शनिबार , भाद्र १३, २०८३

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले नेकपाबारे सर्वोच्च अदालतले गरेको फैसलाले मुलुकमा जटिलता बढाएको बताएका छन् ।​ पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सर्वोच्चको फैसलाले हेर्दा सजिलो बनाए झैं देखिए पनि यसले निकै जटिल अवस्थामा पुर्‍याएको बताए ।

‘सर्वोच्चको फैसलाले झट्ट हेर्दा सजिलो बनाए झैं देखिन्छ तर यसले निकै जटिल अवस्थामा पुर्‍याएको छ’, थापाले भने, ‘संसद भनिसकेपछि राष्ट्रियसभा पनि हो । उपनिर्वाचन भएर धेरै राष्ट्रियसभाका सांसद निर्वाचित हुनुभएको छ । उहाँहरु कुन पार्टीको हो ? कहाँ लगेर फर्काउने ? कुन विन्दुमा लगेर फर्काउने ?’

अदालतको फैसला मान्नुपर्ने अवस्था भए पनि माग नगरिएको विषयमा अदालतले बोल्दा समस्या खडा भएको थापाको भनाइ छ । ‘आजको अदालतको निर्णयपछि प्रधानमन्त्रीले विश्वासको मत लिनु परिहाल्यो नि ! प्रधानमन्त्रीले विश्वासको मत लिनुभयो, नेकपा एमाले भयो, नेकपा माओवादी भयो भनेर बाहिर बुझिए जसरी टुङ्गिँदैन । कि सम्मानित अदालतले भनि दिनुपर्यो सभामुखलाई के गर्ने ? सभामुख एउटा पार्टीको भए उपसभामुख अर्को पार्टीको हुनुपर्छ । हामीले कुन पार्टीको मान्ने ? सभामुखलाई गाई कि त्रिशूल गर्ने कि ? कतापट्टि लाने ? एक दुई जना सांसद निर्वाचित भएर आउनुभएको छ । कुन पार्टीको मान्ने ?,’ उनको प्रश्न छ ।

यो गाँठो नेकपाले नै पारेकाले नेकपाले नै फुकाउनुपर्ने थापाले बताए । उनले भने, ‘यो हामीले पारेको गाठो पनि होइन । हामीले फुकाउने पनि होइन ।’

नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा आएपछि अब प्रधानमन्त्री संविधानको कुन धाराको रहे भन्ने उनको प्रश्न छ । ‘हामीले हेर्ने भनेको अदालतले निर्णय गरिसकेपछि यहाँ संसदभित्र दुई दलको अस्तित्व भयो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र रह्यो । अब प्रधानमन्त्री संविधानको कुन धाराको रहनुभयो ?,’ थापाको प्रश्न छ, ‘सभामुख कुन दलको यही सबै कुराहरु उहाँहरुले प्रस्ट बनाउने कुरा भयो ।’

यसबारे काँग्रेसले धारणा बनाउन अबिलम्ब पार्टी र संसदीय दलको बैठक बस्ने उनले बताए । उनले भने, ‘यसलाई हामीले कसरी हेर्ने भन्नेबारे अबिलम्ब दलको बैठक बस्छौँ । पार्टीको बैठक पनि बस्छौँ ।’

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नभए बुधबारको बैठक पनि चल्न नदिने थापाले बताए । उनले भने, अहिले हाम्रो एजेण्डा भनेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश बुधबारको बैठकमा पनि ल्याउनुभयो भने बुधबारको बैठकको हालत पनि आजकै जस्तो हुन्छ ।

प्रमुख प्रतिपक्षी काँग्रेस, नेकपा (प्रचण्ड-नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । अर्को बैठक २६ गते दिउँसो १ बजे बस्‍ने संसद् सचिवालयले सूचनामार्फत जनाएको छ ।

काँग्रेसको विरोधका बीच अध्यादेश पेस गरिएको थियो । तर प्रचण्ड(नेपाल समूहका सांसदहरु भने त्यसअघि नै बैठक बहिष्कार गरेर बाहिरिएका थिए । बैठकमा जबर्जस्ती अध्यादेश पेस गरिएपछि काँग्रेस र जसपा सांसदहरुले रोष्टम घेरेर नाराबाजी गरेका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरे । तर सहमति नजुटेपछि बैठक २६ गतेका लागि सारिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP