मंगलबार , बैसाख २९, २०८३

गुल्मी । गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफी खेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ ।

संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ । जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ ।

कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन आचार्यले कफीको बिउ स्रोत केन्द्रका रुपमा काम गरिरहेको बताउनुभयो । कुल ६ हेक्टर क्षेत्रफलमा बिउका लागि कफी खेती गरिएको छ । अन्तर्राष्ट्रियस्तरमा निर्यात हुन थालेपछि कफी खेतीमा किसानको आकर्षण बढेको छ ।

बढ्यो आकर्षण

गुल्मीको रेसुङ्गा नगरपालिका–८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षे सरोज बेलबासे व्यावसायिक कफी खेतीमा छन् । आँपचौरको पिपलारुखमा दुई सय रोपनीमा डेढ वर्षदेखि कफी खेती गरिरहेका उनीहरुले २० हजार कफीका बिरुवा रोपेका छन् ।

‘विदेशमा पसिना बगाउनुभन्दा स्वेदशमै मिहेनत गरौँ भन्ने सोचले कफीखेती सुरु गरेका हौं’, बेलबासेले भने । मनोज र सरोजले गरेको कफीखेतीबाट हाल एक हजार बिरुवाले उत्पादन दिइरहेका छन् । मनोजका अनुसार गतवर्ष यसबाट सात लाख आम्दानी भएको थियो । कफीखेतीमा उनीहरुले हालसम्म ५१ लाख लगानी गरिसकेका छन् । कफी खेतीसँगै कफी प्रशोधन, प्याकेजिङ र बजारीकरण समेत आफै गर्दै आएका छन् । सिजनमा ३५ जना र अन्य समयमा दैनिक पाँच जनालाई उनीहरुले रोजगारी समेत दिएका छन् ।

उनीहरु मात्रै होइन आँपचौरका अधिकांश परिवार कफी खेती होमिएको छ । केहीले व्यावसायिकरुपमा त केहीले घरखर्चका लागि मात्रै पनि कफी खेती गरेका छन् । आँपचौरका किसान कपिला खरेलको कपिला कृषि तथा पशुपंक्षी फर्म छ । व्यवसायीक रुपमा कफी खेतीसँगै केराखेती र कुखुरापालन पनि गर्छन् । उनले रोपेका दुई सय कफीका बोट उत्पादन दिने अवस्थामा छन् । उनले कफीखेती बिस्तारका लागि छहारी निर्माणमा लागेका छन् ।

आँपचौरकै दुर्गा खरेलले पनि कफीखेतीलाई बगैँचाका रुपमा विस्तार गरेका छन् । उनले प्रत्येक वर्ष ४ क्विन्टलभन्दा बढी कफी बिक्री गर्दै आएका छन् । ‘कफी खेतीमा लगानी नडुब्ने भएकाले पनि युवाहरू आकर्षित हुनु भएको हो’, उनले भने ।
गुल्मीको आँपचौर कफीको उद्गमस्थल हो । मुसिकोट नगरपालिका–५ आँपचौरबाटै नेपालमा कफीको विस्तार भएको मानिन्छ । आँपचौरका स्थानीय हिरा गिरीले १९९५ सालमा कर्मथलो बर्माको सिन्धु प्रान्तबाट फर्किदा कफीको बीउ लिएर रोपेपछि पहिलो पटक नेपालमा कफी खेतीको सुरुआत भएको हो ।

कफीको सुरुआत भएको झण्डै तीन दशकसम्म पनि बिरुवा अन्योलमै थियो । त्यसपछि नेपाल सरकारले भारतबाट कफीको बीउ ल्याएर वितरण गरेपछि आँपचौरमा कफीको व्यावसायिक खेती सुरु भएको स्थानीय दुर्गा खरेलको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP