मंगलबार , बैसाख २९, २०८३

जानु पाण्डे
कपिलवस्तु, पुस ६ गते ।
“जोड्दै गरेको इँटा खसेर दायाँ तिघ्रामा लागेको थियो । सामान्य चोट होला भनेर स्थानीय मेडिकलमा उपचार गरेँ । निको नभएपछि थप उपचारका लागि बुटवल पुगेँ । हामीजस्तो विपन्न परिवारको मानिसलाई उपचार गर्न कठिन भयो” कपिलवस्तुको बुद्धभुमि –३ टाँकुका ५५ वर्षीय तौलेश्वर थारुले टालाटुलीले छोपेको घाउ देखाउँदै पीडा सुनाउनुभयो ।उहाँको तिघ्राको हड्डी निकालेर रड राखिएको छ । रड राख्दाको घाउ अझ ठूलो भएको छ । रड वरिपरिको घाउबाट पिप निस्किन्छ । तर उहाँसँग घाउमा लगाउने मलमपट्टी किन्ने पैसा छैन । उपचारका लागि रकम जोहो गर्न नसक्दा तौलेश्वर टालाटुली बाँधेर घाउ लुकाएर बस्दै आएको बताउनुभयो ।चार कट्ठा जग्गा बेचेर उहाँले रड राखेको सुनाउनुभयो । रड राखेपछिको घाउ पुरिएको छैन । घटनाको समय थाहा नभएको र अन्दाजी ५ वर्ष कटेको तौलेश्वरको छोरा भागिरामले बताउनुभयो ।

एक वर्षपछि उपचार

चोट लागेपछि स्थानीय क्लीनिकमा उपचार गराउँदा हड्डी कुहिएपछि रड राख्नुपरेको उहाँको भनाइ छ । एक वर्षसम्म गाउँघरतिर उपचार गराएको उहाँले सुनाउनुभयो । बाहिर लैजान पैसा थिएन । चितवनमा उपचार गराउँदा हड्डी कुहिएको थाहा भयो उहाँले भन्नुभयो । जग्गा बेचेर आएको लगभग आठ लाख रकम खर्चगरी कुहिएको हड्डीको भाग काटेर रड राखिएको उहाँले बताउनुभयो । रड राखिएपछि अहिलेसम्म डाक्टरसँग चेकजाँच नभएको उहाँले सुनाउनुभयो ।

तौलेश्वरको स्याहार सुसार पत्नी कमली थारुले गर्दै आउनुभएको छ । उहाँले घाउ सफा गर्ने औषधीको सट्टा जडीबुटीको झोल लगाएर घाउ सफा गर्दै आउनुभएको छ । एक जना वैद्यबाट क्यान्सरबाट रोक्ने ओखती भनेर लिएको उहाँको भनाइ छ । घाउ सफा गरेको टालो धोएर घाममा सुकाएर पुनः प्रयोग गर्दै आउनुभएको छ । अघिल्लो वर्षसम्म स्वास्थ्य चौकीमा गएर घाउ सफा गर्ने औषधी लगाउने गरे पनि अहिले पैसाको अभावमा उपचार गराउन नसकिएको उहाँले बताउनुभयो । अहिले जडीबुटी ओखती प्रयोग गर्न थालेको उहाँले बताउनुभयो ।

ह्वीलचेयरको सहारा

लामो समयदेखि अपाङ्गता भएको थाहा पाएपछि स्थानीय बाल समूहको पहलमा ह्वीलचेयर पाएको उहाँले बताउनुभयो । रनगाई आशा सञ्जालले किडार्क नेपालको सहयोगमा ह्वीलचेयर प्रदान गरेको थियो । त्यो पाएपछि हिँडडुल गर्न सजिलो भएको तौलेश्वरले बताउनुभयो । ह्वीलचेयरले हिँडडुल गर्न सहज बनाएको उहाँको भनाइ छ । खुट्टाको घाउ निको नहुँदा क्यान्सर हुने डर पलाएको उहाँले बताउनुभयो ।उहाँले यसअघि इँटाको गारो लगाएर परिवारको गर्जो टार्दै आउनुभएको थियो । घाउ भएपछि त्यो काम पनि छुटेको छ । भएको जग्गा जमिन बिक्री भइसक्यो, घाउ निको भएन उहाँले भन्नुभयो, “अब बचेको यही कच्ची घर र घर भएको जग्गा हो ।” वडा नम्बर ३ का वडा अध्यक्ष गोविन्दप्रसाद आचार्यले तौलेश्वर अति विपन्न भएको हुँदा सहयोग सङ्कलन गरेर भए पनि उपचार गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP