भइरहेको भूगर्वविद्हरुको दाबी छ । जनवरी महिनाको पहिलो हप्ताबाट यो क्रम बढ्नका पछाडि भूगर्भीय जलस्रोतको विस्फोटनलाई मानिएको छ ।

एकपछि अर्को घरमा चिरा पर्ने, भत्किने क्रम बढेपछि स्थानीयहरु त्रासमा छन् । घरबारविहीन हुने चिन्ताले उनीहरुलाई सताएको छ । स्थानीयले प्रदर्शनसमेत गरेका छन् ।

जोशीमठमा सन् १९६२ पछि भवन तथा सडकहरुको निर्माण कार्यले गति लिएको हो । चीनसँगको युद्धपछि भारतले रणनीतिकरुपमा त्यस क्षेत्रमा निर्माण कार्यलाई बढावा दिएको देखिन्छ । विभिन्न रिपोर्टले त्यस क्षेत्रमा मानवीय दवाब कम गर्दै जानुपर्ने भन्दै आएको छ । तर, त्यसविपरीत पर्वतीय क्षेत्रमा जथाभावी भौतिक पूर्वाधारका संरचनाहरु निर्माण हुँदै आएको हो ।

भूवैज्ञानिकहरुले पटक-पटक जोशीमठको पहाडी क्षेत्रलाई कमजोर र धेरै बोझ सहन नसक्ने स्थानको रुपमा चिनाउँदै आएको छ । विज्ञहरुले पहाडमा सहर बसाउने कुराका लागि निश्चित मापदण्ड बनाइनुपर्ने कडा कानुनी प्रवाधान अपनाउनुपर्ने सुझाव पहिल्यै दिएको मिडिया रिपोर्टमा उल्लेख छ । तर, सरकारी र गैरसकारी क्षेत्रबाट त्यसलाई बेवस्ता गरिँदै आएको छ ।

अहिले घर छोड्नुपर्ने स्थितिमा स्थानीयवासीले सरकारप्रति आक्रोश पोखिरहेका छन् । बिहीबार उनीहरुले त्यही स्थान बएर बद्रीनाथ जाने राजमार्ग अवरुद्ध गरेर मसाल जुलुस नै निकाले । स्थानीयको प्रदर्शनपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा चलिरहेको सबैखाले निर्माण कार्यलाई रोक लगाएको छ ।

विरोध गरिरहेका स्थानीयले त्यस क्षेत्रमा निर्माणाधीन हाइड्रोपावरको असर जमिनमाथि परेको भनिरहेका छन् । तपोवन विष्णुगढ हाइड्रोपावरको निर्माणले गति लिएपछि समस्या बढ्दै गएको स्थानीयको गुनासो छ ।

प्रशासनले त्यसको निर्माणमा अहिलेलाई रोक लगाएको छ । स्थानीयले हाइड्रोपावरका लागि निर्माण गरिएको पहाडी सुरुङले जमिनलाई कमजोर बनाएको भन्दै आएका छन् । सन् २०१३ को रिपोर्टले हाइड्रोपावर परियोजनाका लागि बनाइने सुरुङले पहाडी क्षेत्रमा क्षति पुर्‍याउने चिन्ता दर्शाएको थियो । जोशीमठ क्षेत्रमा बनाइएको चार लेनको राष्ट्रिय राजमार्गले पनि जमिनलाई कमजोर बनाएको गुनासो स्थानीयको छ ।

जोशीमठ क्षेत्रमा भइरहेको घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग जानकारी लिएका छन् । उनले स्थानीयको सुरक्षा र पुनर्वासको कार्यलाई तिव्रता दिन निर्देशन दिएका थिए ।

केन्द्र सरकारबाट हरसम्भव सहयोगको आश्वासन राज्य सरकारलाई दिएको मुख्यमन्त्री धामीले मिडियामा बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP