मंगलबार , अषोज २७, २०८३

रातो मच्छिन्द्रनाथ र उनकी ‘प्रेमिका’ भनिने कीर्तिपुर, प्यंगथाँकी याकः मिसा (एक्ली केटी) बारे जति पनि किम्बदन्ती सुनिएका छन्, ती सबैमा एउटा कुरा समान छ —

याकः मिसा कसैगरी पनि रातो मच्छिन्द्रनाथबाट अलग हुन चाहँदिनन्। उनी मच्छिन्द्रनाथलाई आफूसँगै प्यंगथाँमा राख्न चाहन्छिन्। तर लोकले मानेका लोकेश्वरको निम्ति यो सम्भव हुँदैन। उनी याकः मिसाको मोहमा बाँधिएर प्यंगथाँमै बसेका भए रथयात्रा बीचमै रोकिन्थ्यो, बुंगमतीमा उनको पीठ रित्तो हुन्थ्यो।

यति मात्र होइन, काठमाडौं उपत्यकामा पानी पार्न भनेर भारतको आसामबाट ल्याइएका यी ‘सहकालका देउता’ एकठाउँ बाँधिएपछि यहाँ फेरि अनिकाल छाउन के बेर!

त्यही भएर याकः मिसाले ‘मलाई छाडेर नजानू देव’ भन्दै लाख बिन्ती गर्दा पनि मच्छिन्द्रनाथका पाइला रोकिएनन्। हरेक वर्ष याकः मिसालाई भेट्न प्यंगथाँ आउने बाचा गर्दै उनी फर्के।

किम्बदन्तीको यो क्लाइमेक्स आज फेरि कीर्तिपुरमा पुनरावृत्ति हुँदैछ।

म कुरा गर्दैछु प्यंगथाँ डबलीमा प्रतिस्थापन गरिएको रातो मच्छिन्द्रनाथ र याकः मिसाका मूर्तिको।

प्यंगथाँको सुखी गछेँ समाजको सक्रियतामा मंसिर १५ गते रातो मच्छिन्द्रनाथको पूर्ण कदको प्रतिमूर्तिसहित याकः मिसाको मूर्ति प्रतिस्थापन गरिएको छ। अहिलेसम्म कथामा सीमित पात्रलाई जीवन्त रूप दिँदै रातो मच्छिन्द्रनाथ र कीर्तिपुरको सम्बन्धबारे सबैलाई सूचित गराउन यी मूर्ति स्थापना गरिएको प्यंगथाँका स्थानीय बताउँछन्।

जसरी किम्बदन्तीमा याकः मिसाले लाख बिन्ती गर्दा पनि मच्छिन्द्रनाथ प्यंगथाँमा बस्न मान्दैनन्, अहिले यहाँ त्यस्तै स्थिति छ।

रातो मच्छिन्द्रनाथ अर्थात् बुंगद्यःका पुजारीले प्यंगथाँमा मच्छिन्द्रनाथको मूर्ति राख्न नदिने अडान लिएका छन्।

प्यंगथाँवासीले एकपक्षीय रूपमा गरेको मूर्ति स्थापनाले याकः मिसासँग जोडिएको संस्कृतिको औचित्य नै समाप्त पारिदिएको उनीहरूको भनाइ छ।

रातो मच्छिन्द्रनाथको नित्यपूजा गर्ने ३२ जना पुजारीहरूको संगठन ‘श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघ’ ले मंगलबार विभिन्न सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदै मूर्ति स्थापनाप्रति आफ्नो विरोध दर्ज गरायो। उनीहरूले एकैदिन संस्कृति मन्त्रालयदेखि पुरातत्व विभाग, गुठी संस्थान, ललितपुर महानगरपालिका र ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए।

यी सरोकारवाला निकायले प्यंगथाँवासीसँग समन्वय गरेर रातो मच्छिन्द्रनाथ र याकः मिसाको मूर्ति हटाउन पहल गरिदियोस् भन्ने पुजारीहरूको चाहना छ।

‘जीवित देवीहरूको मूर्ति कहिले पनि बन्दैन,’ संघका अध्यक्ष यज्ञरत्न शाक्यले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ, ‘प्यंगथाँमा जीवित देवीको मूर्ति र श्री मच्छिन्द्रनाथको प्रतिमूर्ति रहुञ्जेल हामी कीर्तिपुरमा प्रसाद ग्रहण गराउने कार्य बन्द गर्ने छौं।’

ललितपुरका मेयर चिरिबाबु महर्जनलाई मंगलबार ज्ञापनपत्र हस्तान्तरण गर्दै पुजारी संघका अध्यक्ष यज्ञरत्न शाक्य। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी

प्यंगथाँकी जीवित देवी याक: मिसालाई मच्छिन्द्रनाथकी प्रेमिका मान्ने र फूल-प्रसाद चढाउन जाने चलन रथयात्रा जत्तिकै पुरानो भएको जनविश्वास छ। रातो मच्छिन्द्रनाथको जात्रा कम्तिमा १४ सय वर्षदेखि चल्दै आएको मानिन्छ।

आज पनि मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल लैजानुभन्दा चार दिनअघि मूलपुजारी (पानेजु) खाली खुट्टा हिँडेर प्यंगथाँ आउँछन् र मच्छिन्द्रनाथकी जीवित ‘प्रेमिका’ भनिने लक्ष्मीकुमारी महर्जनलाई फूल र प्रसाद चढाउँछन्।

प्यंगथाँको जुन मन्दिरमा अहिले मच्छिन्द्रनाथ र याकः मिसाको मूर्ति प्रतिस्थापन गरियो, त्यहाँ पहिले ढुंगाको आसन र आसनसामुन्ने तीनवटा मण्डपबाहेक अरू दैवी मूर्ति केही थिएन।

उक्त ढुंगाको आसन र मण्डपको यहाँ ठूलो महत्व छ, किनभने त्यही ढुंगामाथि बसेर रातो मच्छिन्द्रनाथका पुजारीले मण्डपमा बसेकी याकः मिसा अर्थात् लक्ष्मीकुमारीलाई फूल–प्रसाद दिने गर्छन्। लक्ष्मीले प्रसाद लिइसकेपछि उनकै खलकका अरू कुमारी कन्याहरूले लिने चलन छ। त्यसपछि कीर्तिपुरका अन्य महर्जन समुदायका अविवाहित केटीहरू यो विधिमा सरिक हुन्छन्।

रातो मच्छिन्द्रनाथसँग जोडिएको र वर्षौं वर्षदेखि अनवरत चल्दै आएको यो सांस्कृतिक सम्पदा बुंगमती र कीर्तिपुरको विवादका कारण पहिलोचोटि अवरूद्ध हुने सम्भावना बढेको छ।

पुजारी संघका अध्यक्ष शाक्यले कुनै मूर्ति नभएको ऐतिहासिक तथा धार्मिक स्थलमा मच्छिन्द्रनाथको प्रतिमूर्ति र शक्तिस्वरूपा कन्या याकः मिसाको मूर्ति स्थापनाले जनतामा भ्रम सिर्जना गर्नुका साथै धार्मिक आस्थामा विचलन ल्याउने बताए।

‘कीर्तिपुरको प्यंगथाँस्थित पवित्र स्थलमा रातो मच्छिन्द्रनाथको प्रतिनिधि भएर जल पानेजु (पुजारी) ले शक्ति स्वरूपा कन्या कुमारी याकः मिसालाई फूल–प्रसाद ग्रहण गराउन जाने हाम्रो परम्परा हो। उहाँहरूले रातो मच्छिन्द्रनाथको प्रतिरूप नै प्यंगथाँमा लगेर राखेपछि हामी मच्छिन्द्रनाथको प्रतिनिधि भएर किन जानुपर्‍यो?’ शाक्यले भने, ‘यो संस्कृतिलाई निरन्तरता दिनुको औचित्य नै अब रहेन।’

मंगलबार ललितपुरका मेयर चिरिबाबु महर्जनलाई ज्ञापनपत्र दिन आएका बेला हामीले यो विवादको समाधान के हुन सक्छ भनेर अध्यक्ष शाक्यलाई सोधेका थियौं।

जवाफमा उनले भने, ‘यसको एउटै समाधान छ, उहाँहरूले मच्छिन्द्रनाथ र याकः मिसाको मूर्ति प्यंगथाँमा राख्नुभएन। जबसम्म ती मूर्ति त्यहाँ रहन्छन्, हामी फूल–प्रसाद चढाउन जाँदैनौं।’

ललितपुर महानगरको कार्यालयमा मंगलबार ज्ञापनपत्र पढेर सुनाउँदै पुजारी संघका अध्यक्ष यज्ञरत्न शाक्य। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी

उनको यस्तो जवाफ सुनेपछि हामीले फेरि सोध्यौं, ‘प्यंगथाँका स्थानीय बासिन्दा पनि आफूहरूले मूर्ति बनाएर प्रतिस्थापन गरिसकेकाले नहटाउने पक्षमा छन्। दुवै आ–आफ्नो अडानमा कायम रहँदा १४ सय वर्ष पुरानो परम्परा यसै मासिने खतरा छ। यसरी हाम्रो अमूर्त सम्पदा मासिनु भनेको त सिंगो काठमाडौं उपत्यकालाई नै घाटा हो नि!’

यसमा अर्का पुजारी कपिलमुनि बज्राचार्यले प्यंगथाँवासीले नै यो संस्कृतिको महत्व नबुझेको र मूर्ति स्थापना गरेर विकृति भित्र्याएको टिप्पणी गरे।

‘मच्छिन्द्रनाथको मूर्ति मर्मतसम्भार गर्नुपरे हामी माटो लिन काठमाडौंको म्हेपी जानुपर्छ। के बुंगमतीमा माटो नभएर म्हेपीसम्म गएका हौं र?’ उनले प्रश्न गरे, ‘मच्छिन्द्रनाथको मूर्ति धातुको बनाउन सक्ने मान्छे आज कति छन् कति? के हामीले कालिगढ नभेटेर वा पैसा नभएर धातुको मूर्ति नबनाएका हौं र?’

उनले अगाडि भने, ‘जसरी मच्छिन्द्रनाथको मूर्ति माटोकै हुनुपर्ने मान्यता छ, मूर्ति मर्मत गर्दा म्हेपीकै माटो प्रयोग गर्नुपर्ने चलन छ, त्यस्तै प्यंगथाँ भनेको शक्तिस्वरूपा कन्या जीवित देवी याकः मिसालाई प्रत्यक्ष भेटेर फूल–प्रसाद चढाउने थलो हो। फूल-प्रसाद चढाउँदा पुजारी त्यहाँको ढुंगामाथि बस्नुपर्छ र याकः मिसालाई मण्डपमा बसाउनुपर्छ। सदियौंदेखि चल्दै आएको परम्परामा हामी सम्झौता गर्न तयार छैनौं।’

कपिलमुनि बज्राचार्यले यति भनेपछि हामीले उनलाई सोध्यौं, ‘त्यसो भए ती मूर्तिहरू कसरी व्यवस्थापन गर्ने त?’

‘ती मूर्ति अब गुठी संस्थानलाई बुझाउनुपर्छ। गुठी संस्थानले त्यसलाई आफ्नो भण्डारमा सुरक्षित राख्नेछ,’ उनले जवाफ दिए।

हामीले अगाडि सोध्यौं, ‘प्यंगथाँमा खुला डबली छ। डबलीभन्दा भित्र चुकचा, दुने चुक लगायत चोकहरू छन्। उनीहरूले अहिलेको मन्दिरको सट्टा अरू ठाउँमा नयाँ मन्दिर बनाएर मूर्ति स्थानान्तरण गरे के होला?’

जवाफमा उनले भने, ‘ती दुई मूर्तिलाई कुनै पनि सार्वजनिक स्थानमा राख्नु हाम्रो निम्ति स्वीकार्य छैन। त्यसैले अहिलेको मन्दिरबाट अन्त स्थानान्तरण गर्न सकिन्छ कि भन्ने त विकल्पै होइन। उहाँहरूले त्यसलाई गुठी संस्थानमै बुझाउनुपर्छ र गुठीले भण्डारमा राख्नुपर्छ। त्यसपछि मात्र हामी याकः मिसालाई फूल–प्रसाद ग्रहण गराउन प्यंगथाँ आउनेछौं। नभए यो चलन टुट्यो भन्दा हुन्छ।’

यसमा अध्यक्ष शाक्यले थपे, ‘सार्वजनिक स्थानमा राखेर पूजा गर्न पाइँदैन। कसैले आफ्नो व्यक्तिगत घरमा राख्छ भने हामीलाई आपत्ति छैन।’

पुजारीहरूको कुरा सुनेपछि हामीले मूर्ति स्थापनामा अगुवाइ गरेका प्यंगथाँका स्थानीय तथा सुखी गछेँ समाजका सचिव नारायण महर्जनसँग कुरा गर्‍यौं।

उनले आपसी छलफलबाट समाधान हुनसक्ने विषयलाई राष्ट्रिय मुद्दा बनाइएको भन्दै दुःख प्रकट गरे।

‘भगवानसँग जोडिएको विषयमा वाद–प्रतिवाद नहोस् भनेर हामीले अहिलेसम्म कुनै टिकाटिप्पणी गरेका छैनौं। सिधै पुजारीहरूसँग बसेर छलफल गरौं र समाधान निकालौं भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘यसका लागि पुजारी संघका अध्यक्षज्यूलाई पटकपटक फोन गर्दा पनि सम्पर्क हुन सकेन।’

यो विवाद समाधान गर्न कीर्तिपुर नगरपालिकासँग पनि आफूहरूले कुराकानी गरेको उनले जानकारी दिए।

‘रातो मच्छिन्द्रनाथको मूल प्राण बुंगमतीमै छ। उहाँको आस्थालाई असर पार्ने हाम्रो मनसाय होइन। हामीले यहाँ राखेको प्रतिरूप मात्र हो। हामीले कीर्तिपुरकी याकः मिसासँग जोडिएको किम्बदन्ती सबैलाई सुनाउन र बुझाउन यी मूर्ति राखेका हौं। याकः मिसाको कथा जीवन्त राख्न यसले सहयोग गर्छ भन्ने हामीले सोचेका छौं,’ उनले भने।

मूर्ति प्रतिस्थापन गरेर आफूहरूबाट कुनै ‘पाप’ भएको रहेछ भने क्षमापूजा गर्न तयार रहेको उनको भनाइ छ।

प्यंगथाँमा याक: मिसा र रातो मच्छिन्द्रनाथको मूर्ति स्थापनामा अगुवाइ गरेका स्थानीय नारायण महर्जन। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी

‘जनमानसले त्यत्रो उत्साह र उमंगका साथ मूर्ति स्वागत गरेर ल्याइसके र यहाँ स्थापना गराइसके। त्यसैले आवश्यक परे क्षमापूजा गरेर भए पनि विवाद टुंग्याऊँ भन्ने हाम्रो धारणा छ,’ नारायणले भने, ‘गुठी संस्थानमा बुझाएर भण्डारमा राख भन्नु त समाधानको बाटो भएन। पुजारीहरू धार्मिक हिसाबले निकै जान्नेबुझ्ने हुनुहुन्छ। हामी उहाँहरूसँग कुनै किसिमको विवादमा पर्न चाहन्नौं। त्यसैले अरू विकल्प के हुनसक्छ, हामी त्यसबारे छलफल गर्न तयार छौं।’

यी दुवै मूर्ति पाटनका मूर्तिकार रवि शाक्यले बनाएका हुन्। यसमा काठमाडौं महानगरपालिकाले १७ लाख ७५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ। मंसिर १५ गते काठमाडौंका मेयर बालेन शाहले नै पाटनको महाबुद्ध विहारमा दुवै मूर्ति प्यंगथाँका स्थानीयलाई हस्तान्तरण गरेका थिए। स्थानीयले महाबुद्ध विहारबाट लगनखेलसम्म खटमा बोकेर ल्याए। त्यहाँबाट कीर्तिपुर प्रवेशद्वारसम्म गाडीमा ल्याए, अनि फेरि बाजागाजा र स्थानीयको लावालस्करसहित खटमा बोकेर प्यंगथाँ पुर्‍याए।

‘जसरी घरमा बेहुली भित्र्याइन्छ, हामीले याकः मिसाको मूर्तिलाई त्यसरी नै प्यंगथाँमा भित्र्याएका थियौं,’ नारायणले भने, ‘त्यसै रात पूजापाठ गरेर विधिवत् रूपमा मूर्ति प्रतिस्थापन गर्‍यौं। मूर्तिको प्राण प्रतिस्थापन भने गर्न बाँकी छ।’

उनले अगाडि भने, ‘यो विवाद आपसी छलफलबाट शान्तिपूर्ण रूपमा हल होस् भन्ने हामी चाहन्छौं। यसको निम्ति मार्गप्रशस्त गर्ने काम पुजारीहरूबाटै हुनेछ भन्ने हामीले आशा लिएका छौं। सरोकारवालाहरूले दुवै पक्षलाई डाकेर छलफल गराए हामी आफ्नो कुरा राख्नेछौं। त्यसबाट समाधानको बाटो निस्कनेछ।’

मच्छिन्द्रनाथका पुजारीसँग मंगलबार भएको भेटमा ललितपुरका मेयर चिरिबाबु महर्जनले यो विवादलाई सरोकारवाला संस्थाहरूले अनदेखा गर्न नमिल्ने भन्दै कीर्तिपुर नगरपालिकासँग समन्वय गर्ने बताएका थिए। हामीले दुवै पक्षको कुरा सुन्दा ललितपुर महानगर, कीर्तिपुर नगरपालिका, गुठी संस्थान वा अन्य सरोकारवाला निकायले अगुवाइ लिएर विवादको समाधान खोज्नुपर्ने देखिन्छ।

यी निकायले बुंगमती र कीर्तिपुरबीच समन्वय गरेर दुवै पक्षलाई एकैठाउँ राखी छलफल चलाउने हो भने समाधानको बाटो निकाल्न सकिन्छ।

मच्छिन्द्रनाथका पुजारी र प्यंगथाँका स्थानीय बासिन्दाले पनि यही चाहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP