मंगलबार , बैसाख २९, २०८३

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानीमा बस पुगेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी जोड्ने सडक स्तरोन्नति भएपछि बस सञ्चालन हुन थालेको हो । यसअघि जिप र मोटरसाइकल मात्र सञ्चालन हुने गरेको थियो ।

केही दिनअघि पोखरा यातायात प्रालिको यात्रुवाहक मिनीबस आन्तरिक पर्यटक लिएर घोडेपानी आएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजा पुनले जानकारी दिए । ‘सडक सञ्जालमा जोडिएको तीन वर्षपछि घोडेपानीमा पहिलोपटक यात्रु बोकेर बस आएको छ’, उनले भने, ‘घोडेपानी घुम्नका लागि अब बस चढेर आउन सकिने भएको छ ।’

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट चित्रे जोड्ने १८ किलोमिटर पाँच सय मिटर सडक कालोपत्र गर्न विसं २०७५ देखि सुरु भएको आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । संघीय सरकारमार्फत सञ्चालित आयोजनाले सडक विस्तार र स्तरोन्नति गरेपछि बस चल्न सक्ने भएको हो ।

चित्रेदेखि घोडेपानी जोड्ने सडकलाई निर्माणका क्रममै बस चलाउने मिल्ने गराइएको घोडेपानीका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताए । घोडेपानी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रमुख पर्यटकीय गन्तव्य हो । समुद्री सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित घोडेपानी पुनहिल र घान्द्रुक जाने आउने पदमार्गको केन्द्र हो ।

घोडेपानीदेखि ४० मिनेट उकालो हिँडेपछि पुगिने पुनहिल सूर्योदय, हिमशृङ्खला, गुरासे जङ्गलको दृश्यावलोकनका लागि प्रसिद्ध छ । घोडेपानीबाट पोखरा–बागलुङ भूपि शेरचन राजमार्गमा पर्ने नयाँ पुललाई सडकले जोड्ने तयारी गरिएको छ ।
कास्की तर्फबाट म्याग्दीको सिमानामा पर्ने वनठाटी नजिकैको बस्ती उल्लेरीसम्म सडक निर्माण भइसकेको छ । उल्लेरी–घोडेपानी सडक निर्माणका लागि उपभोक्ता समिति गठन भइसकेको वडाध्यक्ष रामबहादुर खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP