मंगलबार , बैसाख २९, २०८३

हालै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनाव अघि समाजवादी केन्द्र बनाउने बहस भयो । नेकपा एमालेबाहेक कम्युनिस्ट पार्टीलाई जोड्ने गरी समाजवादी केन्द्र बनाउने उद्घोष गरियो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र वामदेव गौतम समूह मिलाएर समाजवादी केन्द्र बनाउने चर्चा थियो ।

नेकपा एकीकृत समाजवादी पार्टीले एकता संयोजन समितिसमेत बनाउने निर्णय गर्‍यो । अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा रहेको समितिका सदस्यमा झलनाथ खनाल, महासचिव बेदुराम भुसाल थिए । तर, चुनाव लगत्तै नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धन टुटेपछि समाजवादी केन्द्र बनाउने बहस किनारा लाग्यो ।

अहिले नेकपा एमाले, माओवादी केन्द्र सहितको सात दलीय गठबन्धनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएसँगै समाजवादी केन्द्र बनाउने विषयले फेरि प्रवेश पाउने देखिएको छ ।

जसपाले पार्टी एकता र सहकार्यका विषयमा छलफल गर्न तीन सदस्यीय कार्यदल बनाइसकेको छ । राजेन्द्र श्रेष्ठको संयोजकत्वमा बनेको कार्यदलमा रकम चेम्जोङ र गोविन्द चौधरी  सदस्य छन् ।

पार्टीको मूल सिद्धान्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीको प्रतिकुल नहुने गरी पावर सेयरिङमा सम्मानजनक भएमा प्रचण्ड नेतृत्वको सरकारमा जाने निर्णय जसपाले गरिसकेको छ । प्रचण्ड नेतृत्वको सरकारमा गएमा सहकार्य, एकता र समाजवादी केन्द्रको बहसले समेत मूर्तरूप लिने उसले बताएको छ ।

जसपा प्रवक्ता मनिष सुमनले विचार, सिद्धान्त र दृष्टिकोण मिल्ने जुनसुकै पार्टीसँग एकता वा सहकार्य हुन सक्ने बताए ।

‘हाम्रो वार्ता समिति आपसमा बस्छ । आफ्नो विचार, सिद्धान्त मिल्नेहरू सूचीकृत हुन्छ । त्यसपछि एकीकृत समाजवादी, माओवादी कुन कुन दल हुन्छ भन्ने विषयमा प्राथमिकीकरण हुनेछ,’ सुमनले भने, ‘हामीले कुनै दल विशेषलाई लक्षित गरेर समिति बनाएका छैनौँ । विचार, सिद्धान्त र दृष्टिकोण मिल्ने जुनसुकै पार्टीसँग सहकार्य वा एकता हुन सक्छ ।’

समाजवादी केन्द्र बनाउने विषयमा भने पार्टीको कुनै एजेण्डा नभएको सुमनले जिकिर गरे ।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले विचार र सिद्धान्त मिल्नेसँग सकेसम्म पार्टी एकता गर्ने, त्यो सम्भव नभए मोर्चा बनाउने निर्णय गरेको छ । पार्टी एकता र सहकार्य हतारमा गर्ने पक्षमा भने नभएको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले बताए ।

‘अब माओवादी र एमालेको जस्तो एकता हुँदैन । सिद्धान्त, विचार दृष्टिकोणमा आधारित भएर एकता हुनेछ,’  तुलाधारले भने, ‘उदाहरण, माओवाद मार्गदर्शक सिद्धान्त हुन सक्छ कि सक्दैन ? नामै माओवादी रहन्छ रहँदैन । यावत कुरा टुङ्गो लगाएर एकता हुन्छ । एकता प्रक्रियाको क्रममा विचार, सिद्धान्तका हिसाबले माओवादीसँग हुन सक्छ । मोर्चा बनाउने हिसाबले कम्युनिस्ट फ्लेभर आउने वाम झुकाव भएका दलसँग कार्यगत एकता वा मोर्चा बनाउने हुन सक्छ ।’

पार्टी एकता र मोर्चा बनाउन स्थायी समितिलाई अधिकार दिएको तुलाधरले बताए । सकेसम्म एकता, नभए बृहत् मोर्चा बनाउने तयारी रहेको उनको भनाइ छ ।

माओवादी केन्द्र र नेपाल समाजवादीबीच छिटै एकता हुँदै

नेपाल समाजवादी पार्टीले पुस २४ गते बस्ने गरी राजनीतिक समितिको बैठक बोलाइसकेको छ । बैठकले पार्टी एकता र मोर्चाबन्दीका विषयमा महत्त्वपूर्ण निर्णय लिने गंगानारायण श्रेष्ठले बताए ।

राजनीतिक समितिको बैठकपछि माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता हुने गरी दुवै पक्षबाट समिति बनाएर जान सकिने श्रेष्ठको भनाइ छ ।

नेपाल समाजवादीका केही नेताले गत निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका थिए । प्रतिनिधिसभा र प्रदेशसभामा तीमध्ये केहीले प्रतिनिधित्वसमेत गरेका छन् । उनीहरू माओवादी केन्द्रकै सांसदको हैसियतमा रहने छन् । त्यसैले पार्टी एकता गर्न ढिला गर्न नहुने भन्दै कतिपय नेता–कार्यकर्ताले बाबुराममाथि दबाब बढाएका हुन् ।

‘तत्काल हाम्रो पार्टी र माओवादीबीच एकता गर्ने भन्ने छ । त्यसमा पार्टीको नाम र चुनाव चिह्न तत्काल टुङ्गो लगाउनुपर्छ भन्ने छ । अरू वैचारिक र कार्यदिशाको सवालमा महाधिवेशनमा बहस, छलफलबाट किनारा लगाउनुपर्छ भन्ने छ,’ श्रेष्ठले भने, ‘हाम्रो जोड समाजवादी केन्द्र बनाउने र चुनाव चिह्न समेत फेर्नुपर्छ भन्ने छ । त्यसमा दुवै पक्षको सहमतिमा एउटा निष्कर्षमा पुग्नुपर्छ भन्ने छ ।’

अरू देशभक्त कम्युनिस्ट पार्टीहरुबीच एउटा फोरम बनाएर सहकार्य गरेर जाने योजना बनाएको श्रेष्ठले बताए । त्यसमा एमाले, एकीकृत समाजवादी र जसपा लगायतका दललाई समेट्न सकिने बताइएको छ ।

यस्तै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीसँग तत्काल एकता हुने गरी छलफल भइरहेको बताए । ‘बाबुरामजी नेतृत्वको पार्टीसँग चुनाव अघि नै एक खालको सहकार्य भइसकेको हो । प्राविधिक रूपमा एकता गर्न मात्रै बाँकी छ,’ पौडेलले भने, ‘संसद्मा भएका अरू कम्युनिस्ट शक्तिहरूलाई जोडेर बृहत् कम्युनिस्ट केन्द्र बनाउने योजनामा छौँ ।’

पार्टीको नाम र चुनाव चिह्न आपसी सहमतिमा टुङ्गो लगाउने पौडेलको दाबी छ ।

प्रचण्ड र बाबुरामबीच गत साउन ३१ गते एउटै चुनाव चिह्न र घोषणापत्र लिएर जाने सहमति भएको थियो । एउटै चुनाव चिह्न र घोषणापत्र मार्फत नेपाल समाजवादीका नेता महेन्द्रराय यादव प्रतिनिधिसभामा र गंगानारायण श्रेष्ठ, फनिन्द्र देवकोटा प्रदेशसभामा निर्वाचित भएका छन् ।

यी दुई पार्टीबीच एकता भएमा पुनः  समाजवादी केन्द्र बनाउने विषयमा बहसले प्रवेश पाउने बताइएको छ । माओवादी केन्द्र र नेपाल समाजवादीबीच एकता भएर एउटा पार्टी बन्ने, अर्कोतिर जसपा र एकीकृत समाजवादीबीच एकता गरेर एउटा शक्ति भएमा समाजवादी केन्द्र बनाउने दिशातिर कोर्स अघि बढ्ने नेताहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP