मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । पछिल्ला दिनहरुमा विदेश जाने नेपालीहरुको संख्या घट्दो क्रममा रहेको छ । कोभिड–१९ पछि विदेशिने नेपालीहरुको संख्याको तुलनामा स्वदेश फर्किनेहरूको संख्या बढ्न थालेको हो । त्रिभुवन विमानस्थल, अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२० मा विदेशिनेभन्दा नेपाल फर्किनेहरूको संख्यामा झण्डै २१ प्रतिशतले वृद्धि आएको छ ।

विभागको तथ्याङ्कअनुसार सन् २०२० मा कुल ३ लाख ८६ हजार ६ सय ६१ जना नेपाली विदेशिरहँदा यता ४ लाख ८८ हजार ८ सय १० जना नेपालीहरु स्वदेश फर्किएका छन् । आनुपातिक हिसाबले हेर्ने हो भने विदेशिने र स्वदेशीको यो अनुपात करिब १ः२ को हो । अर्थात् १ जना नेपाली विदेशिरहँदा उताबाट सोही समयमा तीनजना नेपालीहरु स्वदेश फर्किएका छन् ।

त्यसो त सन् २०२१ लागेसँगै विश्व बजारमा कोभिड–१९ को भ्याक्सिन आएसँगै विदेशिने नेपालीहरुको संख्यामा केहि वृद्धि आएको भनिएपनि भित्रिनेहरुको संख्यामा भने खासै कमी नआएको अध्यागमन विभागका प्रवक्ता टेकनाराण पाण्डेले बताए ।

पाण्डेका अनुसार सन् २०२१ को सुरुवाती दुई महिना (जनवरी र फेब्रुअरी) मा कुल ९५ हजार ६ सय ८० जना नेपालीहरु स्वदेश भित्रिँदा कुल ७७ हजार २ सय ९ जना नेपालीहरु बाहिरिएका छन् । यो तथ्याङ्कलाई औसतमा हेर्दा हाल दैनिक १ हजार ५ सय ९५ जना नेपालीहरु स्वदेश फर्किरहेका छन् भने औसत १ हजार २ सय ८७ जना दैनिक बाहिरिएका छन् ।

जब कि कोभिड–१९ अघिसम्म यस्तो तथ्याङ्क दैनिक १७–१८ सय नेपालीहरु बाहिरिने गर्थे भने दैनिक ५–७ सयको हाराहारीमा मात्र नेपालीहरु स्वदेश फर्किरहेका थिए । तर, एक्कासि विश्वमा कोभिड–१९ को महामारी फैलिएसँगै विश्व बजारमा त्यसको प्रत्यक्ष असर पर्न गई रोजगारीहरु गुम्दा नेपालीहरु स्वदेश फर्कन थालेका हुन् ।

फर्किनेमा श्रमिकहरु

कोभिड–१९ पछि अत्यधिक संख्यामा स्वदेश फर्किनेहरूमा वैदेशिक रोजगारीमा गएका श्रमिक देखिएका छन् । कोभिडको विश्व प्रभाव उद्योग, कलकारखाना, उत्पादन तथा रोजगारीका क्षेत्रमा परेर रोजगारी गुमाउँदा स्वदेश फर्किने श्रमिकहरुको संख्या बढिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म नेपाल फर्किएका नेपाली श्रमिकहरुको संख्या कुल २ लाख ७८ हजार ३ सय ५४ रहेको छ । जसमा थप अझै १ लाख ४२ हजार ८ सय ७ जना श्रमिकहरु नेपाल फर्कन चाहिरहेको मन्त्रालयका सूचना अधिकारी चन्द्रकला ओलीले जानकारी दिइन् ।

त्यसो त यता त्रिभूवन विमानस्थल, अध्यागमन विभागकै तथ्याङ्कअनुसार पनि गएको दुई महिना (जनवरी र फेब्रुअरी) मा स्वदेश भित्रने कुल जनसंख्या मध्ये ८० प्रतिशतमाथि वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरु नै रहेको देखाएको छ । गएको दुई महिनामा नेपाल भित्रिएका कुल ९५ हजारमध्ये करिब १९ हजार विदेशी पर्यटक रहेको र बाँकी सबै श्रमिकहरु नै भएको विभागले देखाएको छ ।

२ लाख ५० हजार राहदानी वितरण

परराष्ट्र मन्त्रालय, राहदानी विभागले गत आर्थिक वर्ष २०७६/७७ मा कुल २ लाख ५० हजार राहदानी (पासपोर्ट) वितरण भएको जनाएको छ । आर्थिक वर्षको पहिलो र दोस्रो चौमासमा नियमित रुपमै राहदानीको वितरण भएपनि तेस्रो चौमासमा भने कोभिडका कारण पासपोर्ट वितरणमा समस्या भएको विभागले जनाएको छ ।

मासिक रुपमा देशभरबाट करिब ४०–४२ हजार पासपोर्टको माग रहने गरेकोमा कोभिडकालमा मासिक करिब ४–५ हजारका दरले मात्र पासपोर्ट वितरण भएको विभागका निर्देशक राजेन्द्र पाण्डेले रातोपाटीलाई बताए । यद्यपि चालू आर्थिक वर्ष २०७७/७८ सुरु भएसँगै विश्वमा कोभिडको प्रभाव क्रमशः कम हुँदै जाँदा पुनः पहिलेकै रफ्तारमा पासपोर्टको माग आउन थालेको पाण्डेको भनाई छ ।

हाल विभागले मासिक औसत ४० हजारकै दरमा पासपोर्ट छपाई गरि वितरण गरिरहेको पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP