शनिबार , भाद्र १३, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ र पुराना दुवै गठबन्धनलाई जोड्न पहल गरेका छन् । नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत सात दल र स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्ड नयाँ पुराना गठबन्धन जोड्न प्रयास गरेका हुन् ।

तत्कालीन नेकपामा सहभागी भएका नेकपा एकीकृत समाजवादी, वामदेव गौतम समूह, प्रभु साह समूहलाई जोड्ने प्रयास गरिएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

‘तत्कालीन नेकपाका घटकहरुलाई एक बनाउने भन्ने छ । यसअघि कांग्रेस नेतृत्वमा सहभागी भएका एकीकृत समाजवादी र जनमोर्चालाई समेट्ने प्रयास छ,’ मल्लले भने, ‘गठबन्धन बलियो बनाउन नयाँ पुराना सबै जोडेर सरकारमा सहभागी गराउन प्रयास गरिने छ ।’

एमाले, माओवादी लगायत सात दल सहित स्वतन्त्र सांसदको सहयोगमा प्रचण्ड प्रधानमन्त्री भएपछि एकीकृत समाजवादी र जनमोर्चा चिढिएका छन् । सबै राजनीतिक घटनाक्रमका विषयमा विस्तृतमा जानकारी गराइ उनीहरुलाई आफ्नो नेतृत्वको सरकारमा सहभागी गराउन प्रचण्डले प्रयास जारी राखेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रचण्डमाथि सत्ताका लागि पाँच दलीय गठबन्धन छोडेको आरोप लगाएका छन् । आफूहरूलाई अलपत्र पारेर प्रचण्डले एमालेसँग नयाँ समीकरण बनाएपछि उनीहरु चिढिएका छन् ।

नेकपा घटकसहित पाँच दलीय गठबन्धनमा सहभागी सबै दलसँग संवाद गरेर संघीय र प्रदेश सरकारमा समेत सहभागी गराउन प्रचण्डले छलफल जारी राखेका हुन् । ती सबै कम्युनिस्ट घटकलाई जोडेर बलियो कम्युनिस्ट पार्टी बनाउने प्रचण्डको योजना रहेको माओवादी नेताहरु बताउँछन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बुधबार बिहान भेटघाट गरेर प्रचण्डले छलफलको सुरुवात गरेका छन् । माधवकुमार नेपालसँगको छलफल लगत्तै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग खुमलटारमा छलफल गरेका छन् ।

वामदेव गौतम र प्रभु साह समूहसँग पनि प्रचण्डले नियमित भेटघाट गरिरहेका छन् । अब जनमोर्चाका नेताहरूलाई समेत बोलाएर सत्ता गठबन्धनमा सहभागी गराउन पहल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP