मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली इतरको नेकपासँग सत्ता सहकार्य गरेर जानुपर्नेमा जोड दिएका छन् । पर्सी बन्ने प्रतिनिधिसभा बैठकबारे रणनीति बनाउन नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा जारी संसदीय दलको बैठकमा सांसदहरुले ओली पक्षलाई साथ दिन नहुने धारणा राखेका छन् ।

पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले बैठकमा विषय प्रवेश गरी आफू पर्ख र हेरको अवस्थामा रहेको बताएका थिए । त्यसपछि प्रमुख सचेतक बालकृष्ण खाणले सांसदहरुलाई स्वागत गर्दै वर्तमान वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

अनि सांसदहरुले पालै-पालो आफ्नो धारणा राखेका छन् । २९ जना सांसदले आफ्नो धारणा राखिसकेको काँग्रेस सांसद भीमसेन दास प्रधानले रातोपाटीलाई जानकारी दिए । सांसदहरु मानबहादुर विश्वकर्मा, गगन थापा दिव्यमणिराज भण्डारी, पुष्पा भुसाल, डिला संग्रौला, भीमसेन दास प्रधान लगायतले धारणा राखेका छन् ।

बैठकमा सांसदले उठाएको कुराबारे सांसद प्रधानले रातोपाटीलाई भने, ‘वर्तमान राजनीतिक समस्याको निकास कसरी निकाल्छ भनेर यतिबेला सबैको नजर काँग्रेसतिर छ । नेपाली जनताले काँग्रेसलाई हेरिरहेको छ । काँग्रेसले राजनीतिक, नैतिक र संवैधानिक सम्मानको खातिर पनि केपी ओली सरकारलाई समर्थन गर्न मिल्दैन ।’

केपी ओलीको सरकारलाई समर्थन गर्यो भने भोलि पनि नेपाली जनताले काँग्रेसलाई रेड कार्ड दिने उनको भनाइ छ । ‘काँग्रेस सरकारको नेतृत्व गर्ने वा नगर्ने, पार्टीका साथीहरुलाई पठाउने नपाउने, आम निर्वाचन र आसन्न स्थानीय निर्वाचनमा बहुमत ल्याउने कुरालाई मध्यनजर गरी नीति अख्तियार गर्नुपर्छ,’ प्रधानले भने ।

प्रधानका अनुसार नेपाली काँग्रेस वेटिङ गभर्मेन्ट भएकोले सरकारमा जाँदा श्वेतपत्र जारी गरेर मात्र जानुपर्ने सांसदहरुको सुझाव छ । उनले भने, ‘नेपाली काँग्रेस वेटिङ गभर्मेन्ट नै हो । सरकारमा जान सकिन्छ । तर सरकारमा जाँदा जनतालाई स्पष्ट रुपमा यो काम गर्छु भनेर मात्र जानुपर्छ । सरकारको नेतृत्व लिँदा श्वेतपत्र जारी गर्नुपर्छ । हामी डेढ वर्ष यो यो काम गर्छु भनेर जानुपर्छ । नभए हामीलाई घाटा हुन्छ । सरकारमा जाँदा सबै सांसदले यसमा जोड दिनुभएको छ,’प्रधानले भने ।

उनका अनुसार सांसदहरुको राय सुन्दा नेकपाको प्रचण्ड नेपाल पक्षसँग सहकार्य गरेर काँग्रेसले निकास दिनुपर्ने मत बलियो ढंगले उठेको छ । उनले भने, ‘नेकपाको केपी ओली र प्रचण्ड नेपाल दुवै पक्षले साथ मागेकाले काँग्रेसले निकास दिनुपर्ने अवस्था छ । अब कसलाई समर्थन गर्ने भन्नेमा छलफल केन्द्रित छ । कुनै पनि सांसद केपी ओलीको पक्षमा खुलेको देखिएको छैन ।’

बैठकमा सांसद गगन थापाले भने, ‘केपी ओलीलाई समर्थन गर्नै मिल्दैन । केपी ओलीसँग जाँदा भोलि जनताले हामीलाई कुन ढंगले मूल्यांकन गर्ला ? यो विषयमा हामी गम्भीर हुन जरुरी छ ।’

यद्यपि केही सांसदले भने प्रचण्ड नेपाल समूहसँग मिल्दै गर्दा प्रचण्डले यसअघि दिएको धोका भुल्न नहुने बताएका थिए । सांसद उमा रेग्मीले उनीहरुसँग सत्ता सहकार्य गर्दा सोची विचारी मात्र निर्णय लिनुपर्ने बताएकी थिइन् ।

यस्तै थापाले संसदीय दलसँगै पार्टी केन्द्रीय समिति बैठकमा पनि यस विषयमा छलफल गर्न सभापति देउवालाई सुझाए । संसद बैठकअघि केन्द्रीय समिति बैठक बेलाउन सांसदहरुको आग्रह छ ।

पार्टीलाई संस्थागत रुपमा ओलीविरुद्धको अविश्वासको पक्षमा उभ्याउनुपर्ने थापाको भनाइ थियो । तर केही सांसदले भने अविश्वास प्रस्तावमा प्रधानमन्त्रीको उम्मेदवारबारे संवैधानिक प्रावधान हेर्नुपर्ने तर्क राखेका थिए ।

प्रधानले भने, ‘जसले अविश्वासको प्रस्ताव दर्ता गर्यो उही दलबाट प्रधानमन्त्रीको उम्मेदवारको नाम दिनुपर्ने कि वा जो कोही पनि हुन्छ ? प्रचण्ड नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गर्दा हामीले आफ्नो नाम राख्न मिल्छ कि मिल्दैन ? प्रचण्ड नेपाल पक्षले कसको नाममा अविश्वासको प्रस्ताव ल्यायौं छ प्रष्ट हुनुपर्छ ।’

प्रचण्ड–माधव पक्षले आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ । शुक्रबार बसको प्रचण्ड नेपाल पक्षको संसदीय दलको बैठकले अविश्वासको प्रस्ताव दर्ता गर्ने निष्कर्ष निकालेको छ ।

तर काँग्रेस संसदीय दले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध दर्ता हुने अविश्वास प्रस्तावको विषयमा उचित समय आएपछि निर्णय लिने बताएको छ । संसदीय दलको बैठकले अविश्वास प्रस्तावबारे अहिले निर्णय गर्न हतार हुने निश्कर्ष निकालेको हो ।

बैठकपछि संसदीय दलका प्रमुख सचेतक खाणले भने, ‘ सांसदहरूको सुझाव, सल्लाह र धारणालाई मध्यनजर गरेर काँग्रेसले अविश्वास प्रस्तावबारे उपयुक्त समयमा उपयुक्त निर्णय लिनेछ ।’

खाणले मुलुकमा देखा परेका राजनीतिक समस्या समाधान गर्न, संविधान बलियो बनाउन र जनतामा भरोसामा विश्वास दिलाउनेतर्फ काँग्रेस अघि बढ्ने बताए । बैठकले संसद विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै यसलाई संविधानवादको जीत भएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP